प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमाथि तेस्रो दिन बहस शुरू
प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमाथि तेस्रो दिन बहस शुरू भएको छ। आज पनि निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले दिएको निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस शुरू भएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा ९ असारबाट बहस चलिरहेको छ।
संवैधानिक इजलासले बहसका लागि दुवै पक्षलाई १५–१५ घण्टा समय दिएको छ। निवेदक पक्षका कानून व्यवसायीले शुरूआती बहसका लागि १२ घण्टा समय पाएका छन्। त्यसमध्ये दुई दिनमा आठ घण्टा बहस गरिसकेका छन्। आज थप चार घण्टा बहस गर्नेछन्।
त्यसपछि सरकारी पक्षका तर्फबाट १५ घण्टा बहस हुनेछ। उनीहरूको बहस सकिएपछि निवेदक पक्षका कानून व्यवसायीले तीन घण्टा जवाफी बहस गर्नेछन्। त्यसपछि अदालतका सहयोगी (एमिकस क्युरी)को बहस हुनेछ। सबै पक्षको बहसपछि संवैधानिक इजलासले आदेश गर्नेछ।
आज तेस्रो दिनको निवेदक पक्षका तर्फबाट वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस शुरू गरेका छन्। त्यसपछि अन्य कानून व्यवसायीले बहस गर्नेछन्। निवेदक पक्षबाट आज २३ जना कानून व्यवसायीले बहस गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा ८ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। त्यसका विरुद्ध कांग्रेस सभापति देउवासहित विघटित प्रतिनिधि सभाका १४६ जना सांसद र कानून व्यवसायीले ३० वटा निवेदन दिएका छन्।
तीमध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गरिएको छ भने चार निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना गरी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गरिएको छ।