फेरि शेरबहादुरजी अर्थात् अन्धकार
नेपाली कांग्रेसमा थोरै मात्र सुधार हुने हो र नेतृत्वबाट शेरबहादुर देउवाजीहरू बिदा हुने हो भने चुनाव जित्न कम्युनिष्ट पार्टीहरू एकजुट भए पनि केही असर पर्दैन।
२०७४ सालको आमचुनावअघि नै संसद्मा नेपाली कांग्रेसको संख्या सानो हुनेछ भन्ने निश्चित जस्तै थियो। चुनावमा यो हदसम्मको पराजय भोगेपछि कांग्रेस ‘डिप्रेसन’मा जान्छ र बिस्तारै तङ्ग्रिँदै आउँछ भन्ने मेरो विश्लेषण थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकीकरण कांग्रेस पराजयको महत्त्वपूर्ण कारण थियो, तर सम्पूर्ण कारण थिएन।
उचाइमा पुग्न कुनै पनि पार्टीलाई स्पष्ट विचार, मजबुत संगठन र सक्षम नेतृत्वको आवश्यकता पर्दछ। तर, कांग्रेससँग यी तीनै आयाम भएन। २०६२/०६३ सालको जनआन्दोलन, नयाँ संविधान जारी र आमनिर्वाचन कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको थियो। तर, उसमा वैचारिक स्पष्टता भएन।
एकथरी गणतन्त्रका पक्षमा थिए, अर्काथरी विरोधमा, संघीयता कांग्रेसको अजेन्डा नै होइन भन्नेहरू पनि थिए। हिन्दू राज्यको माग गर्नेहरू पनि कांग्रेसमै थिए। संगठन अराजनीतिक जस्तो भइसकेको थियो। कतिपय संगठनमा अपराधीहरू पनि छिरिसकेका थिए। त्यसमा पनि सबैभन्दा बढी नेतृत्व नै असफल देखियो। कम्युनिष्टसँग प्रतिस्पर्धा गर्न राजनीतिक विचार शून्य भएका, अनुभव पनि नभएकाहरूले सक्ने कुरै थिएन।
पार्टी सभापति कम्युनिष्टले जिते निरंकुशता आउँछ भन्नुहुन्थ्यो, तर त्यो वेला कम्युनिष्टसँगै सत्ता साझेदारी गरिरहनुभएको थियो। उहाँले महन्थ ठाकुरलाई चुनाव जिताउनुभयो, तर ठाकुर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छन्। पुष्पकमल दाहालकी छोरीलाई मेयर बनाउनुभयो। तर, चुनावका वेला दाहालले ओलीसँगै एकता गरे।
यो त चार वर्षअघिको कुरा भयो। अहिले कांग्रेसको चौधौं महाधिवेशन आउँँदै छ। के यो महाधिवेशनसम्म आइपुग्दा कांग्रेसमा वैचारिक स्पष्टता आयो त? म त देख्दिनँ। कांग्रेस फेरि पनि पुरानै सोचमा, विचारमा छ। नयाँ थपिएको छ भने त्यो कोभिड–१९ महामारी नै हो।
पहिले–पहिले कसैले गणतन्त्र नभई हुँदैन भन्थे, कसैले धर्मनिरपेक्षता चाहिन्छ भन्थे, कसैले संघीयतामा जानुपर्छ भन्थे। नरहरि आचार्य, गगन थापाहरू विचार लिएर देशव्यापी अभियानमा हिँड्थे। पछिल्लो चार–पाँच वर्षयता त्यस्तो विचार लिएर कोही अभियान चलाएर हिँडेको देख्नुभएको छ त? वैचारिक स्पष्टताका लागि यस्ता देशव्यापी अभियान चलाउनेहरूको पनि आवश्यकता पर्दो रहेछ। विचार सबैबाट आउँदैन। यो नेतृत्वपंक्तिबाटै आउनुपर्दछ।
अर्को भन्नैपर्ने कुरा, विचार त भविष्यमुखी हुनुपर्छ, अग्रगामी हुनुपर्छ, प्रगतिशील हुनुपर्छ। तर, कांग्रेसमा अहिले पछाडि फर्किने कुरा आइरहेको छ। जस्तो कि, संविधानमा संघीयता राख्ने अनि संघीयता कांग्रेसको नभई मधेसकेन्द्रित दलको मुद्दा थियो भनिदिएपछि कार्यकर्तामा के प्रभाव पर्छ? संविधानमा धर्मनिरपेक्षता छ। तर, कांग्रेसमा राजा ल्याउने, हिन्दू राष्ट्र बनाउने जस्ता कुराको चर्चा छ। यस्ता कुराले कांग्रेसलाई ‘ब्याक गियर’ मा धकेलिरहेको छ।
कब्जामा कांग्रेस
कांग्रेसको पछिल्लो तीन दशक हेर्नुभयो भने पार्टी सत्ता र राज्य सत्तामा उही १०–१५ जनाको कब्जामा छ। अर्थात् पार्टी र देशमा सीमित व्यक्तिहरूको एकछत्र हालीमुहाली छ। अहिले पनि हेर्नुहोस्, विपक्षी हुँदाहुँदै पनि शेरबहादुरजीले विभिन्न नियुक्ति गरिरहनुभएकै छ।
तीन दशकमा अमेरिकामा चार–पाँच जना नयाँ राष्ट्रपति आए। उनीहरूमध्ये धेरै अहिले पनि जिउँदै छन्। तर, राजनीतिमा छैनन्। पछिल्लो आधा दशकमा त डोनाल्ड ट्रम्प गएर जो बाइडेन नै आइसके। नेतृत्व परिवर्तन भइराख्दा नयाँ–नयाँ प्रयोग हुन्छ, देश अगाडि बढ्छ।
शेरबहादुरजी २०५२ सालमा नै प्रधानमन्त्री हुनुभएको थियो। अहिले तीन दशकपछि पनि उहाँ नै प्रधानमन्त्री बन्ने सुरसारमा हुनुहुन्छ। पार्टीको नेतृत्व लिन्छु भनिराख्नुभएको छ। उहाँ प्रधानमन्त्री बनेका वेला जन्मेका मान्छे ३० वर्षका भइसके।
शेरबहादुरजी मात्रै होइन तीन दशकयता उही टीम, उही नेतृत्व छ। २०४८ सालमा गिरिजाबाबुको टीममा जो–जो थिए, २०७८ सालमा पनि उनीहरू नै छन्। बरु कम्युनिष्ट पार्टीमा मनमोहन अधिकारीपछि पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई अनि केपी शर्मा ओली प्रधानमन्त्री बनिसके।
कांग्रेस नेतृत्वले राजनीतिलाई पेशा बनाए, जागीर बनाए। यो दुर्भाग्य हो। यस्तो पार्टीमा युवाहरू किन आकर्षित हुने? त्यस्तो पार्टीमा नयाँ मान्छे किन आउने?
उदाहरणका लागि, शेरबहादुरजी प्रधानमन्त्री बन्नुभयो भने को–को मन्त्री बन्छन् भनेर म नै ९५ प्रतिशत मिलाउनसक्छु। यसको अर्थ हो, तीसौं वर्षसम्म पनि नयाँ आउने गुन्जायस छैन। नयाँ विचार, नयाँ नेतृत्व वा नयाँ अनुहार भन्ने नै छैन। बरु जिल्ला तहमा धेरै परिवर्तन भएको छ। त्यहाँ नयाँ अनुहारले नयाँ ऊर्जा पनि लिएर आएका छन्। तर, नेतृत्व भने निश्चित व्यक्तिहरूको कब्जामा छ। उनीहरूले कांग्रेसलाई ‘ट्र्याप’मा पारेका छन्।
तर, म यसमा एकथरी कार्यकर्ताको पनि दोष देख्छु। धेरै कार्यकर्ताहरू आर्थिक रूपमा नेतामा निर्भर देखिन्छन्। यो शेरबहादुरजीको पालामा मात्रै भएको होइन। गिरिजाबाबुको पालामा पनि थियो। ती कार्यकर्ताहरू नेताका गलत कुराको विरोध गरेर ‘आर्थिक पाइपलाइन’ बन्द गर्न चाहँदैनन्। अर्कोतिर, त्यस्ता कार्यकर्ता पाल्नकै लागि नेताले पनि व्यापारी, मेडिकल कलेज सञ्चालक, ठेकेदारसँग पैसा लिन्छन्। नेताबाट आर्थिक सुरक्षा लिने यस्ता कार्यकर्ताबाट तपाईं के आशा गर्नुहुन्छ?
आधाभन्दा बढी गुटगत राजनीतिको कारण नै आर्थिक संरक्षण हो। आफ्नो नेताबाट राजनीतिक प्रशिक्षण, शिक्षा होइन, आर्थिक लाभ लिनेहरू छन्। नेताको गलत कामको विरोध नगर्नुका कारण राजनीतिक भविष्य सुनिश्चित गर्न पनि हो। हामीले फलाना गुटको झोले कार्यकर्ता होइन, कार्यकर्ता मात्र हौं भन्न सकेको भए अवस्था फरक हुनसक्थ्यो।
शेरबहादुरजीले फेरि सभापति लड्छु भन्नुभएको छ। यो लज्जास्पद कुरा हो। किनभने, उहाँको यो रहरमा म कांग्रेसको अन्धकार भविष्य देख्छु। देशको लोकतान्त्रिक भविष्य नै अन्धकार देख्छु।
एक त उहाँले पार्टीलाई निर्वाचनमा जिताउन सक्नुभएन। अर्कातर्फ, प्रतिपक्षी दलको भूमिका खेल्न पनि सक्नुभएन नि। कांग्रेसजन मात्र होइन, आमनेपालीले पनि उहाँको भूमिका देखेनन्। यस्तो हुनुहुन्छ, हुनुपर्छ ‘वेटिङ प्राइममिनिस्टर’ भनेर कुनै मिडिया लेख्दैन। अन्तर्राष्ट्रिय समुदायले पनि भन्दैन। त्यसकारण उहाँको उम्मेदवारी कांग्रेस कार्यकर्ता मात्र होइन, सबैका लागि लाजको विषय हो।
कांग्रेसलाई साँच्चै कांग्रेस बनाउने हो भने अब शेरबहादुर कांग्रेस, रामचन्द्र कांग्रेस, शशांक वा शेखर कांग्रेस होइन कि नेपाली कांग्रेस भएर सोच्नुपर्यो। किनभने, शेरबहादुरजीबाट मात्र होइन, अरूहरूबाट पनि कांग्रेस चल्दैन।
फेरि पनि नेतृत्व चयनको आधार गुट हुने हो भने कांग्रेसबाट मुलुकले के आशा गर्ने? महाधिवेशन प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गर्नुपर्छ, त्यसो नगरी कांग्रेसमा परिवर्तन आउँदैन। ७० वर्ष पुगिसक्यो न शरीरले साथ दिन्छ न विचारले साथ दिन्छ। उनीहरूले स्वैच्छिक अवकाश लिए ठूलो गुण लाग्ने थियो।
भारतीय कांग्रेस बनाउने कि नयाँ कांग्रेस?
भारतीय राष्ट्रिय कांग्रेसमा पनि यही रोग छ। दिल्ली बसेर नेताहरूले निर्देशन दिने र स्थानीय नेता, कार्यकर्ताले गुटको स्वार्थ अनुसार चल्ने गर्दा नै कांग्रेस यो हालतमा पुगेको हो। सोनिया गान्धी र राहुल गान्धीले जे गरे नेपाली कांग्रेसमा पनि भएको त्यही हो। तर, त्यस्तो हुँदा पनि नेतृत्वमा चेत पलाएको छैन।
यति भन्दाभन्दै पनि आगामी महाधिवेशनमा पनि वास्तविक कांग्रेसका प्रतिनिधि जितेर आउन गाह्रो छ। शेरबहादुरजीका प्रतिनिधि आउलान्, रामचन्द्रजीका प्रतिनिधि आउलान्, शेखरजीका प्रतिनिधि आउलान्, तर कांग्रेसका प्रतिनिधि आउन मुश्किल छ। गुटको राजनीति यस्तो हुँदो रहेछ कि बरु कम्युनिष्ट पार्टीलाई आफ्नो ठान्ने, तर इतर गुटलाई दुश्मन।
यस्तो अवस्थामा शेरबहादुरजीले ‘कांग्रेसलाई नयाँ बनाउँछु, गणतान्त्रिक नेपाल बनाउँछु, लिबरल नेपाल बनाउँछु’ भन्दा युवाले पत्याउँछन्? जनताले पत्याउलान्?
एकछिनलाई मान्नुस्, कांग्रेसको सभापतिमा पत्याउलान्। किनभने, त्यहाँ झोले कार्यकर्ता मतदाता भएर आउँछन्। तर, आमचुनावमा त पत्याउँदैनन् नि? कांग्रेस सभापति शेरबहादुरजी हुँदा नै देशको दुईतिहाइ मतदाताले कम्युनिष्ट पार्टी रोजेको होइनन्? त्यसैकारण भन्छु- समस्याको जड केन्द्रमा छ।
कांग्रेस कार्यकर्ताहरू एउटा कुरामा के ढुक्क भए हुन्छ भने, परिवर्तनको शुरूवात तलबाटै गर्नुपर्दछ। अब हामी झोले कार्यकर्ता होइनौं, कांग्रेस कार्यकर्ता हौं भनेर हिँड्नेहरू सात वटै प्रदेशमा ४०–५० जना भए पुग्छ। ‘अब त अति भयो’ भनेर नयाँ कांग्रेस बनाउने अभियान चलाए पुग्छ।
कम्युनिष्ट पार्टी कार्यकर्तामा आधारित हुन्छ। कांग्रेस विचार, नेताको ऊर्जा, सक्रियताले चल्छ। पार्टीलाई बचाउने हो भने महाधिवेशन प्रतिनिधिहरूले दुई–तीन दशक राज्य सत्ता र पार्टी सत्तामा बसेर असफल भएकाहरूलाई छान्नुभएन। पार्टीलाई नम्बर एक बनाउने कि भारतीय राष्ट्रिय कांग्रेस बनाउने भन्ने प्रतिनिधिहरूकै हातमै छ। जनताले १०–२० हजार मतान्तरले पराजित गरेकाहरूलाई नेतृत्वमा ल्याउन किन मरिहत्ते गर्ने?
कांग्रेसको भविष्य केन्द्रीय कार्यसमितिले घोषणापत्रमा के लेख्छ? कस्तो विधान बनाउँछ भन्ने कुराले बनाउँदैन। शक्ति तल छ। माथिबाट अधिकार दिने, निर्देशन दिने र तल बस्नेले पालना गर्ने अभ्यासलाई १४औं महाधिवेशनमा चुनौती दिन सक्नुपर्दछ। चुनौती दिने बित्तिकै यो ‘डनगिरी’ र पुरातन तरिकाले बनेको संरचना झर्यामझुरुम हुन्छ।
कांग्रेस नयाँ हुने हो भने चुनाव जित्न कम्युनिष्ट पार्टी फुट्नैपर्दैन।