मृत्युको मुखबाट यसरी फर्किएँ म !
१५ वर्षीय निरभ पाण्डेले कोभिड–१९ सँग सम्बन्धित एउटा अनौठो सिन्ड्रोमसँग जुध्दाको अनुभव यसरी सुनाएका छन्।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक कोरोनाभाइरस देखापर्दा र त्यसले मानिसहरूलाई संक्रमित बनाएको खबर सुन्दा म दुःखी भएको थिएँ। किन हो कुन्नि, अब लामो समय सबै कुरा उस्तै रहँदैनन् भन्ने आभास भएको थियो मलाई। सम्झँदा असाध्यै अप्रिय लाग्ने, तर बिर्सिन असाध्यै गाह्रो समय थियो, पोहोर साल। मैले सदा झैं सामान्य समयको आशा गरेको थिएँ। न केही खतरा, न केही अप्रत्याशित। मात्रै अर्को साधारण वर्ष। तर, मेरो अनुमान विपरीत सन् २०२० बिल्कुल असाधारण रह्यो।
नभन्दै, मार्च महीनासम्ममा त काठमाडौंमा समेत ड्यामडुम लकडाउन शुरू भइहाल्यो। तर, अँध्यारो सुरुङको पल्लोपट्टि झलमल्ल उज्यालो छ भन्नेमा मलाई विश्वास थियो। लाग्थ्यो– यो केवल अर्को एउटा महामारी मात्रै न हो, हामीले नेपालमा योभन्दा खराब स्थिति झेलेका छौं, यसबाट पनि चाँडै उम्कन्छौं।
मेरा लागि बन्दाबन्दी सामान्य जस्तै थियो र पहिला झैं जिन्दगी एक तमास अघि बढिरहेको थियो। स्कूल जान नसके पनि अनलाइनबाटै पढाइलाई निरन्तरता दियौं, अरू त के नै गर्न सक्थ्यौं र हामी! लकडाउनअघि पिआनो बजाउन सिकेकाले मलाई समय काट्न सजिलो भइरहेको थियो।
स्कूलको द स्टेम क्लबका लागि र कहिलेकाहीँ आफ्नै ब्लगका लागि लेखहरू लेखेर पनि मैले टाइम पास गरेको थिएँ। अनलाइन पढाइ हुने भएकाले मैले लामो समय मोबाइल/ल्यापटप चलाउन पाएँ, यसले मलाई डिभाइसहरूमा अभ्यस्त हुन सिकायो। लकडाउनअघि त्यसरी लामो समय डिभाइस चलाउन पाइँदैनथ्यो।
२०२० को डिसेम्बरबाट स्थिति सामान्यतर्फ फर्किंदै गर्दा काठमाडौंमा आशाका लहर देखिन थालेका थिए, म भने सिकिस्त बिरामी परेँ। खोकी त खासै लागेको थिएन, सास फेर्न पनि गाह्रो भएको थिएन, तर मेरो जिउको तापक्रम निकै बढेको थियो। यो सामान्य कुरा थिएन। मैले निकै पटक पीसीआर परीक्षण गराएँ, तर सबै रिपोर्ट नेगेटिभ आए। अर्थात्, मलाई कोभिड–१९ संक्रमण भएको थिएन।
बूढापाका र कमजोरहरूलाई मात्रै कोभिड लाग्छ भन्ने आम धारणा विकसित भइसकेको थियो। पहिले नै गम्भीर रोग भएकाहरू उच्च जोखिममा हुन्छन्, तर युवा, स्वस्थ व्यक्तिहरू भाइरसँग सजिलै लड्न सक्छन् भन्ने बुझिएको थियो। म पनि त्यही सोच्थेँ र मलाई केही हुँदैन भन्नेमा ढुक्कै थिएँ। तर, केही दिनमै म गलत साबित भएँ।
केही परीक्षणका लागि म अस्पतालमा बसेँ। रिपोर्ट आयो, चिन्ता लिनुपर्ने कुरा केही पनि देखिएन। तर, त्यसको केही घण्टापछि मेरा मुटु, फोक्सो र कलेजोलाई आफ्ना नियमित काम गर्न गाह्रो परेछ। तसर्थ, मलाई अस्पतालको इन्टेन्सिभ केयरमा सारियो।
मेरो स्वास्थ्य स्थिति खराब बन्दै गयो। बिस्तारै ममा लक्षणहरू बढ्न थाले। जिउ चिलाएर टाटैटाटा भएको थियो र दिनरात पेट दुखिरहन्थ्यो। साह्रै भएर अस्पताल पुगेको दिन म अत्यधिक थकानले कालो–निलो भएको थिएँ। तर, मेरो जिन्दगीमा योभन्दा पनि खराब क्षण अझै आउन बाँकी नै थियो।
केही परीक्षणका लागि म अस्पतालमा बसेँ। रिपोर्ट आयो, चिन्ता लिनुपर्ने कुरा केही पनि देखिएन। तर, त्यसको केही घण्टापछि मेरा मुटु, फोक्सो र कलेजोलाई आफ्ना नियमित काम गर्न गाह्रो परेछ। तसर्थ, मलाई अस्पतालको इन्टेन्सिभ केयरमा सारियो।
केही दिनपछि मैले रगत मिसिएको बान्ता गरेँ र त्यसपछि झन्–झन् कमजोर हुँदै गएँ। मलाई श्वासप्रश्वास सम्बन्धी समस्या र मुटुको मांसपेशी सुन्निने 'मायोकार्डाइटिस' भएको पत्ता लाग्यो। भेन्टिलेटर जोड्नुअघि मैले मेरा अभिभावकलाई ‘म चाँडै फर्किन्छु’ भनेँ। तर, उहाँहरूलाई फेरि देख्न पाउँछु/पाउँदिनँ भन्नेमा निश्चित थिइनँ।
केही दिनसम्म मेरो जीवनको कुनै टुंगो थिएन। बाँच्ने आशा कम भइसकेको थियो। तर, विषम परिस्थितिमा, सही उपचारका कारण म फेरि जीवित भएँ, अनन्तकालपछि जीवनमा फर्किए जस्तो आभास भयो।
चार दिनको सुताइ पश्चात् मेरो होस आएको रहेछ, बिउँझिँदा म अलमल र छक्क परेको थिएँ। यतिका दिनसम्म घाँटीभित्र र मुटुसम्मै पुग्ने गरी दुईटा पाइप छिराइएको अवस्थामा म निरन्तर खाटमा पल्टिरहेको छु भन्ने थाहा पाउँदा तर्सिएँ पनि।
होस आएपछिका केही दिन मलाई बोल्न वा आफूलाई अभिव्यक्त गर्न गाह्रो पर्यो। जब बोल्न खोज्थेँ, मेरो बोली ब्याटम्यानको जस्तो सुनिन्थ्यो। हिँड्न पनि कसरत गर्नुपर्यो, खासमा मैले फेरि हिँड्न सिक्नुपरेको थियो। म एक्कासि वास्तविकताबाट टाढा र अलग भएको थिएँ। मलाई के भएको थियो, अझै थाहा छैन। त्यस्तो अनौठो रोग के थियो?
कुनै स्पष्ट लक्षणविना म भाइरसबाट संक्रमित भएको रहेछु। अचम्मलाग्दो कुरा, मेरो शरीरले कोभिड–१९ विरुद्ध दिएको प्रतिक्रिया कोरोनाभाइरसभन्दा पनि प्राणघातक रहेछ।
बुझे अनुसार, मलाई पेडिआट्रिक मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (पीएमआईएस) भएको थियो। सन् २०२० को अप्रिलमा मात्रै पत्ता लागेको यो रोग असाध्यै दुर्लभ र खतरनाक मानिँदो रहेछ। जाँच गर्दै जाँदा घुमिफिरी कोभिड–१९ मै आएर कुरा अड्कियो, मेरो रोग कोरोनाभाइरससँग जोडिएको रहेछ।
कुनै स्पष्ट लक्षणविना म भाइरसबाट संक्रमित भएको रहेछु। अचम्मलाग्दो कुरा, मेरो शरीरले कोभिड–१९ विरुद्ध दिएको प्रतिक्रिया कोरोनाभाइरसभन्दा पनि प्राणघातक रहेछ।
मेरो शरीरको प्रतिरोधात्मक क्षमता नै मेरा लागि घातक बन्न पुगेको देखियो। जब डाक्टरले विभिन्न औषधि मार्फत त्यही कुरा उल्ट्याए, मेरो अवस्थामा सुधार हुँदै गयो। मलाई त्यस्तो समस्या हुनु अस्वाभाविक हो, तर रोग भनेको जो कसैलाई लाग्नसक्छ।
त्यो पीडादायक अनुभवपछि डाक्टर, नर्स र महामारीका बेला अग्रपंक्तिमा खटिने सबै व्यक्तिप्रति मेरो आदर र कृतज्ञता अझै बढेको छ। विश्वव्यापी महामारीविरुद्धको यो डरलाग्दो लडाइँमा भाग लिनु सजिलो काम होइन। अग्रपंक्तिका कामदार र डाक्टरहरूको काम साँच्चै वीरतापूर्ण छ।
अहिले म ठीक भइसकेको छु, पहिले जस्तै हिँड्न र बोल्नसक्छु। तर, यो अनुभवले मलाई जिन्दगीमा परिस्थिति कति अनिश्चित हुनसक्छ भन्ने पाठ सिकाएको छ। कोभिड–१९ ले म र अन्य थुप्रैलाई हिम्मत, धर्य र लगनशीलतासहित चुनौतीसँग जुध्नुपर्छ भन्ने बुझाएको छ। हामीसँग जे छ त्यसका लागि कृतज्ञ हुँदै अहिलेका हाम्रा प्रत्येक अनुभव र स्मृतिबाट हामीले लाभ उठाउन सक्नुपर्छ।
जिन्दगीको कुनै पनि बिन्दुमा नसोचेका घटनाको सामना गर्नुपर्छ भन्ने कुरा कोभिडले पुनः स्मरण गराएको छ। यो संघर्षपछि मैले जिन्दगी कति मूल्यवान् रहेछ भन्ने पनि राम्ररी बुझेँ। योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ भुमरीमा नाच्दै र खहरेमा सलल बग्दै जाने पानी झैँ जिन्दगीका प्रत्येक पाइलामा हामीले अवरोध झेल्दै र निरन्तर बग्दै जानुपर्ने रहेछ भन्ने ज्ञान भयो।
१५ वर्षीय निरभ पाण्डेको याे लेखको अंश 'टाइम म्यागाजिन'मा ‘अ इयर फुल अफ इमोसन्सः ह्वाट किड्स लर्न्ड फ्रम द कोभिड–१९ पान्डेमिक’ शीर्षकमा प्रकाशित भएको थियो।