अझै ३१ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित
सरकारले कोभिड-१९ को दोस्रो लहर कम हुँदै गएको जनाउँदै निषेधाज्ञा खुकुलो पार्न थाले पनि सक्रिय संक्रमित ४५ हजारभन्दा बढी छन्। अझै ३१ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शनिबार बिहानसम्म देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ। देशका सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन्।
अझै पनि देशका ३१ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी छ। प्रदेश १ का मोरङ, सुनसरी र झापा, प्रदेश २ का बारा र धनुषामा सक्रिय संक्रमित पाँच सयभन्दा बढी छन्।
त्यस्तै, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोट तथा गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी (पूर्व), म्याग्दी, बाग्लुङ र पर्वतमा सक्रिय संक्रमित घट्न सकेका छैनन्। यी जिल्लामा पाँच सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लुम्बनीका दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया र नवलपरासी (पश्चिम), कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमका कैलाली, बैतडी र अछाममा सक्रिय संक्रमित पाँच सयभन्दा बढी छन्। पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई स्वास्थ्य मन्त्रालयले उच्च जोखिममै राखेको छ।
अन्य जिल्ला पनि जोखिममै छन्। जहाँ दुई सयभन्दा बढी सक्रिय संक्रमित छन्। प्रदेश १ का उदयपुर, संखुवासभा र पाँचथर, प्रदेश २ का पर्सा, महोत्तरी, सिराहा, सप्तरी, रौतहट र सर्लाही, बागमती प्रदेशका दोलखा र रामेछापमा सक्रिय संक्रमित दुई सयभन्दा बढी छन्।
त्यस्तै, गण्डकीका लमजुङ, तनहुँ र स्याङ्जा, लुम्बिनीका कपिलवस्तु, गुल्मी, अर्घाखाँची र रोल्पा, कर्णालीका दैलेख, रुकुम पश्चिम र जुम्ला तथा सुदूरपश्चिमका डडेल्धुरा, कञ्चनपुर र डोटीमा सक्रिय संक्रमित दुई सयभन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
जसका कारण अझै पनि ७५ जिल्लामा निषेधाज्ञा जारी रहेको छ। केही जिल्लामा खुकुलो पारिएको छ भने केही जिल्लामा खुकुलो पार्ने तयारी गरिएको छ। अहिलेसम्म खोटाङ र मनाङमा मात्रै निषेधाज्ञा लगाइएको छैन।
अहिलेसम्म देशभर ६ लाख ३१ हजार १५२ जनामा कोरोना देखिएको छ भने पाँच लाख ७६ हजार ४१३ जना निको भइसकेका छन्। कोरोनाबाट आठ हजार ९४५ जनाले ज्यान गुमाएका छन्।