९२ वर्षीया वृद्धाले जितिन् कोरोना (तस्वीरहरू)
कोरोनाभाइरसको संक्रमण भएकी ९२ वर्षीया वृद्धा शुक्रबार निको भएर आइसोलेसन सेन्टरबाट बिदा हुँदा उपचारमा संलग्न स्वास्थ्यकर्मी मात्र होइनन्, त्यहाँ उपचाररत संक्रमित पनि खुशी देखिन्थे।
काठमाडौंको सामाखुसीस्थित राधा स्वामी कोभिड-१९ आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टरमा आजको माहोल बेग्लै थियो। प्रायः निराश र सुनसान लाग्ने सेन्टरमा आज भने सबै खुशी र प्रफुल्ल देखिन्थे। त्यो खुशी ल्याएकी थिइन्, ९२ वर्षीया कालिकादेवी बास्तोलाले। उनी कोभिड-१९ लाई जितेर घर फर्किँदै थिइन्।
आइसोलेसन सेन्टरका स्वास्थ्यकर्मीले उनलाई पुष्पगुच्छा दिएर बिदाइ गरे। ह्विलचियरमा आइसोलेसन सेन्टरबाट बाहिरिँदै गर्दा त्यहाँ उपचाररत कोरोना संक्रमितले पनि ताली बजाएर बिदाइ गरे।
लमजुङको सुन्दरबजार नगरपालिका-३ की बास्तोलालाई केही दिनअघि ज्वरो, खोकी, खाना रुचि नहुने समस्या देखिएको थियो। उनलाई काठमाडौं ल्याएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि सामाखुसीस्थित आइसोलेसन सेन्टरमा राखिएको थियो।
आज भने उनी निको भएर आइसोलेसनबाट घर फर्केकी छिन्। शारीरिक रूपमा कमजोरीसँगै मास्क लगाएकाले कसैसँग केही नबोले पनि ह्विलचियरबाट ट्याक्सीमा चढेपछि भने सबैसँग हात हल्लाइन्।