एमालेमा गएका माओवादीका १४ जनप्रतिनिधिले गुमाए पद
नेकपा (एमाले)मा गएका नेकपा (माओवादी केन्द्र)का १४ जना स्थानीय सरकारका जनप्रतिनिधिले पद गुमाएका छन्। शुक्रबार निर्वाचन आयोगले सूचना प्रकाशित गरी उनीहरूको पद रिक्त रहेको जनाएको छ।
माओवादीबाट निर्वाचित भएका १४ जना स्थानीय जनप्रतिनिधि एमालेमा प्रवेश गरेका थिए। उनीहरूलाई माओवादी केन्द्रीय कमिटी बैठकले ७ असारमा कारबाही गर्ने निर्णय गरेको थियो।
माओवादी केन्द्रीय कमिटीको निर्णय अनुसार पदमुक्त गर्न निर्वाचन आयोगलाई जानकारी दिइएको थियो। माओवादीले दिएको दल त्याग गरेको जानकारीका आधारमा निर्वाचन आयोगले १४ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त रहेको सूचना प्रकाशन गरेको हो।
एमालेमा जाँदा पद गुमाउनेमा दुई जना मेयर पनि छन्। उनीहरू प्रभु साहको पक्षका छन्। साह पनि माओवादी छाडेर एमालेमा गएका थिए। उनले पनि सांसद पद गुमाएका छन्।
पद गुमाउनेमा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, गोनाही नगरपालिका उपप्रमुख परनियादेवी देवाही, मौलानपुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल, विजयपुर नगरपालिका उपप्रमुख कान्तीदेवी फतुवा, मानवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह रहेका छन्।
त्यस्तै, सिरहाको लहान नगरपालिका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, कैलालीको भजनी नगरपालिका उपप्रमुख छायाँ देवकोटा, गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागीरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका–४ का वडाध्यक्ष पुरन बिसी र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडाध्यक्ष सुरेशकुमार थापा रहेका छन्।