सांसद पद गुमाएका कृष्ण थापाको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
गण्डकी प्रदेश सभा सदस्य पद गुमाएका कृष्ण थापाको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ।
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार रेग्मीको संयुक्त इजलासमा पेशी तोकिएको छ। दोस्रो पटक कारबाहीमा परेपछि उनले ६ असारमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
७ असारमा न्यायाधीश मल्लको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको थियो। यससँगै दुवै पक्षलाई आज छलफलका लागि बोलाएको हो। दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश दिने वा नदिने आदेश हुनेछ।
२७ जेठमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न राष्ट्रिय जनमोर्चाले ह्वीप लगाएको थियो। तर, उनी मतदान नगरी तटस्थ बसेका थिए। पार्टीको ह्वीप नमानेको भन्दै जनमोर्चाले कारबाही गरेको थियो। जनमोर्चाको सिफारिशमा प्रदेश सभाले पनि उनको पद रिक्त रहेको घोषणा गरेको थियो।
त्यसका विरुद्ध उनी सर्वोच्च अदालत गएका हुन्। यसअघि पनि उनलाई प्रदेश सभा सदस्यबाट हटाउँदा सर्वोच्च पुगेका थिए। त्यतिवेला भने सर्वोच्चले अन्तरिम आदेश मार्फत उनको पद थमौती गरेको थियो।
दोस्रो पटक प्रदेश सभा सदस्यबाट हटाइएका थापाको निवेदनमाथि आज फेरि सुनुवाइ हुन लागेको हो। उनी बाग्लुङ ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका थिए।