किन अझै सान्दर्भिक छन् अर्वेल?
अर्वेलका सिर्जनामा कला र राजनीतिको मीठो मिश्रण पाइन्छ। उनको भनाइमा हरेक विषय र सोचमा राजनीति जोडिन्छ। ‘राजनीतिसँग कलाको कुनै लेनदेन छैन भन्नु पनि एउटा राजनीतिक दृष्टिकोण नै त हो,’ उनी भन्छन्।
साहित्य लेखनमा कला केवल कलाका लागि हुनुपर्छ भन्ने एकथरी मान्यता छ। कलालाई राजनीतिमा मिसाउनु भनेको कला पक्ष खस्किनु हो भन्ने ठानिन्छ। तर, यो मामिलामा बेलायती लेखक जर्ज अर्वेलको कुरा फरक छ। ‘म किन लेख्छु?’ शीर्षकको निबन्धमा अर्वेल आफ्नो लेखनको अभीष्ट यसरी खुलाउँछन्, ‘राजनीतिक विषयवस्तुलाई कलामा ढाल्न म लेख्ने गर्छु। लेखेरै मिथ्या कुराको पर्दाफास गर्न चाहन्छु।’
अर्वेलका सिर्जनामा कला र राजनीतिको मीठो मिश्रण पाइन्छ। उनको भनाइमा हरेक विषय र सोचमा राजनीति जोडिन्छ। ‘राजनीतिसँग कलाको कुनै लेनदेन छैन भन्नु पनि एउटा राजनीतिक दृष्टिकोण नै त हो,’ उनी भन्छन्।
राजनीतिक रूपमा सचेत लेखक अर्वेलको समयमा विभिन्न राजनीतिक उथलपुथलका घटना भएका थिए। जस्तै, पहिलो र दोस्रो विश्वयुद्ध, सोभियत संघमा अक्टोबर क्रान्तिपछि आएको कम्युनिष्ट शासन, जर्मनीमा हिटलरको उदय, स्पेनमा फ्रान्सिस्को फ्रान्कोको ज्यादती, बेलायती उपनिवेशको फक्रँदो काल। जसले उनलाई विषयगत रूपमा प्रभावित पार्दै राजनीतिक चाख र सुझबुझ स्वतः बढाइदियो।
जनताले मतदाताका रूपमा विवेक प्रयोग नगर्दा शासन सत्तामा गलत व्यक्ति पुग्छ र अधिनायकवादले प्रवेश पाउँछ। जसले तानाशाही शासक जन्माउँछ। अर्वेल यही अधिनायकवादविरुद्ध आक्रामक लेखन मार्फत उभिइरहे।
राजनीतिक विकृति बढ्दा अक्सर मतदाताले नेतृत्वको शैली र आचरणप्रति असन्तुष्टि र तिक्तता पोख्ने गर्छन्। तर, अर्वेल त्यस्तो परिस्थिति निम्तिनुमा मतदाताको पनि हात देख्छन्। राजनीति र जनताको उत्तरदायित्वको अन्तरसम्बन्धबारे उनको भनाइ छ– ‘भ्रष्ट नेता, छद्मभेषी, लुटेरा र गद्दारहरूलाई भोट दिएर पठाउने जनता पीडित होइनन्, उनीहरूकै मतियार हुन्।’
जनता गैरजिम्मेवार बन्दा शासन सत्तामा गलत व्यक्ति पुग्छ र अधिनायकवादले प्रवेश पाउँछ। जसले तानाशाही शासक जन्माउँछ। अर्वेल यही अधिनायकवादविरुद्ध आक्रामक लेखन मार्फत उभिइरहे।
आख्यानमा प्रतिरोधी चेतना
बेलायतको उपनिवेश कालमा छिमेकी मुलुक भारतको बिहार मोतिहारीमा जन्मेका हुन् अर्वेल। समय क्रममा प्रहरी सेवामा प्रवेश गरेका उनले बर्मामा पाँच वर्ष प्रहरी अधिकृत भएर काम गरे। त्यस क्रममा उनले बर्मेली जनतामाथिको शोषण, स्थानीय साधनस्रोतको दोहनसहित बेलायती उपनिवेशका अनेक स्वार्थ र चाललाई भित्रियाका रूपमा नजिकबाट देखे। त्यस्तो शोषण, दमन र चलखेल उनलाई सह्य भएन। त्यसपछि बेलायती उपनिवेशको अँध्यारो पाटोबारे आख्यानको पुस्तक तयार भयो, बर्मिज् डेज (सन् १९३४) ।
आफ्नै मुलुक बेलायतको उपनिवेशको विरोधबाट शुरू भएको उनको प्रतिरोधी लेखन जीवन पर्यन्त कायम रह्यो।
अर्वेलको बहुचर्चित पुस्तक हो, एनिमल फार्म (१९४५)। यो लघु उपन्यासबाट उनी गैर–साहित्यिक वृत्तमा समेत चिनिए। राजनीतिको केन्द्रमा रहेकाहरूलाई यसले झन् झस्कायो।
अर्वेलले एनिमल फार्ममा ग्रीक कथाकार एसपका काल्पनिक कथादेखि अमेरिकी आख्यानकार हर्मन मेल्भिलको उपन्यास मोबी–डिक (१८५१) मा प्रयुक्त कथावाचनको ‘एलिगोरी’ (रूपक) ढाँचा समातेका छन्। पुस्तकले जनावरहरूलाई पात्र बनाएर निरंकुशताविरुद्ध चोटिलो प्रहार गरेको छ। सबै जनावर बराबर हुन् भन्दै मान्छेविरुद्धको क्रान्तिमा होमिएका जनावरहरूबीच बिस्तारै विभेद र उँचनीचको व्यवहार शुरू हुन्छ, नेपोलियन नामको सुँगुरको चतुर्याइँमा। सहयोद्धा स्नोबल वर्गशत्रु बन्न पुग्छ। शासकको सपना साकार पार्न घोडाहरू अहोरात्र जोतिन्छन्। अन्ततः केही जनावर अरूभन्दा माथि छन् भन्ने मान्यता स्थापित भइछाड्छ। तत्कालीन सोभियत नेता स्टालिनप्रति लक्षित भनिए पनि यो उपन्यासले सबै खाले निरंकुशताको सशक्त प्रतिरोध गर्छ। राजनीति र कलाको अब्बल संयोजन देखिन्छ ‘एनिमल फार्म’ मा।
अक्सर राजनीतिमा प्रोपगान्डा अर्थात् मिथ्या सूचना र समाचारको बेहिसाब खेती हुने गर्छ। युद्धमा दुश्मनसँग मैदानमा मात्रै लडिँदैन, जितका लागि प्रोपगान्डालाई पनि हतियारका रूपमा भरपूर प्रयोग गरेर भ्रम र असत्य फैलाएर नयाँ सत्य स्थापित गर्न खोजिन्छ। अर्वेलको अन्तिम उपन्यास१९८४ (नाइन्टिन एटी फोर, प्रकाशन सन् १९४९) ले यो पक्षलाई राम्ररी उधिनेको छ।
राजनीतिक परिवेशमा लेखिएको उक्त उपन्यासभित्र राजनीतिक दलको सर्वाङ्ग शल्यक्रिया गर्दै राजनीतिको आवरणमा हुने अनेक विडम्बना र कुकृत्य चाखलाग्दो रूपमा उजागर गरिएको छ। उपन्यासभित्र ‘पार्टी’को नारा छ– ‘विगतमाथि जसको नियन्त्रण हुन्छ, भविष्य पनि उसैको हुन्छ। अनि वर्तमानलाई जसले नियन्त्रण गर्छ, विगत पनि उसैको हुन्छ।’ भूत, वर्तमान र भविष्य अर्थात् त्रिकालमाथि कब्जा जमाउँदै इतिहासलाई पार्टीको इच्छा तथा आग्रहमा बुझ्ने/बुझाउने र आफ्नो अनुकूल सत्य स्थापित गर्ने काम गरिन्छ। सम्पूर्ण सरकारी संयन्त्र यही उद्देश्य पूरा गर्न एकोहोरिएका छन्।
अर्वेलले सुन्दर कल्पनाशीलताबाट उपन्यासमा यस्तो बिब्ल्याँटो परिस्थिति खडा गरेका छन्, जसले सरकार सञ्चालनको विसंगतिमाथि कटाक्ष गरेको छ। जस्तै, पार्टी सञ्चालित सत्य मन्त्रालयको जिम्मेवारी हुन्छ झूटको खेती गर्ने, शान्ति मन्त्रालयको काम युद्ध मच्चाउने, प्रेम मन्त्रालयको काम यातना दिने।
उपन्यासमा नेता बिग ब्रदर र उसको पार्टीविरुद्ध अस्तित्वमै नरहेको काल्पनिक शत्रु (गोल्डस्टेन/ब्रदरहुड पार्टी) जन्माइन्छ। बिग ब्रदरमाथिको समर्थन बढाउन शत्रुपक्षविरुद्ध घृणा सप्ताह नै चलाइन्छ। बिग ब्रदरको विपक्षमा उत्रेको विन्स्टन चरम यातना र अपमानपछि अन्ततः उसैको समर्थनमा लत्रिन बाध्य बन्छ।
अर्वेल प्रहरी अधिकृतको जागीर छोडेर लेखनबाट गुजारा चलाउने लहडमा पेरिसतिर हानिए। तर, जिन्दगी सोचे झैं भएन। रुसी साथी बोेरिससँगको पेरिसको बसाइ अभाव र संघर्षमा बित्यो। उनले फारो गरेर पाउरोटीको भरमा कैयौं दिन काटे। यिनै कहरमय घटनाका साक्षी बन्यो छ, पेरिसस्थित सस्तो होटल रु दु कोक दोर। त्यहीँबाट उनले अनेक कथाव्यथा टिपे।
सन् १९४९ मा लेखिएको यो उपन्यासले खडा गरेको ‘बिग ब्रदर’ राजनीतिक वृत्तमा आज हेपाहा र हैकमवादी चरित्रको पर्याय बनिसक्यो। यो उपन्यास त्रासदी र बर्बादीका घटनाले भरिएको ‘डिस्टोपिया’ विधाको एउटा उदाहरण हो, जसले अधिनायकवादी शासनमा विद्रोहीले भोग्ने भयावह अवस्थाको एउटा झलक दिन्छ।
१९८४ उपन्यास विषयको हिसाबले जति वजनदार छ, प्रयोगको हिसाबबाट पनि पृथक् लाग्छ। उपन्यासमा दोहोरिरहने न्यूस्पिक, डबलथिङ्क, थटपोलिस, थटक्राइम, स्पिकराइट शब्दावलीमा मात्र नयाँ होइनन्, तिनका सन्दर्भ र अर्थ समेत विशेष र गम्भीर छन्।
अर्वेल बेलायतका लेखक एच. जी. वेल्सको उपन्यास ‘टाइम मसिन’ लगायत साइन्स फिक्सनबाट निकै प्रभावित थिए। बीसौं शताब्दीको मध्यमा लेखिएको १९८४ मा प्रविधिका विभिन्न पाटोलाई समेटी साढे तीन दशकपछिको समयलाई पक्रेर लेखिएको छ। बिग ब्रदरको सन्देश प्रवाह गर्न र शंकास्पद व्यक्तिमाथिको निगरानीका लागि टेलिस्क्रिनको प्रयोग भएको छ, जुन नितान्त नयाँ प्रयोग हो। त्यसैले यो साइन्स फिक्सन आजसम्म पनि प्रभावशाली छ।
निबन्धमा लडाकुको जीवन
अर्वेल प्रहरी अधिकृतको जागीर छोडेर लेखनबाट गुजारा चलाउने लहडमा पेरिसतिर हानिए। तर, जिन्दगी सोचे झैं भएन। रुसी साथी बोेरिससँगको पेरिसको बसाइ अभाव र संघर्षमा बित्यो। उनले फारो गरेर पाउरोटीको भरमा कैयौं दिन काटे। यिनै कहरमय घटनाका साक्षी बन्यो छ, पेरिसस्थित सस्तो होटल रु दु कोक दोर। त्यहीँबाट अर्वेलले अनेक कथाव्यथा टिपे, विभिन्न पात्रसँगको भेट, सरसंगत र साक्षात्कार मार्फत। क्रान्तिकारी जुल्स्, भोको प्रेमी भ्यालेन्टी, होटल एक्सका क्याफ्टेरिया मालिक मारिओ, बोरिसको पैसा चोर्ने यहुदी लगायत पात्रहरूलाई उनले नजिकबाट नियाले। यिनै अनौठा भुइँमान्छेसँगको उठबसको उपज बन्यो, उनको निबन्धसंग्रह डाउन एन्ड आउट इन पेरिस एन्ड लन्डन।
यो पुस्तकको दोस्रो खण्ड बेलायतका गरीब बस्तीमा केन्द्रित छ, जहाँ प्याडी, बोजो जस्ता मगन्ते भेटिन्छन्। चरम गरीबी, निराशा झेलेका यिनै दुःखीजनसँगको सान्निध्यमा रहेर उनी जीवनका कठोर भोगाइ र दुर्लभ दर्शनसँग परिचित बने। त्यसैले त बिल्कुल फरक पात्रहरूले चहारेका अँध्यारा भूगोल र परिवेशको आँखीझ्याल प्रतीत हुन्छ, उनको यो निबन्ध संग्रह। यही संग्रहको प्रारम्भमा उनले खुलाएका छन्, ‘गरीबीबारे लेख्दै छु। पेरिसका सुकुमबासी बस्तीमा मैले पहिलो पटक गरीबीसँग साक्षात्कार गरेँ।’
कुनै समयका बेलायती प्रहरी अधिकृत अर्वेल, पछि स्पेनी फासीवादी शासक फ्रान्कोविरुद्धको छापामार युद्धमा होमिए। त्यस क्रममा क्याटालोनिया र आराजोनिया क्षेत्रको लडाइँमा संलग्न भए। यही युद्धमा उनको घाँटीमा गोली लाग्यो, तर बाँचे।
उनले फासीवादी फ्रान्को सरकारको मात्र नभई स्टालिन समर्थित स्पेनी कम्युनिस्ट पार्टीको दोहोरो चरित्रको पर्दाफास गर्दै लेखे। फलस्वरूप, सात महीनाकै छोटो अवधिमा उनले स्पेन छाड्नुपर्यो। होमिज टु क्याटालोनिया पुस्तक त्यही समयको दस्ताबेज हो। पुस्तकमा घटनाको मिहिन वर्णन हेर्दा यस्तो लाग्छ, मानौं उनी लडाकु दस्ताका गुरिल्लाको रूपमा नभई अनुभवी संवाददाताको भूमिकामा खटिएका छन्, र घटनाका बहुआयाम र असरबारे युद्धमैदानबाट अनवरत विवरण दिइरहेछन्।
स्पेनी युद्धमा सहभागी हुँदाको भोगाइ र देखाइ नै पछि उनको चर्चित उपन्यास१९८४ को रचनागर्भ बन्न पुग्यो।
गर्जो टार्न अखबारी लेखन
अर्वेलले प्रशस्त अखबारी लेखन पनि गरे। फ्रान्स, स्पेन र बेलायतका नयाँ भूगोलमा सँगालेका अनुभवलाई अखबारी लेखका रूपमा छपाए। त्यस क्रममा ट्राइवुन, लेफ्ट न्यूज, ल पोग्रे सिभिक, जिकेज् विक्ली, पार्टिसन रिभ्यू, टाइम एन्ड टाइड, न्यू इङ्लिस विक्ली, म्यान्चेस्टर इभिनिङ न्यूज, दी अब्जर्भर, न्यू स्टेटमेन्ट एन्ड नेशन पत्रपत्रिकामा उनका लेखहरू आए।
अखबारी लेखन उनको जीविकोपार्जनको टेको थियो। उनले पुस्तक, नाटक तथा चलचित्र समीक्षा, लेखकबारेका शब्दचित्र, अविस्मरणीय घटना, राजनीतिक टिप्पणी मात्र होइन, गर्जो टार्न खानपान र परिकारबारे समेत लेखे।
अखबारी लेखन उनको जीविकोपार्जनको टेको थियो। उनले पुस्तक, नाटक तथा चलचित्र समीक्षा, लेखकबारेका शब्दचित्र, अविस्मरणीय घटना, राजनीतिक टिप्पणी मात्र होइन, गर्जो टार्न खानपान र परिकारबारे समेत लेखे।
अर्वेलको लामो निबन्ध ‘सुटिङ एन एलिफेन्ट’ चर्चित छ। यो निबन्धमा उनी बर्मामा प्रहरी सेवामा कार्यरत छँदा स्थानीय बर्मेलीको आस्था र सम्मान आर्जन गर्न हात्ती मार्दाको मार्मिक घटना वर्णन छ। महात्मा गान्धीमाथिको टिप्पणी, पुस्तक पसलमा कार्यरत हुँदाका सम्झना, पुस्तक समीक्षकका भोगाइ पनि रोचक र पठनीय छन्। अंग्रेजी भाषाको राजनीतिबारे लेखेको निबन्धमा उनी राजनीति र प्रयुक्त भाषाको अन्तरसम्बन्ध यसरी केलाउँछन्, ‘परम्परावादीदेखि अराजकतावादी हरेक राजनीतिक पार्टीले भाषाको अस्त्र यसरी चलाउँछन् कि झूट सत्य जस्तो लागोस्, हत्या सम्मानित देखियोस् अनि हावादारी कुराले यथार्थको आकार ग्रहण गरोस्।’
सन् १९४४ को उनको एउटा फुटकर सम्झना यस्तो छ– २८ जूनमा उनी बसेको फ्ल्याटमा बम प्रहार हुन्छ। त्यसपछि एउटा अखबार कार्यालयमा आश्रय लिन्छन्। फ्ल्याट बमले खरानी बने पनि उनी त्यहाँ गइरहन्छन्। हरेक दिन मध्याह्न खण्डहरको खरानी घण्टौं खोतलिबस्छन्, कुनै सग्लो किताब भेटिने आशामा।
अनेक अवतारमा अर्वेल
झन्डै तीन दशकको सक्रिय लेखन कालमा अर्वेल धेरै बान्की र विधामा देखिए। शुरूमा बेलायती प्रहरी सेवामा रहँदा भारत र बर्माका विभिन्न इलाकामा खटिए। प्रहरी सेवाका लागि आफू उचित पात्र नभएको निष्कर्ष निकाली जागीर छाडेर केही वर्ष पेरिस र लन्डनका विपन्न बस्तीमा काटे।
त्यसपछि स्पेनी विद्रोहीको छापामार युद्धमा पनि लडे। चर्चित आख्यान र शक्तिशाली निबन्ध मात्र होइन, केही कविता समेत लेखे। संकटका घडीमा पुस्तक समीक्षा र समसामयिक लेखरचनाबाट प्राप्त रकमबाट जीवन धाने। दोस्रो विश्वयुद्धताका केही समय बीबीसीमा पनि काम गरे। जसका क्रममा बेलायत सरकारको प्रोपगान्डा फैलाउन खुलेर लागे।
यति विविध आयाममा उनी जहाँ जहाँ संलग्न रहे, त्यहींका कथाव्यथा टपक्क टिपे। तिनै कच्चा पदार्थबाट गहकिलो उपन्यास र निबन्धहरू लेखे।
अर्वेलको लेखन र जीवन विवादको घेरा बाहिर भने छैन। सन् १९५२ देखि १९५७ सम्म अमेरिकी गुप्तचर संस्था सीआईएको अगुवाइमा एउटा अभियान नै चलाइएको थियो। त्यस अभियान अन्तर्गत पोल्यान्ड, हंगेरी, चेकोस्लोभाकिया जस्ता पूर्वसोभियत संघ खेमाका देशहरूमा हवाईजहाजबाट खातका खात उनको उपन्यास एनिमल फार्म खसाइयो। यसैकारण कम्युनिष्टहरूका लागि उनी बेलायती उपनिवेशवादका मतियार हुन्, जो सोभियत संघको बदख्वाँइमा हात धोएरै लागेका थिए।
बीबीसीमा काम गर्दाताकाको उनको लेखन र प्रसारणमा अन्ध राष्ट्रवादको छाया प्रष्ट देखिन्छ। उनी थुप्रै विवाहेतर यौन सम्बन्धमा रहेको बताइन्छ, ती सबै सम्बन्ध आपसी सहमतिमा नभएका र कतिपय महिला उनको यौन दुराचारको शिकार समेत भएको तथ्य बाहिरिएका छन्।
भ्रामक र प्रोपगान्डा निहित कदमको चर्को विरोध गर्ने उनकै कतिपय लेखाइ यथार्थभन्दा बाहिर र प्रोपगान्डाकै लागि लेखिएको टिप्पणी पनि गरिन्छ।
अर्वेलको सान्दर्भिकता
अर्वेल लोकतान्त्रिक समाजवादका पक्षधर थिए। दोस्रो विश्वयुद्ध र त्यससँग जोडिएको राजनीति र राजनीतिका धूर्त खेलाडीहरूलाई उनले लेखन मार्फत व्यङ्ग्यको तीर हानिरहे। अधिनायकवाद सधैं उनको आक्रमणको निशाना बन्यो।
ह्वाई अर्वेल म्याटर्स पुस्तकका लेखक क्रिस्टोफर हिचिङको हेराइमा अर्वेल फासीवाद, नाजीवाद र स्टालीनवादविरुद्धका ‘वान म्यान आर्मी’ अर्थात् एक्लो सिपाही थिए। अर्वेलको निधन भएको ७२ वर्ष भइसकेको छ। तर, सात दशकपछि पनि उनीप्रतिको आकर्षण कम भएको छैन, उनको सान्दर्भिकता सकिनु साटो झन् बढ्दो छ।
एनिमल फार्म र१९८४ मा बारम्बार दोहोरिने सम्बोधन हो– कमरेड। यसैका आधारमा अर्वेलका दुवै उपन्यासलाई कम्युनिष्ट विरोधी मात्र बुझियो। निरंकुश चरित्र 'बिग ब्रदर'को कमरेड पृष्ठभूमिलाई तत्कालीन रुसी नेतृत्व भनेर बुझाइ सीमित गरियो। तर, खासमा त्यस मार्फत उनले गरेको सम्पूर्ण सर्वसत्तावादको विरोध थियो। त्यो सर्वसत्तावाद कम्युनिष्ट खेमामा मात्र सीमित कहाँ छ र?
एनिमल फार्म र१९८४ मा बारम्बार दोहोरिने सम्बोधन हो– कमरेड। यसैका आधारमा अर्वेलका दुवै उपन्यासलाई कम्युनिष्ट विरोधी मात्र बुझियो। निरंकुश चरित्र 'बिग ब्रदर'को कमरेड पृष्ठभूमिलाई तत्कालीन रुसी नेतृत्व भनेर बुझाइ सीमित गरियो। तर, खासमा त्यस मार्फत उनले गरेको सम्पूर्ण सर्वसत्तावादको विरोध थियो। त्यो सर्वसत्तावाद कम्युनिष्ट खेमामा मात्र सीमित कहाँ थियो/छ र?
नागरिक निगरानी अहिलेको समयको स्थापित सत्य हो। एकातिर गोपनीयताको अधिकार, स्वतन्त्रता जस्ता संविधानप्रदत्त अधिकार छन्, अर्कातिर नागरिकका गतिविधिलाई नियन्त्रण गर्न राज्यनिर्देशित निगरानी बढ्दो छ। १९८४ उपन्यासको ‘बिग ब्रदर इज वाचिङ यू’ वाक्यकै अत्याधुनिक संस्करण ‘तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ’ ले वर्तमानमा आममान्छेको स्वतन्त्रता धरापमा पार्दै छ। अझ कतिपय विकसित देशमा अनुहार पहिचान गर्ने नयाँ प्रविधि पनि प्रयोगमा आइरहेछन्।
निरंकुश र नियन्त्रित देशमा मात्र होइन, लोकतान्त्रिक भनिएका देशहरूको अवस्था पनि अलग छैन। इस्लामिक गणतन्त्र टर्कीकै लय समात्दै प्रजातान्त्रिक मुलुक भारत पनि अनुदार शैलीमा निगरानी, नियन्त्रण र धरपकड बढाउँदै अघि बढिरहेको छ। यो स्थितिबाट हाम्रै नेपाल पनि अछुतो छैन। पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले संविधानको मर्ममा आघात गर्दै स्वेच्छाचारी रूपमा अघि बढ्ने हिसाबले सीमा नाघेको छ।
स्वतन्त्रता, समानता र बन्धुत्वका तीन खम्बे राष्ट्रिय संकल्प लिएको देश फ्रान्स अहिले प्रहरीलाई अनियन्त्रित शक्ति प्रदान गरिरहेछ, निःशस्त्र जनप्रदर्शनलाई दबाउन। त्यसैले त अर्वेलले १९८४ मा भनेको ‘स्वतन्त्रता नै दासत्व हो’ भन्ने तथ्य यथार्थको नजिक आइरहेको प्रतीत हुन्छ। यहींनेर देखिन्छ, यो उपन्यासको सर्वकालिक सान्दर्भिकता। जब–जब स्वेच्छाचारी सरकारहरूको उदय हुन्छ, नागरिक अधिकार कटौती हुन्छ, अर्वेलका एनिमल फार्म र१९८४ का पानाहरू पल्टिन थाल्छन्। उनका तार्किक र पेचिला निबन्धका हरफ याद आउँछन्। जसले प्रतिरोधी चेतनालाई ऊर्जा भरिदिन्छ।