आन्तरिक हवाई उडान १७ असारबाट सञ्चालन हुने
कोभिड-१९ को दोस्रो लहरका कारण बन्द गरिएको आन्तरिक हवाई उडान १७ असारबाट सञ्चालन हुने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी १७ असारबाट आन्तरिक हवाई उडान सञ्चालन गरिने जनाएको छ। पहिलो चरणमा ५० प्रतिशत मात्रै हवाई उडान सञ्चालन हुनेछन्।
७ असारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको थियो। त्यही अनुसार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडान सञ्चालन गर्ने तयारी गरेको सूचना अधिकारी प्रेम सुवेदीले जनाएका छन्। आन्तरिक हवाई उडानमा स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गराइने भएको छ।
यससँगै मन्त्रालयले ३० असारसम्मका लागि केही अन्तर्राष्ट्रिय गन्तव्यमा हवाई उडानको अनुमति दिएको छ। बिहीबारदेखि नै लागू हुने गरी नौ वटा एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको हो।
नेपाल एयरलाइन्सले दोहा, जापान र दुबई, हिमालयन एयरलाइन्सले दुबई र दमाम, कतार एयरलाइन्सले दोहा, टर्किस एयरलाइन्सले इस्तानबुल, जजिरा एयरवेजले कुवेत, फ्लाई दुबईले दुबई, सलाम एयरले ओमन, एयर अरेबियाले अबुधावी र एयर इन्डियाले दिल्ली उडान गर्ने भएका छन्।