दण्डहीनतालाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य : साझा पार्टी
जातीय विभेद तथा छुवाछूतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई छुटाउन गएका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य भएको विवेकशील साझा पार्टीले जनाएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीले कानूनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको घटनाको गाम्भीर्य ख्याल नगर्ने र राज्यशक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ पदमा बसिरहन नैतिक रूपमा अयोग्य भएको जनाएको हो।
बहालवाला मन्त्री प्रहरी कार्यालय पुगेर आरोपितको पक्ष लिनुले अनुसन्धान प्रभावित हुने साझाको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, “आरोपित व्यक्तिले जातीय विभेद गरे/नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झण्डावाल गाडीमा प्रहरी कार्यालय पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुनसक्दैन।”
रूपा सुनारले आफूमाथि जातीय विभेद भएको भनी दिएको जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझा पार्टीले सरकारसँग माग पनि गरेको छ।
सुनारले दिएको जाहेरीका आधारमा प्रहरीले सरस्वती प्रधानलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।
उक्त घटनाको कानूनी निरूपणमा विश्वास गर्न तथा कुनै पनि जात र समुदाय विशेषविरुद्ध विद्वेष फैलाउने गरी अभिव्यक्ति नदिन साझा पार्टीले अपील पनि गरेको छ।