ललितपुर महानगरमा ७७ वर्ष माथिका नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाइने
ललितपुर महानगरपालिकाले ७७ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुधबार कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’को दोस्रो डोज लगाउने भएको छ।
सरकारले गत चैतमा ज्येष्ठ नागरिकलाई कोभिशिल्डको पहिलो डोज लगाएको थियो। तर, भारतले थप कोभिशिल्ड खोप नदिएपछि दोस्रो डोज लगाउन सकिएको थिएन।
जिल्ला स्वास्थ्य कार्यालयले दुई हजार ५०० डोज कोभिशिल्ड खोप उपलब्ध गराएकाले ७७ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउने निर्णय गरिएको ललितपुरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जनाएका छन्। महानगरले सूचना जारी गरेर बुधबार ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउने जानकारी दिएको छ।
महानगरका सबै वडाबाट विवरण संकलन गरिएको र त्यसमध्ये ७७ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई पुग्ने खोप प्राप्त भएको महानगरले जनाएको छ। त्यसैले तत्काल ७७ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मात्रै कोभिशिल्डको दोस्रो डोज लगाइने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिएका छन्।
यसका लागि ललितपुर महानगरले आठ वटा खोप केन्द्र तोकेको छ। लगनखेलस्थित पशु सेवा केन्द्र, पशु अस्पतालमा वडा नं. ५, ६, ७, ८, १२, १४, १५, १७ र १९, पाटन ढोका (पाटन हाइस्कूल)मा वडा नं. १, ९, १०, ११, १६ र २०, ललितपुर महानगरपालिका प्राङ्गणमा वडा नं. २, ३, ४ र १३ का ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाउने व्यवस्था गरिएको छ।
त्यस्तै, धापाखेल स्वास्थ्य चौकीमा वडा नं. २३ र २४, सुनाकोठी (बालकुमारी स्कूल)मा वडा नं. २६ र २७, कार्यविनायक स्कूलमा वडा नं. २१ र २२, हरिसिद्धि स्वास्थ्य चौकीमा वडा नं. २८ र २९ तथा सैंबु स्वास्थ्य चौकीमा वडा नं. १८ र २५ का ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज लगाइने भएको छ।