‘मन्त्री श्रेष्ठको हस्तक्षेप दलित समुदायमाथिको गम्भीर अपराध’
आरोपितलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गरेको हस्तक्षेप दलित समुदायमाथिको गम्भीर अपराध भएको दलित गैरसरकारी संस्था महासंघले जनाएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै महासंघले फौजदारी न्यायिक प्रक्रियालाई चुनौती दिँदै मन्त्री श्रेष्ठले गरेको हस्तक्षेप गम्भीर अपराध भएको बताएको हो।
विज्ञप्तिमा भनिएको छ, “छानबिन भइरहेको अवस्थामा बहालवाल शिक्षामन्त्री श्रेष्ठले शक्तिको दुरुपयोग गरी आरोपीलाई हाजिरी जमानतमा छुटाउन गरेको गैरकानूनी हस्तक्षेपको दलित नागरिक समाज घोर भर्त्सना गर्दछ।”
मन्त्री जस्तो जिम्मेवार अधिकारीले छानबिनको प्रक्रियामा रहेको मुद्दालाई दबाब र प्रभावमा पार्नु, न्यायिक प्रक्रियालाई नै अवरुद्ध गर्नु न्याय प्रणालीमाथि ठाडो चुनौती भएको महासंघले जनाएको छ।
“मन्त्रीको यो रबैया रूपा सुनारको मात्र नभई छुवाछूत र भेदभावविरुद्ध संघर्ष गरिरहेको सिंगो दलित समुदायमाथिको प्रहार हो,” विज्ञप्तिमा भनिएको छ।
महासंघले मन्त्री श्रेष्ठमाथि कारबाहीको माग गर्दै दलितको मौलिक हकको हननमा सरकारको संलग्नताको सन्दर्भमा प्रधानमन्त्रीको जवाफ पनि माग गरेको छ।
सञ्चारकर्मी रूपा सुनारले जात थाहा पाएर कोठा भाडामा दिन नमानेको भन्दै घरबेटी सरस्वती प्रधानविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।
रूपाको जाहेरीपछि प्रहरीले हिरासतमा राखेर प्रधानमाथि अनुसन्धान गरिरहेको थियो। ९ असारमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेतको उपस्थितिमा प्रधान जमानतमा छुटेकी छिन्।