महामारी : बालबालिकालाई स्वावलम्बी बनाउने मौका
कोरोनाभाइरसको महाकारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि स्कूल जान नपाएका बालबालिकालाई घरमै जीवनोपयोगी सीप सिकाएर स्वावलम्बी बन्न प्रेरित गर्नसकिन्छ।
हरेक बेलुकी खाना खाइसक्दा कक्षा ५ मा अध्ययनरत १० वर्षीय नातिले ‘मुमा मोल्ने कि पखाल्ने?’ भनेर सोध्ने गरेको प्रश्न निषेधाज्ञा शुरू भएयता बिहान पनि सोध्ने गरेको छ। जसले पहिले खाइसक्छ, उसले मोल्ने नियम बनाएका छौं हामी दुई जनाले। निषेधाज्ञा शुरू भएको केही दिनमै बिरालोले दुइटा छाउरा जन्माएपछि नातिको व्यस्तता अझ बढेको छ। बिरालोलाई कहिले दूध, कहिले मासु त कहिले पानी दिन्छ भने छाउरा कता लग्यो भन्दै बिरालोकै पछिपछि कुदिरहन्छ दिनभरि।
यस्तै, अनलाइन कक्षा शुरू हुनुअघि दैनिकी लेख्न थालेको थियो। दिउँसो एकछिन टिभी हेरे पनि खाजा पकाउँदा सघाउने गर्छ। घरका मान्छेले पनि कहिलेकाहीँ उसलाई मनपर्ने मोमो, फुरनदाना, थुक्पा, चाउमिन बनाउने गर्छौं। त्यति मात्र होइन, बेलुकीपख कौसीको बोटबिरुवामा पानी हाल्न तथा गोडमेल गर्न पनि सघाउँछ। कहिलेकाहीँ मलमाटो बनाउन र बीउ राख्न पनि सहयोग गर्छ। यस्तै, घरबाहिर नजाओस् भनेर हामी पनि उसले भनेको बेला लुँडो र लुकाछिपी जस्ता खेल पनि खेल्ने गरेका छौं।
यतिवेला हाम्रो नाति जस्ता लाखौं बालबालिका घरभित्रै बस्न बाध्य छन्। गत वर्षभन्दा यस वर्ष कोरोनाभाइरसको दोस्रो लहरले बालबालिकालाई पनि संक्रमित बनाउन थालेको समाचार आइरहेका छन्। अहिलेको समयमा दिनभर घरभित्र बस्नुपर्दा बालबालिकाको दैनिकी मात्र होइन, मनोविज्ञानमा समेत नकारात्मक प्रभाव बढ्ने विज्ञले सुझाउँदै आएका छन्। तर, त्यो जनस्तरसम्म पुग्न सकेको छैन र पुगे पनि अधिकांश अनभिज्ञ छन्। यसर्थ, हाम्रा अधिकांश बालबालिकाको बालापन जोखिमपूर्ण बन्दै छ र बन्ने निश्चितप्रायः छ।
त्यसो त नेपाली बालबालिकाको मात्र होइन, विश्वकै बालबालिकाको बालापन जोखिमपूर्ण बन्दै छ। तथापि विकसित मुलुकका बालबालिकाले सानै उमेरदेखि व्यावहारिक शिक्षा पाएको हुँदा उनीहरूको दैनिकी र जीवनशैली फरक छ। शिक्षण सिकाइमा अभिभावकको पनि भूमिका रहने गरेकाले सानै उमेरदेखि जीवनोपयोगी सीप पनि सिकाउने गरिन्छ। सानै उमेरमा जीवनोपयोगी सीप सिक्ने अवसर पाएका विकसित मुलुकका बालबालिकालाई त्यस्तो सीपले स्वावलम्बनको पाठ सिकाउँछ।
हामीकहाँ सैद्धान्तिक शिक्षामा आधारित स्कूले शिक्षाले बालबालिकालाई पढ्न र लेख्न मात्रै सिकाउँछ। घरमा बालबालिकाको पढाइमा अभिभावकको भूमिका गौण बन्ने गरेको छ। कतिपय शिक्षित अभिभावकले घरमा गृहकार्य गर्दा सहजीकरण गरे पनि अधिकांशले छोराछोरीको पढाइ–लेखाइमा त्यति चासो राख्ने गरेको पाइँदैन।
यी र यस्ता कतिपय कारणले पनि विद्यार्थीको शिक्षण-सिकाइ रुचिकर बन्न सकेको छैन। अधिकांश बालबालिकाको दैनिकी पट्यारलाग्दो मात्रै होइन, अनुत्पादक काममा बितिरहेको छ। यसो हुनुमा स्कूले शिक्षा र अभिभावकको दैनिकी, जीवनशैली लगायत पुरातन मानसिकता पनि प्रमुख कारण रहँदै आएका छन्।
यस्तै, छोराछोरी र विद्यार्थीलाई स्कूले शिक्षासँगै जीवनोपयोगी सीप सिकाउनुपर्छ भन्ने विकसित मुलुकको शिक्षण–सिकाइ हाम्रो परिवेशमा असम्भव जस्तै देखिन्छ। अभिभावकको पनि सक्रिय सहभागिता हुने गरेकाले त्यहाँको शिक्षाले बालबालिकालाई स्वालम्बनको पाठ सिकाउँछ।
हामीकहाँ अभिभावकको निष्क्रिय भूमिका र सैद्धान्तिक शिक्षण–सिकाइले स्वावलम्बनको पाठ होइन, परनिर्भरताको पाठ सिकाउँछ। अझ अभिभावकले पनि छोराछोरीलाई जीवनोपयोगी सीप सिकाउनुपर्छ भन्ने महसूस गरेको देखिँदैन। स्कूले शिक्षाले विद्यार्थीमा पलायनवादी सोचको बीजारोपण गर्छ।
हामीकहाँ सानै उमेरमा जीवनोपयोगी सीप सिक्ने अवसर पाएका बालबालिका नगण्य छन्। विशेष गरी अहिलेको विषम परिस्थितिमा जीवनोपयोगी सीप सिकेका बालबालिकाको दैनिकी र जीवनशैली अरूका लागि पनि अनुकरणीय बन्नसक्छ। उनीहरूलाई थप सीप सिक्न अभिप्रेरित गर्छ। यस अर्थमा जीवनोपयोगी सीप सिक्ने पहिलो थलो भनेको घर हो भने सहजकर्ता अभिभावक। विडम्बना, अभिभावक र शिक्षक पनि पथप्रदर्शक बन्नसकेका छैनन्।
अरू वेला मात्रै होइन, कोरोनाकालमै पनि अधिकांश अभिभावक विशेष गरी बुवाहरूको दैनिकी अनुत्पादक काममा बित्ने गरेको छ। आमाहरूलाई भ्याइँनभ्याइँ छ, बुवाहरू फुर्सदिला। अधिकांश अभिभावक र शिक्षकले जीवनोपयोगी सीपको महत्त्व नबुझेका कारण बालबालिकाले जीवनोपयोगी सीप सिक्ने अवसर गुमाउँदै आएका छन्।
अहिलेको विषम परिस्थितिमा बालबालिकालाई जीवनोपयोगी सीप सिकाउन अभिभावकले सहजकर्ता बन्न जरुरी छ। सानै उमेरमा जीवनोपयोगी सीप सिक्ने अवसर पाएका बालबालिकाले स्वावलम्बनको पाठ सिक्छन्। यसका लागि बुवाहरूले पनि घरायसी काममा चासो राख्न जरुरी छ। सबै मिलेर घरायसी काम गरेको देख्दै हुर्केका बालबालिकाले प्रत्यक्ष र परोक्ष रूपमा जीवनोपयोगी सीप सिक्छन्।
अहिलेको वेला यस्तो सीप सिकेका बालबालिकाले विषम परिस्थितिमा कसरी समयको सदुपयोग गर्दै अरूलाई खुसी राख्ने भन्ने कला समेत सिक्छन्। त्यसैले अहिलेको विषम परिस्थितिमा समयको सदुपयोग गर्दै छोराछोरी र नातिनातिनीमा अन्तर्निहित प्रतिभा समेत प्रस्फुटन गराउने उत्तम वेला हो यो। यसका लागि सहजीकरण गर्ने दायित्व फेरि पनि अभिभावककै हो।