सभापतिका तीन दाबेदारको निधि निवासमा ‘लन्च मिटिङ’
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको दाबेदार रहेका तीन नेताले उपसभापति विमलेन्द्र निधिको निवासमा ‘लन्च मिटिङ’ गरेका छन्।
काठमाडौंको बानेश्वरस्थित निधि निवासमा महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र निधिबीच भेटवार्ता भएको हो। दुई घण्टा चलेको भेटवार्तामा आगामी महाधिवेशनको विषयमा छलफल भएको जनाइएको छ।
केही दिनदेखि कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा उम्मेदवारी दिने तयारी स्वरूप आफ्नो पक्षका केन्द्रीय सदस्यसँग छलफल गरिरहेका छन्। ५ असारमा देउवाले निधिसँग पनि छलफल गरेका थिए।
छलफलमा देउवाले यसपटक आफूलाई सभापतिमा सघाउन भनेका थिए। तर, निधिले भने आफू पनि सभापतिमा उम्मेदवार बन्ने भएकाले सघाउन आग्रह गरेका थिए।
कांग्रेस सभापति देउवा आगामी महाधिवेशनमा पनि उम्मेदवार बन्ने निश्चित भएपछि आज तीन जना नेताले भेटघाट गरेको कांग्रेस स्रोतले जनाएको छ। “देउवा सभापतिको उम्मेदवार हुने निश्चित छ। त्यसैले, मिलेर जाने विषयमा छलफल गर्न तीनै जनाले भेटघाट गरेका हुन्,” एक कांग्रेस नेताले भने।
उनीहरूले आगामी महाधिवेशनको उम्मेदवारीको विषयमा छलफल गरेको जनाएको छ। आजको छलफल सकारात्मक रहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाइएको छ।
कांग्रेसको १४औं महाधिवेशन १६–१९ भदौमा काठमाडौंमा हुन लागेको छ। अहिले क्रियाशील सदस्यता छानबिन भइरहेको छ।