के हो वन कर्मचारीमा प्रिय बिरुवाको ‘पोलिटिकल स्पेसिस?’
वृक्षरोपणका क्रममा बिरुवा चाँडै मरिहाले वन कर्मचारीले भ्रष्टाचार गरेको आरोप लाग्ने भयले कतिपय ठाउँमा एकै प्रजातिका उही बिरुवा लगाउने गरिएको छ, जसलाई कर्मचारीहरू पोलिटिकल स्पेसिस (राजनीतिक प्रजाति) भन्छन्।
मनसुनी वर्षाको शुरूवातसँगै यस वर्ष पनि वृक्षरोपण गर्ने काम शुरू हुँदै छ। यस वर्ष चुरे तथा तराईमा सरकारले १ करोड ५० लाख वृक्षरोपण गर्ने घोषणा बजेट वक्तव्य मार्फत गरेको छ।
वन तथा भू-संरक्षण विभागका अनुसार, हरेक वर्ष नेपालमा सरदर १ करोड बिरुवा रोपिन्छन्। तर, रोपिएका कति बिरुवा सप्रिन्छन्, त्यसको कुनै तथ्यांक छैन। वन तथा भू-संरक्षण विभागका महानिर्देशक मनबहादुर केसी अहिलेसम्मको सिकाइले साना बिरुवा लगाउँदा सफल नभएको सुनाउँछन्।
वन कार्यालयबाट गरिने वृक्षरोपण सफल देखाउनकै लागि हरेक वर्ष केही निश्चित बिरुवा लगाउने गरिएको छ। र, यस्ता बिरुवाका प्रजातिलाई वन कर्मचारीले नै नाम दिएका छन्– पोलिटिकल स्पेसिस अर्थात् राजनीतिक प्रजाति।
वन विभागका पूर्वमहानिर्देशक राजन पोखरेलका भनाइमा आफ्नो काम देखाउन पनि वन कर्मचारीलाई त्यस्ता बिरुवा लगाउनुपर्ने बाध्यता छ। “ठूलो रकम खर्च गरेर वृक्षरोपण गरेको स्थानमा बिरुवा सप्रिएन भने कर्मचारीले भ्रष्टाचार गरेछन् भन्ने आरोप लाग्छ। त्यसैले ‘पोलिटिकल स्पेसिस’ नै लगाइन्छ। यी प्रजातिका बिरुवा हत्तपत्त मर्दैनन्,” पोखरेल भन्छन्, “कर्मचारीलाई आफ्नो सुरक्षाका लागि पनि पोलिटिकल स्पेसिस लगाउनुपर्ने बाध्यता हुन्छ।”
कर्मचारीकै अनुभवमा यी राजनीतिक प्रजाति अन्तर्गत तराईमा टिक, मसला र सिसौ बढी लगाइन्छ भने पहाडमा खोटे सल्लो, रानी सल्लो र गोब्रे सल्लो लगाउन प्राथमिकता दिइन्छ। अन्य प्रजातिका बिरुवा घरपालुवा जनावरले पनि खाने र बचाउन गाह्रो पर्ने हुनाले यी ‘प्रजाति’ लगाउने गरिन्छ। यी बिरुवा तुलनात्मक रूपमा चाँडै बढ्छन् पनि।
एकै प्रकारको बिरुवा लगाउँदा वनको प्रजातिगत विविधता पनि हराउने र कुनै एउटा रोग आए सम्पूर्ण बिरुवा मर्ने जोखिम हुन्छ।
जस्तो कि, ३० वर्षअघि लुम्बिनी विकास कोष परिसरमा १ हजार १०० बिघा जमीनमा सिसौं लगाइयो। तर, सिसौका बिरुवा भकाभक मर्न थालेपछि अहिले त्यहाँ अन्य प्रजातिका बिरुवा पनि लगाउन शुरू गरिएको छ।
वन विभागका पूर्वमहानिर्देशक पोखरेल भने वन प्राविधिकलाई यस्तो जोखिमबारे जानकारी नभएको भन्न नमिल्ने बताउँछन्। “वन कर्मचारीलाई जानकारी नभएर एकै प्रकारका बिरुवा लगाएका होइनन्,” उनी भन्छन्, “गालबाट बच्न पनि यसो गर्नुपर्ने बाध्यता कर्मचारीलाई छ।”
वन विभागका महानिर्देशक मनबहादुर खड्का एउटै प्रजातिका बिरुवा रोप्न विभागले कसैलाई सिफारिश नगरेको र नगर्ने बताउँछन्। “एकै प्रजातिका बिरुवा लगाउन हामी कसैलाई सिफारिश गर्दैनौं, तर निजी जग्गामा कसैले गरेका पनि हुनसक्छन्,” उनी भन्छन्।