महामारीमा नसुनिएको एकल महिलाका पीडा
कोरोना भाइरसको महामारी र प्राकृतिक विपद्का कारण मुलुकमा एकल महिलाको संख्या बढिरहेका वेला सरकारबाट पाउनुपर्ने आधारभूत स्वास्थ्य लगायतका सेवामा उनीहरूको पहुँच नै पुग्न सकेको छैन।
ज्याला मजदूरी गरेर परिवार पाल्दै आएको काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० का इन्द्रमती श्रेष्ठ (४४) दम्पतीको दैनिकी हाँसीखुशीमै बितिरहेको थियो। काम गर्दागर्दै एकाएक १२ असोज, २०७७ मा उनका श्रीमानलाई ज्वरो आयो।
उपचार गर्न कहाँ लैजाने भनेर परिवारका सदस्य आत्तिए। सोधखोज गर्दा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शय्या उपलब्ध भएको जानकारी त पाए, तर अस्पताल पुर्याएपछि चिकित्सकले कोरोना परीक्षणको रिपोर्ट नभई उपचार गर्न नसकिने बताए। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो।
त्यसपछि उनको परिवारका सदस्य झनै आत्तिए। उपचारका लागि खर्च जुटाउन इन्द्रमतीले आफन्त मार्फत ऋण निकालिन्। तर, उपचारकै क्रममा २० असोजमा ज्यान गयो। बालाजु औद्योगिक क्षेत्रमा ज्याला मजदूरी गर्ने क्रममै संक्रमण भएको उनी बताउँछिन्।
“ज्यालादारीमा काम गर्न नगएको दिन साहुले पैसा दिँदैनन्, अहिले परिवार पाल्न धौधौ भइरहेको छ।”
त्यसयता परिवारको जिम्मेवारी इन्द्रमतीको काँधमा थपिएको छ। त्यससँगै एकल हुनुको पीडा त भोग्नुपरिरहेकै छ। १५ वर्षीय छोरा र ११ वर्षीया छोरीको पढाइ खर्च एक्लैले जुटाउन परिरहेको छ। घर नजिकैको इँटा उद्योगमा काम गरिरहेकी उनका लागि कोभिड-१९ को दोस्रो लहरले झन् पीडा थपेको छ। १५ दिनयता इँटा उद्योगमा काम गर्न पनि जान नपाएको बताउँदै उनी भन्छिन्, “ज्यालादारीमा काम गर्न नगएको दिन साहुले पैसा दिँदैनन्, अहिले परिवार पाल्न धौधौ भइरहेको छ।”
२०७२ सालको भूकम्पयता दयालक्ष्मीको परिवार काठमाडौंको सतुंगलमा टिनले छाएको टहरामा बस्दै आएको छ। सरकारले दिएको ५० हजार राहतले घर बनाउन नपुगेपछि टहरामै बस्दै आएको उनी बताउँछिन्। एकातिर बासको अभाव र अर्कोतिर परिवार पाल्न आर्थिक कठिनाइ झेलिरहेकी उनी कोरोना महामारीमा श्रीमान गुमाएपछि झन अप्ठ्यारोमा परेकी छिन्।
आफू पनि संक्रमित भएपछि १४ दिन होम आइसोलेसनमा बसिन्। त्यसपछि पनि दैनिक मजदूरी गर्न नपाएपछि हातमुख जोड्नै समस्या भएको बताउँछिन्। “अहिले परिवार पाल्न एकदमै गाह्रो भएको छ,” दयालक्ष्मी भन्छिन्, “सरकारले पनि अहिलेसम्म केही राहत उपलब्ध गराएको छैन।”
उनले कारोनाविरुद्धको खोप पनि लगाउन नपाएको गुनासो गरिन्। “खोप लगाउन पाएको भए उहाँ (श्रीमान्) को पनि ज्यान जाने थिएन,” उनी भन्छिन्।
कारोनाविरुद्धको खोप लगाउन नपाएको गुनासो गर्दै दयालक्ष्मी भन्छिन्, “खोप लगाउन पाएको भए उहाँ (श्रीमान्) को पनि ज्यान जाने थिएन।”
कोरोना संक्रमणका कारण अहिलेसम्म आठ हजार ८१३ जनाले ज्यान गुमाएका छन्। त्यसमध्ये करीब २५ प्रतिशत विवाहित पुरुषको ज्यान गएको छ। जसले गर्दा करीब दुई हजार महिला एकल भएको विमेन फर ह्युमन राइट संस्थाको प्रारम्भिक आकलन छ। कतिपय त नवविवाहित पनि रहेका छन्।
यस्तै समस्या २०७२ को भूकम्पका वेला पनि देखिएको थियो। प्राकृतिक विपद् र महामारीका वेला एकल महिलाको संख्या बढेको तथ्यांक छ। तर, उनीहरूको स्वास्थ्य जस्ता आधारभूत सेवामा पहुँच पुग्न सकेको देखिँदैन। कोरोना महामारीका वेला त उनीहरू थप चपेटामा परेका छन्।
श्रीमान् गुमाएपछि परिवारको दैनिक खर्च धान्न गाह्रो भएको काठमाडौंको टौखेलकी रुद्रमाया महर्जन बताउँछिन्। उनी २९ वर्षकी हुँदा १३ वर्षअघि श्रीमान् गुमाएकी थिइन्। हृदयाघातबाट श्रीमान्को मृत्यु भएपछि छोराछोरी तथा सासूससुराको जिम्मेवारी उनकै काँधमा आयो। सासूससुरा शारीरिक रूपमा अशक्त छन्।
दैनिकी चलाउन उनले घरमै खाजा पसल सञ्चालन गरिन्। तर, कोरोनाको दोस्रो लहरसँगै सरकारले लगाएको निषेधाज्ञाका कारण खाजा पसल बन्द भयो। दैनिकी कष्टकर बन्न थाल्यो। त्यही वेला परिवारका सबै जनामा कोरोनाका लक्ष्मण देखिए। तर, कसैको पनि परीक्षण गर्न नसकेको उनी बताउँछिन्। “कोरोना परीक्षण गर्न चाहिने पैसा नभएपछि कसैले पनि पीसीआर जाँच गराएनौँ,” रुद्रमाया भन्छिन्, “पीडा सहेर एक हप्तासम्म छट्पटिँदै घरमा बस्यौँ।”
“कोरोना परीक्षण गर्न चाहिने पैसा नभएपछि कसैले पनि पीसीआर जाँच गराएनौँ,” रुद्रमाया भन्छिन्, “पीडा सहेर एक हप्तासम्म छट्पटिँदै घरमा बस्यौँ।”
५ जेठबाट उनीसहित परिवारका अधिकांश सदस्यमा रुखाखोकी, ज्वरो र जिउ गल्ने समस्या देखियो। “ज्यान गलेर एकदमै कमजोर महसूस भयो,” उनले भन्छिन्, “सासूससुरालाई हेर्ने मान्छे समेत कोही भएनन्। हप्ता दिनसम्म तातो पानी मात्र खाएर बस्यौँ।” सरकारी अस्पतालमा कोरोना परीक्षण गर्न वडा कार्यालयको सिफारिश चाहिने र निजीमा शुल्क लाग्ने भएकाले जाँच गर्न नसकिएको उनको भनाइ छ।
रुद्रमाया अहिलेसम्म कुनै पनि सरकारी निकायबाट राहत तथा सहयोग नपाएको बताउँछिन्। परीक्षणको समेत सेवा नपाएको बताउने उनी अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाउन नपाएको गुनासो गर्छिन्।
कोरोना महामारीमा थुप्रै एकल महिलाले रोजगारी तथा व्यवसाय गुमाए। एकल महिलाको हक-अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको विमेन फर ह्युमन राइट्स संस्थाकी कार्यकारी निर्देशक सुमिरा श्रेष्ठ कोरोना महामारीपछि अधिकांश एकल महिलाले रोजगारी गुमाएको र स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको बताउँछिन्। महामारीका वेला काम गर्न नपाएकाले कोठा भाडामा बस्ने महिलाले भाडा तथा ऋण तिर्न नसकेर मानसिक पीडा भोग्नुपरिरहेको श्रेष्ठ बताउँछिन्।
“एकल महिलाले नागरिकता जस्ता परिचयपत्र पाउनेदेखि उनीहरूबाट जन्मेका बालबालिकाको सजिलै जन्मदर्ता नहुने गरेकाले महामारीका वेला सरकारबाट पाउनुपर्ने सेवा-सुविधा पाउन कठिन भएको छ,” उनी भन्छिन्। श्रेष्ठका अनुसार, धेरैजसो एकल महिला ज्यालादारीमा काम गर्ने भएकाले आर्थिक रूपमा कमजोर बनेका छन्।
२०६८ को जनगणना अनुसार, मुलुकमा एकल महिलाको संख्या चार लाख ९८ हजार ६०६ थियो। यो पहिलो जनगणना थियो, जसमा एकल महिलाको पनि छुट्टै तथ्यांक संकलन गरियो। यसअघि एकल महिलाको यकिन तथ्यांक कति थियो भनेर जानकारी थिएन।
“एकल महिलाले नागरिकता जस्ता परिचयपत्र पाउनेदेखि उनीहरूबाट जन्मेका बालबालिकाको सजिलै जन्मदर्ता नहुने गरेकाले महामारीका वेला सरकारबाट पाउनुपर्ने सेवा-सुविधा पाउन कठिन भएको छ,” वुमन फर ह्युमन राइट्स संस्थाकी कार्यकारी निर्देशक सुमिरा श्रेष्ठ भन्छिन्।
त्यसयता पनि अहिले एकल महिलाको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन। ओमेन फर ह्युमन राइट्सले राखेको तथ्यांक अनुसार, २०७७ चैतसम्म एकल महिलाको संख्या एक लाख २५ हजार छ। यो तथ्यांक संस्थामा आबद्ध भएका एकल महिलाको संख्या मात्र हो।
२०६८ को जनगणना अनुसार, कुल एकल महिलामध्ये ८७ प्रतिशत निरक्षर थिए। यसैकारण पनि उनीहरू अनौपचारिक अर्थतन्त्रमा भर पर्नुपरेको देखाउँछ।
अधिवक्ता कविता पाण्डे कोरोना महामारी र प्रकोपको कारण एकल महिलाको संख्या बढेको र यसले उनीहरूमा दीर्घकालीन असर र प्रभाव पार्ने बताउँछिन्। पाण्डेका अनुसार, कानूनले एकल महिलाको हक-अधिकारबारे व्यवस्था गरे पनि सामाजिक बन्देज र अशिक्षाका कारण सेवासुविधा पाउनसकेका छैनन्।
उच्च वर्गको परिवारका एकल महिला परिवारबाटै झन् अपहेलित भए पनि पीडा लुकाएर बसिरहेको पाइएको उनी बताउँछिन्। “कतिपय एकल महिलाले हामीसँग कहाँबाट सामाजिक सुरक्षा भत्ता पाइन्छ भन्ने कुरा समेत थाहा नभएको बताउने गरेका छन्,” अधिवक्ता पाण्डे भन्छिन्, “यसकारण उनीहरू सरकारको राहत कार्यक्रमबाट समेत वञ्चित छन्।”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सशक्तिकरण महाशाखाका प्रमुख रोशनी श्रेष्ठले कुनै संस्थामा आबद्ध नभएका एकल महिलालाई व्यक्तिगत रूपमा सहयोग गर्ने व्यवस्था नभएकाले समस्यामा परेको हुनसक्ने बताउँछिन्। “अहिले कुनै पनि एकल महिला हुनुहुन्छ भने उहाँहरू कुनै न कुनै संस्थामा आबद्ध हुनुपर्छ,” श्रेष्ठ भन्छिन्, “त्यसरी संस्थागत रूपमा आबद्ध महिलालाई मात्र हामी सहयोग गर्नसक्छौं।” उनी मन्त्रालयले संस्थामा आबद्ध नभएका एकल महिलालाई सीधै सहयोग गर्नका लागि नियमावली संशोधन गर्ने तयारी गरिरहेको बताउँछिन्।
(एकल महिलाहरुकाे वास्तविक नाम परिवर्तन गरिएको छ।