‘हामीले ज्यान दियौं, उनीहरूले खोपसम्म दिएनन्’
‘बेलायत र भारतका लागि नेपालीले ज्यान दिए, अहिले उनीहरू हाम्रो ज्यान जोगाउन मद्दत गरिरहेका छैनन्।’
कोरोनाभाइरसको दोस्रो लहरले नेपालमा ठूलो संकट निम्त्याएका वेला खोपका लागि गरिएको व्यग्र अनुरोधलाई बेवास्ता गरेपछि भारत र बेलायतविरुद्ध नेपाल र नेपालीमाझ आक्रोश बढ्दो छ। यी दुई देशसँग नेपालको सबैभन्दा पुरानो सैन्य सम्बन्ध रहँदै आएको छ।
विगत दुई शताब्दीमा भएका युद्धमा नेपाली नागरिकले भारत र बेलायतका लागि रगत बगाएको र विशेषतः राणा शासकहरूले ब्रिटिश इन्डियाका विभिन्न संस्था एवं बेलायत स्वयंलाई आर्थिक अनुदान दिएका प्रसंगबारे आलोचक र टिप्पणीकर्ताहरूले कुरा उठाइरहेका छन्।
गत १ असार (१५ जून)मा स्कटल्यान्डका पुरुषको परम्परागत पहिरन ‘किल्ट’ मा सजिएर र परम्परागत बाजा ब्यागपाइप भिरेर पूवगोर्खा सैनिकका योद्धा र तिनका परिवारले लन्डनमा प्रदर्शन गरेका थिए। उनीहरूले ‘वी फाइट फर यू, हेल्प अस फाइट कोभिड–१९ इन् नेपाल’, 'गोर्खा लाइभ्स म्याटर' लेखिएका ब्यानर बोकेका थिए।
त्यही वेला ‘कोभिड अलायन्स फर नेपाल’ मार्फत अमेरिकी सरकारलाई सोही किसिमले अनुरोध गरिएको थियो। संयुक्त राज्य अमेरिका, बेलायत र यूरोपेली देशहरूले काठमाडौंमा अक्सिजन जेनेरेटर, पीपीई र स्वास्थ्य उपकरण पठाइरहे पनि सबैभन्दा चाहिएको कुरा अर्थात् खोप पठाएका छैनन्।
त्यसअघि मे महीनामा पनि बेलायती सेलेब्रिटी, विख्यात योद्धा, पर्वतारोही, जनस्वास्थ्यविज्ञ र खोप अन्वेषकहरूले नेपालका लागि आपत्कालीन स्वास्थ्य उपकरण र खोप उपलब्ध गराउन अनुरोध गर्दै विदेशमन्त्री डोमिनिक राबलाई खुला पत्र लेखेका थिए। तिनमा सर जेरेमी फरार, सारा गिल्बर्ट, एन्ड्रियु पोलार्ड, सर क्रिस बोनिङटन, जोआना लुम्ले, माइकल पलिन, जेनेरल सर साम कोवान र अन्य थिए।
भिक्टोरिया क्रस प्राप्त गर्ने जीवित पाँचमध्येका एक क्याप्टेन रामबहादुर लिम्बूले पनि काठमाडौंमै बसेर उक्त पत्रमा हस्ताक्षर गरेका थिए।
त्यही वेला ‘कोभिड अलायन्स फर नेपाल’ मार्फत अमेरिकी सरकारलाई सोही किसिमले अनुरोध गरिएको थियो। संयुक्त राज्य अमेरिका, बेलायत र यूरोपेली देशहरूले काठमाडौंमा अक्सिजन जेनेरेटर, पीपीई र स्वास्थ्य उपकरण पठाइरहे पनि सबैभन्दा चाहिएको कुरा अर्थात् खोप पठाएका छैनन्।
अर्कातर्फ, चीनले भने सिनोफार्म भेरोसेलको २० लाख मात्रा खोप नेपाललाई अनुदान दिएको छ। नेपालले अझै ४० लाख खोप बेइजिङबाट खरीद गर्ने तयारी गरेको छ।
गत मार्चको शुरूमै भारतले ‘छिमेकी पहिले’ नीति अन्तर्गत नेपालाई कोभिशिल्ड एस्ट्राजेनेकाको १० लाख मात्रा खोप उपहार दिएको थियो। नेपालले थप २० लाख मात्रा खोपका लागि सेरम इन्स्टिच्यूट अफ इन्डियालाई अग्रिम शुल्क भुक्तानी गरे पनि १० लाख मात्रा खोप मात्रै पठाइएको छ।
बेलायतले कोभ्याक्स सुविधा मार्फत नेपाललाई २.२६८ मिलियन (२२ लाख ६८ हजार) डोज खोपका लागि सहयोग गरेको थियो, तर अप्रिलमा भारतले यसको निर्यात रोक्नुअघि ३ लाख ४८ हजार मात्रा खोप मात्रै नेपाल आइपुग्यो।
काठमाडौंले नयाँ दिल्लीलाई कमसे कम आफूले पैसा तिरिसकेको बाँकी १० लाख मात्रा खोप पठाइदिन पटक–पटक अनुरोध गर्दै आएको छ। र, बेलायतलाई पनि खोप निर्यातका लागि हतारिन आग्रह गरेको छ, ताकि १२ हप्ताभन्दा बढी समयदेखि कोभिशिल्डको दोस्रो मात्रा पर्खिरहेका १४ लाख वृद्ध नेपालीले आफूमा रहेको प्रतिरक्षा क्षमता नासिनुअघि नै खोप पाऊन्।
कतिपय यूरोपेली देशले उब्रिएका वा प्रयोग नगरिएका एस्ट्राजेनेका खोप नेपाललाई दिन चाहे पनि यूरोपेली संघले ती खोप कोभ्याक्स संयन्त्रबाटै जाऊन् भन्ने चाहेको छ। जसले यो वर्षको अन्त्यसम्ममा मध्य र न्यून आय भएका मुलुकमा १०० मिलियन (१० करोड) मात्रा खोप पठाउने वाचा गरेको छ। नेपालजस्ताे दोस्रो मात्रा खोपको पर्खाइमा बसेकालाई त्यो आइपुग्दासम्म निकै ढिलो भइसकेको हुने छ।
गत महीना अमेरिकी राष्ट्रपति जो बाइडेनले ७० लाख मात्रा खोप दक्षिण र दक्षिणपूर्वी एसियाली देशलाई दिने घोषणा गरेका थिए, तर त्यसमध्ये कति र कहिले नेपाललाई दिने भन्नेबारे खुलाइएको छैन। अघिल्लो हप्ता जी–सेभेन राष्ट्रका प्रमुखहरूले पनि अर्को १ बिलियन (१ अर्ब) मात्रा खोप प्रदान गर्ने बताएका थिए जसमध्ये आधा खोप २०२१ को अन्त्यसम्म उपलब्ध गराउने भनिएको छ। तर, नेपाल पठाउनलाई कुनै किसिमको तयारी गरिएको संकेत कतै देखिएको छैन।
आन्तरिक शक्ति संघर्षमा अति व्यस्त रहेर पर्याप्त खोप जोहोका लागि कुनै पहल नगरेकोमा अधिकांश नेपालीले आफ्नै सरकारलाई बढी दोष दिएका छन्। नेपालको आपत्कालीन परिस्थितिबारे राम्रो जानकारी दिन नसकेको भन्दै विशेषगरी नयाँ दिल्ली, लन्डन र वासिङ्टन डीसी लगायत विदेशस्थित नेपाली दूतावासको पनि तीव्र आलोचना गरिएको छ। यद्यपि, सहयोगको अत्यधिक खाँचो परेको समयमा विशेषतः भारत र बेलायतले बेवास्तापूर्ण चिसो व्यवहार गरेकामा नेपालीहरूले धेरै चित्त दुखाएका छन्।
रगतको बलिदान
दुइटा विश्वयुद्धमा बेलायतको पक्षमा लड्न भर्ती गरिएका ४ लाख नेपाली युवामध्ये ५० हजार जना मारिएका थिए। भारतको स्वतन्त्रता पश्चात् पाकिस्तान र चीनविरुद्धका लडाइँमा भारतीय सेनामा रहेका हजारौं नेपाली जवानले ज्यान गुमाएका छन्।
नेपाली जवानहरूको त्याग र राणा शासकले ब्रिटिश इन्डिया तथा बेलायतलाई विगतमा गरेका उदारताको कदर हुनुपर्ने अभिलेखकर्ता सन्तोष खडेरीको भनाइ छ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले बेलायती रेजिमेन्टलाई मेशिन गन किन्नका लागि ३ लाख ३० हजार रुपैयाँ (त्यसवेलाको ठूलो राशि) उपहार दिएका थिए। सन् १९१४ मा चन्द्रशमशेरका दूतले लन्डनस्थित ब्रिटिश वार अफिसलाई ‘व्यक्तिगत उपहार’ मा ३१ वटा मेशिन गन हस्तान्तरण गरेका थिए ताकि बेलायतले आफ्ना सेनालाई तुरुन्तै मैदानमा खटाउन सकोस्।
“नेपाल गरीब देश थियो, तर बेलायतलाई सहयोग गर्ने कुरामा राणा शासक यतिविघ्न उदार थिए भन्ने थाहा पाउँदा आश्यर्च लाग्छ,” खडेरी भन्छन्, “उनीहरू कूटनीतिको भेषमा जे दिइरहेका थिए, त्यो सबै गरीब नेपालीले तिरेको कर थियो। बेलायतले नेपालीलाई सहयोग चुकाउने सही समय यही हो।”
सन् १९१६ मा टोरन्टो वर्ल्ड पत्रिकामा छापिएको एक लेखमा पनि बेलायतलाई युद्धमा सहयोग गर्न नेपाल सरकारले रू.२ लाख र प्रधानमन्त्रीको व्यक्तिगत तर्फबाट १ लाख रुपैयाँ राशिको ‘विशेष उपहार’ भारतका भायसरोय मार्फत प्रदान गरिएकोबारे उल्लेख छ।
कोरोनाभाइरसले भारतलाई गहिरो धक्का दिएसँगै महामारीको दोस्रो लहर नेपालमा पनि चुलियो। परीक्षण र उपचार सुविधा न्यून रहेका देशका अति दुर्गम भेगका समुदायमा रोग फैलिरहेको छ। मृत्यु संख्या र संक्रिमत दर रिपोर्ट गरिएको भन्दा तीन गुणा बढी रहेको जनस्वास्थ्य अधिकारीहरू बताउँछन्।
झन्डै दुई महीनाको ‘स्मार्ट लकडाउन’ पछि काठमाडौंमा अब बिस्तारै निषेधाज्ञा खुकुलो पार्दै जाने सरकारी अधिकारीको योजना छ। यद्यपि, जम्मा ४ प्रतिशत जनसंख्यालाई खोप लगाएर चहलपल खुकुलो पार्दा अर्को लहर देखापर्ने निश्चित भएको जनस्वास्थ्यविद्हरूको भनाइ छ।
दोस्रो मात्रा खोपको पर्खाइमा रहेका ६५ वर्षमाथिका १४ लाख मानिसलाई खोप लगाएपछि नेपालले अझै कम्तीमा ७० प्रतिशत वयस्क जनसंख्यालाई खोप लगाउनुपर्नेछ। त्यसका लागि ४० मिलियन डोज खोप यथाशीघ्र चाहिन्छ।
“भारतबाट खोप पाउने सम्भावना अब म देख्दिनँ, तर पश्चिमा देशहरूले आफूलाई चाहिनेभन्दा बढी खोप थुपारेर राखेका छन्,” कूटनीतिज्ञ ज्ञानचन्द्र आचार्य भन्छन्, “नेपाललाई अत्यावश्यक परेको दोस्रो मात्रा खोप पठाउन तिनलाई केले रोकेको छ?”
नेपाल–बेलायत सम्बन्धबारे लामो अध्ययन गरेका अभिलेखकर्ता खडेरीलाई नेपालमाथि भइरहेको ऐतिहासिक अन्यायले आक्रोशित तुल्याउँछ। बेलायतले नेपाललाई गरेको व्यवहार देखेर उनी निराश छन्। आजको दिनमा बेलायत नेपालको प्रमुख दाता भए पनि विगतमा राणा प्रधानमन्त्रीले बेलायती राजपरिवारलाई भव्य उपहार दिएको कुरा बिर्सिन नमिल्ने उनको भनाइ छ।
वीरशमशेर राणाले रानी भिक्टोरियालाई उपहार दिएका १४ वटा सुनका सिक्का, सन् १८५० मा भारतीय उपमहाद्वीपबाट बेलायतको पहिलो राजकीय भ्रमण गर्ने जंगबहादुर राणाले समेत रानी भिक्टोरियालाई प्रदान गरेका महँगा उपहार र पछि देवशमशेरले रानी भिक्टोरियाको स्मृति कोषलाई दिएको १५ हजार रुपैयाँ आदिबारे कतारमा बस्दै आएका खडेरीले विस्तृत अध्ययन गरेका छन्।
“हाम्रा जवानहरूको त्याग र विगतमा हाम्रा शासकले बेलायतीप्रति देखाएका उदारता र प्रशंसालाई बिर्सिएर बेलायत र भारतले अहिले हामीलाई सहयोग गर्न अनिच्छा देखाउनु उदेकलाग्दो छ,” खडेरी भन्छन्, “अझै पनि गोर्खा रिक्रुटमेन्ट मार्फत हामी उनीहरूलाई सहयोग गरिरहेकै छौं।”
विदेश नीतिका विश्लेषकहरूले औंल्याउने महत्त्वपूर्ण कुरा के पनि हो भने, बेलायत र नेपालबीचको ‘विशेष सम्बन्ध’ र सैन्य नाताका बावजूद पनि हालसम्म एउटै बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन्। बेलायती राजपरिवारका सदस्य भने यहाँ आएका छन्।
सेन्टर फर मोलिक्युलर डायनामिक्सका जनस्वास्थ्यविज्ञ समीरमणि दीक्षितका अनुसार, नेपालको दोस्रो लहरको प्रकृति बदलिँदो किसिमको छ। यसअघि संक्रमण उच्च रहेका वेला नेपालका अस्पतालहरूलाई अक्सिजन चाहिएको थियो भने अब चाहिएको कुरा खोप हो।
“भारत र बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध छ, तर खासगरी बेलायतले खोपका लागि केही पनि नगरेको देखिनु निराशालाग्दो कुरा छ,” उनी भन्छन्, “हामी भीख मागिरहेका छैनौं। बेलायती साम्राज्यका लागि नेपालीले ज्यान दिएका छन्, अब बेलायतले नेपालीको ज्यान बचाउन सहयोग गर्नुपर्छ।”