पैसाले भन्ने रोचक कथा
विभिन्न देशका मुद्राले सम्बन्धित देशको इतिहास, भूगोल, भाषा, संस्कृति, रहनसहन लगायत अनेक चाखलाग्दा र मार्मिक कथा बताइरहेका हुन्छन्।
बेलायतमा यही २३ जूनमा पचास पाउन्डको नयाँ नोट बजारमा आउने भएको छ। नोटको अग्रभागमा महारानी एलिजावेथ र पृष्ठभूमिमा एलन म्याथिसन ट्युरिङ (सन् १९१२–१९५४) को आकृति रहनेछ। ब्यांक अफ इङ्ल्यान्डले नयाँ नोटको बारेमा सार्वजनिक गरेपछि अहिले बेलायतमा ट्युरिङको विषयमा चर्चा भइरहेका छन्।
ट्युरिङ गणितज्ञ, कम्प्युटर वैज्ञानिक, दार्शनिक तथा क्रिप्टएनलिस्ट (कोड मेसेज विज्ञ) थिए। दोस्रो विश्वयुद्धमा ट्युरिङले बेलायतको शत्रुराष्ट्र जर्मनीको सेनाको रेडियो कम्युनिकेसनको ‘कोड ब्रेक’ गरेर बेलायतको गठबन्धनलाई विजयी बनाए। यस बापत ट्युरिङलाई ‘मोस्ट एक्सिलेन्स अर्डर अफ द ब्रिटिश इम्पायर’ को सम्मान दिइयो (स्रोतः ब्रिटानिका डट कम)।
बेलायतका साइन्स जर्नलहरूका अनुसार, ट्युरिङले सन् १९३६ मै आधुनिक कम्प्युटरको जग बसालेका थिए। उनले प्रतिपादन गरेको कम्प्युटिङ सिस्टमलाई ‘ट्युरिङ मेसिन’ भनिन्छ।
बेलायतका गणितज्ञ तथा कम्प्युटर वैज्ञानिक एलन म्याथिसन ट्युरिङको आकृतिसहित आउन लागेको नयाँ नोटको सन्दर्भमा बीबीसीले पैसा मार्फत एकसाथ प्रतिभा, योगदान र क्षमाको कथा भन्न सकिएको बताएको छ।
विशेषज्ञताबाट ख्याति र प्रशंसा कमाए पनि ट्युरिङका आखिरी दिनहरू भने तनावपूर्ण रहे। उनलाई सन् १९५२ मा समलिङ्गी भएको आरोप लगाइयो, जतिवेला समलैङ्गिकतालाई बेलायतमा अपराध मानिन्थ्यो। आरोप लागेका वेला ट्युरिङ बेलायती सरकारको कोड ब्रेकिङ सम्बन्धी अनुसन्धान गर्ने सरकारी कार्यालयका प्रमुख थिए।
समलिङ्गी भएको आरोप लागेपछि उनलाई कामबाट निकालियो। सन् १९५४ मा उनले विषाक्त रसायन साइनाइड सेवन गरेर आत्महत्या गरे, जतिवेला उनी ४१ वर्षका थिए। उनको मृत्युको विषयमा मिश्रित भनाइ पाइन्छ। कतिपयले उनले आत्महत्या गरेको बताउँछन् भने कसैले समलिङ्गी मानिसलाई उतिवेला बेलायतमा गरिने ‘हर्मोन थेरापी’ का कारण उनको मृत्यु भएको बताउँछन्।
उनको मृत्युको ५५ वर्षपछि सन् २००९ मा तत्कालीन बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनले ट्युरिङलाई बेलायत सरकारले गरेको व्यवहारप्रति सार्वजनिक माफी मागे। महारानी एलिजावेथ द्वितीयले सन् २०१३ मा ट्युरिङलाई मरणोपरान्त ‘क्षमा’ दिइन् (स्रोतः विकिपिडिया)।
ट्युरिङको आकृतिसहित आउन लागेको नयाँ नोटको सन्दर्भमा बीबीसीले पैसा मार्फत एकसाथ प्रतिभा, योगदान र क्षमाको कथा भन्न सकिएको बताएको छ।
...
पैसा (सिक्का र नोट दुवै) ले अनेक कथा बोक्ने वा भन्ने गर्छन्। तर, त्यसको हेक्का हामीलाई खासै नहुँदो रहेछ। खासमा हाम्रो शिक्षा प्रणालीले पनि हामीलाई प्रश्न गर्न, उत्सुकता जगाउन र खोजबिन गर्न प्रेरित गर्दैन।
पैसा सम्बन्धी जानकारी ‘नेपाल मुद्रा संकलक संघ’ जस्ता निकायबाट पाउन सकिन्छ। तर, यसका सदस्यहरू मुद्राबारे जानकारी र ज्ञान दिनभन्दा पछि भाउ बढ्ने आशामा त्रुटिपूर्ण नोट–सिक्का संकलन गर्नमै अल्झेका छन्।
...
यूरोपेली मुलुकका कतिपय विद्यालयमा भने वैज्ञानिक, इतिहासकार, आविष्कारक, लेखक, यात्री (ट्राभलर) आदिलाई निम्त्याएर उनीहरूका अनुभव बालबालिकालाई सुनाउने चलन रहेछ।
विश्वमा कोरोनाभाइरस महामारी आउनुभन्दा दुई वर्षअघिको कुरा हो, यस पंक्तिकारका साथी इनेस गेराइरूलाई पोर्चुगलको ओदमिरामा रहेको ‘डा. मानुएल कान्डिआइस गोन्कालभेस सेकेन्डरी स्कूल’ ले उनको एसिया यात्राबारे बताउन निम्ता दियो। उनी त्यसवेला नेपाल, भारत र थाल्यान्डको भ्रमण गरेर भर्खरै फर्केकी थिइन्। कार्यक्रम खुला भएकाले इनेसले यो पंक्तिकारलाई पनि कार्यक्रममा सहभागी हुने निम्ता दिइन्।
भोजपुरको धोदले र शिरीषे तामाखानीका धाउ प्रशोधन गरेर तामाको पैसा टक मारिएका थिए। एक र दुई तोला तौल भएका यी ढ्याकलाई व्यापारीले जोख्ने काममा प्रयोग गर्ने हुँदा स्थानीय नेवारले यसलाई ‘ढ–ढेवा’ भन्थे। नेवारीमा ‘ढ’ ले ढक र ‘ढेवा’ ले पैसा अर्थ दिन्छ।
मुद्रा संकलक पनि रहेकी इनेसले भ्रमण गरेका देशको समाज र अर्थतन्त्रबारे बताउँदै सम्बन्धित देशका पैसा देखाइन्। विद्यार्थी र इनेसले आफूसँग भएका विभिन्न देशका पैसा साटासाट गरे। विद्यार्थीले निर्धक्क अनेक प्रश्न गरे। त्यति निर्धक्कसँग हाम्रा बालबालिकाले प्रश्न गरेको पंक्तिकारले अहिलेसम्म देखेको छैन। प्रश्न गर्दा शिक्षक रिसाउलान् वा झर्केलान् कि भन्ने मानसिकताबाट नेपाली बालबालिका अझै पनि उम्किन सकेका छैनन्।
पोर्चुगिजहरू पहिले अन्वेषक थिए। पोर्चुगलका अन्वेषक भास्को डा गामाले सन् १४९८ मा भारत पत्ता लगाएका थिए। अन्वेषणबाट फर्किंदा पोर्चुगिजहरू आफू पुगेको ठाउँको ढुंगा/माटो लिएर फर्कन्थे। दैनिकी लेख्थे, नक्शा कोर्थे, समाजका केस्राकेस्रा केलाउँथे। सायद पुर्खाको छाप परेर हुनसक्छ, इनेसले पनि आफू डुलेका देशबाट मुद्रासहितका अनेक सामग्री ल्याएकी थिइन्।
...
इनेसले जस्तै यो पंक्तिकारले पनि मुद्रा संकलन गर्न शुरू गरेको थियो, नजानीकनै। २०४५ सालमा तनहुँको आफ्नै घरको माथिल्लो तलामा फेला परेको थैलीभित्र तामाको ढ्याक फेला पारेपछि घरमा सोधेको थिएँ– ‘यो के हो?’ जवाफमा ‘पुरानो पैसा’ बाहेक अरू जानकारी पाइएन।
पैसा भनिएको त्यो ढ्याकमा कुनै अक्षर थिएनन्, न त त्यसको आकार पैसाको जस्तो बाटुलो थियो। सोध्ने कोसँग?
समयसँगै प्रश्न मर्यो, तर पैसा संकलन गर्न छाडिएन। किनभने, तिनको आकर्षण झन् बढ्दै गयो।
...
केही वर्षअघि यशोधरा मावि, भोजपुरका पूर्वप्रधानाध्यापक गणेश वज्राचार्यसँग पंक्तिकारको भेट भयो। वज्राचार्यले ढ्याक पैसा उपहार दिए, जुन पैसा लेखकले घरमा फेला पारेको जस्तै थियो। वज्राचार्यका अनुसार, उक्त ढ्याक विक्रम सम्वत् १८७२ मा राजा गीर्वाणयुद्ध शाहको पालामा भोजपुरको टक्सारमा बनाइएको थियो। भोजपुरकै धोदले र शिरीषे तामाखानीका धाउ प्रशोधन गरेर यी पैसा टक मारिएका थिए।
एक र दुई तोला तौल भएका यी ढ्याकलाई व्यापारीले जोख्ने काममा प्रयोग गर्ने हुँदा स्थानीय नेवारले यसलाई ‘ढ–ढेवा’ भन्थे। नेवारीमा ‘ढ’ ले ढक र ‘ढेवा’ ले पैसा अर्थ दिन्छ। उतिवेला तामा पगाल्न प्रयोग गरिएको अगेना अहिले पनि टक्सारको अजिमा मन्दिर परिसरमा संरक्षण गरेर राखिएको रहेछ।
ढ–ढेवाको जानकारीबाट पंक्तिकारले फेला परेको ढ्याक तनहुँका राजाको हो कि भन्ने अनुमान मात्र गर्न सकिन्छ। तनुहँमा पनि टक्सार (सिक्का टक मारिने ठाउँ) भएकाले यो अनुमान गर्न सकिएको हो।
...
समयसँगै पंक्तिकार तनहुँबाट काठमाडौं र त्यहाँबाट विदेश लाग्यो। अनेकौं मानिससँग भेट भयो। उनीहरूबाट सम्झना र चिनोस्वरूप पाएका मुद्रा संकलनमा थपिए। २०४५ सालदेखि २०७८ सालसम्म विश्वका १९३ देशमध्ये इजरायल र अस्ट्रेलिया बाहेक सबै देशका नोट सङ्गृहीत भए। ती पैसाले पंक्तिकारलाई ती उपहार दिने आफन्त, साथी लगायत सबैको अनुहार र सम्बन्ध ताजा बनाउँछ। पैसा उपहार दिने केही नामहरू यस्ता छन्– इरिट्रियाका आफोर्की, श्रीलंकाकी निर्मली फोन्सेका, नर्वेका जित ‘यात्री’ गुरुङ, स्वीट्जरल्यान्डका लक्ष्मण देवकोटा, न्यूजिल्यान्डका गान्धिप राई, भारतका नवीन चौहान, अर्जेन्टिनाका सुरेश केसी आदि।
पंक्तिकारले पैसा संकलन शुरू गरेयता ३३ देशले नयाँ स्वरूप लिए। कुनै देशका दुई भाग जुटेर एक भए, जस्तो यमन र जर्मनी। केही देशहरू फुटेर नयाँ बने। सोभियत युनियनबाट फुटेका १५ र युगोस्लाभियाबाट टुक्रिएर पाँच नयाँ देश बने। नामिबिया, माइक्रोनेसिया, चेक, स्लोभाकिया, इरिट्रिया, पलाउ, पूर्वी टिमोर, मोन्टनेग्रो, सर्बिया, कोसोभो र दक्षिण सुडान नयाँ देश बने। सन् २०११ मा सुडानबाट छुट्टिएर बनेको ‘दक्षिण सुडान’ संसारको सबैभन्दा कान्छो देश बनेको छ।
सोमालियाबाट राजनीतिक कारणबाट छुट्टिएर सोमालील्यान्ड बनेको छ। आफ्नै सरकार, सेना, मुद्रा, राहदानी भएको यसले आफूलाई स्वतन्त्र देश भन्छ, तर राष्ट्रसंघबाट मान्यता पाएको छैन। मान्यता नपाएका देश र विभिन्न देशले आफ्नो टापुको नाममा निष्कासन गरेका मुद्रा समेत पंक्तिकारको संकलनमा छन्। बेलायतले फोकल्यान्ड टापुका लागि मुद्रा निकालेको छ। देश एउटै भए पनि बेलायतमा इङ्ल्यान्ड, स्कटल्यान्ड र वेल्सले आफ्नै नोट निष्कासन गर्छन्।
पैसाले चुपचाप भन्ने यस्ता कथा–जानकारी आफू र बालबालिका दुवैका लागि चाखलाग्दा र महत्त्वपूर्ण सामग्री बन्दा रहेछन्, जसले इतिहास, भूगोल, भाषा, साहित्य, वातावरण, रहनसहन, सिर्जनशीलता लगायत अनेकौं कुरा सिक्न र सिकाउन सकिँदो रहेछ। जसबारे तल चर्चा गरौंः
इतिहासः पाँच मार्क (जर्मनीको मुद्राको नाम) को नोट सन् १९१७ मा छापिएको हो, जतिवेला पहिलो विश्ययुद्ध (सन् १९१४–१९१८) चलिरहेको थियो। जर्मन साम्राज्य यूरोपको एक ठूलो शक्ति थियो, जो बेलायत, फ्रान्स, अमेरिका लगायत गठबन्धनसँग लडिरहेको थियो। विश्वयुद्धमा बेलायतका तर्फबाट जर्मनीसँग लड्न नेपालीहरू पहिलो पटक समुद्र तरेर यूरोप पुगेका थिए। पहिलो विश्वयुद्धमा एक लाख गोर्खाले भाग लिएका थिए। तीमध्ये २० हजार मारिए। युद्ध सकिएर फर्कंदा लाहुरेले दारी काट्ने ब्लेड, नुहाउने साबुन जस्ता नेपालीका लागि अनौठा वस्तु लिएर फर्किए। पहिलो विश्वयुद्धले विश्वको नक्शा नै परिवर्तन गरिदियो। अस्ट्रियाले युद्धका कारण ४० प्रतिशत भूभाग गुमायो। युद्धपछि पोल्यान्ड स्वतन्त्र राष्ट्र भएर निस्कियो।
श्रम र खुशी: ‘वर्ल्ड ह्याप्पीनेस रिपोर्ट–२०२१’ को तथ्यांक अनुसार, मध्य अमेरिकी देश कोस्टारिका विश्वका १९३ देशमध्ये १६ नम्बरमा परेको छ। केही वर्षयता यो देशले खुुशीको सूचीमा आफ्नो उपस्थिति जनाउँदै आएको छ। ५ कोलोन (कोस्टारिकाको मुद्रा) को यो नोटमा समुद्रको किनारमा पानीजहाज अड्याइएको छ। हँसमुख किसान/मजदूर जहाजमा केरा लोड गर्न लागिरहेका छन्। महिलाहरू कफी टिपिरहेका छन्। एक हल गोरु र नरिवलका रूखसहितको दृश्य हरित छ।
उष्ण मौसम भएको देश कोस्टारिकाले सन् १९४९ मा राष्ट्रिय सेना खारेज गर्यो। सेनालाई खर्च गरिने पैसा शिक्षा, स्वास्थ्य र निवृत्तिभरणमा खर्च गरियो। यो देशले कफी, केरा, भुइँकटहर लगायत फलफूल ठूलो मात्रामा यूरोप निर्यात गर्छ। कुल निर्यातको ४० प्रतिशत अमेरिकामा पुग्छ। कोस्टारिकाले हरियाली जोगाएर राखेको छ र करीब ९० प्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्छ। यहाँका जनताले आफ्नो खुशीयाली मुद्रामै प्रयोग गरेका छन्। कुनै समय आउला, हामी नेपालीले पनि यस्तै भाव पैसामा व्यक्त गर्ने दिन?
वातावरणः मागाडास्कर पूर्वी अफ्रिकी मुलुक हो। नेपाल आउने मनसुनी वर्षाको स्रोत यही हो, जसबाट दक्षिण र दक्षिणपूर्वी एसियाका मुलुकहरूले लाभ पाउँछन्। यो देशले आफ्नो १०० मालागासी एरिरी (मागाडास्करको मुद्राको नाम) मा त्यो देशमा मात्र पाइने भ्यागुताको चित्र राखेको छ। यस्तो चित्रले पृथ्वी सबैको साझा हो भन्ने सन्देश मात्र दिँदैन, जीवजन्तुको संरक्षणमा पनि जोड दिन्छ।
संस्कृति: पर्सिया (हाल इरान) मा पन्ध्रौं शताब्दीको मध्यतिर प्रचलित सुनको सिक्कालाई अश्राफी भनिन्थ्यो। पर्सियन कला–संस्कृति भारततिर फैलिँदै गएपछि अश्राफीलाई पछाडिपट्टि काँजो हालेर औंठीको रूपमा प्रयोग गर्न थालियो, जसको अघिल्लो भागमा पर्सियन भाषाका अक्षरहरू मात्र देखिन्छन्। भारतको प्रभाव नेपालमा पर्ने नै भयो। अश्राफीलाई नेपालमा असर्फी वा छापे औंठी भनिन्छ। नेपाल राष्ट्र ब्यांकले राजा ज्ञानेन्द्रको पालामा समेत असर्फी (सुनको सिक्का) निष्कासन गरेको थियो।
भारतमा बेलायतको इस्ट इन्डिया कम्पनीले शासन गर्दा त्यहाँबाट निष्कासित पैसालाई नेपालीहरू ‘कम्पनी पैसा’ भन्थे। तिनै सिक्काको माला बनाएर लगाइन्थ्यो। ठाउँ अनुसार त्यसको नाम फरक छ। पहाडतिर त्यसलाई कम्पनी माला भनिन्छ भने चितवनमा त्यसलाई थारू चकती भन्छन्। नेपालका विभिन्न जातीय समूहले यस्तो माला अझै पनि प्रयोग गर्छन्।
सिक्कालाई औंठीका रूपमा प्रयोग गरिने चलन नौलो होइन। नेपालमा सिक्कालाई काटेर नयाँ डिजाइनमा ढाल्दा खोटो (नचल्ने) बनाएको आरोप लाग्न सक्छ, जब कि डिजाइनरहरूका लागि यो सिर्जनशील काम हो। राजा वीरेन्द्रको पालामा २०३४ साल (सन् १९७७) मा निष्कासन भएको एक रुपैयाँको सिक्कालाई औंठी बनाएको पाइएपछि लेखकले त्यो औंठी अनलाइनबाट ३ हजार रुपैयाँ हालेर किनेको थियो।
कथा बोकेको पैसाः राजा त्रिभुवनको पालामा २०१२ साल (सन् १९५५) मा निष्कासन गरिएको चार पैसा पित्तलबाट बनेको हो। यो सिक्काको बीचमा प्वाल छ। ‘नेपाल बुलेट पैसा’ भनिने यो सिक्का द्वितीय विश्वयुद्धमा जापानविरुद्ध भाग लिएर फर्केका गोर्खाले प्रयोग गरेको राइफलको कार्टिज (खोका) बाट बनाइएको हो। असम (भारत) र बर्माको मोर्चामा रहेर नेपालीहरू जापानविरुद्ध लडेका थिए। कार्टिज सीमित मात्रामा भएकाले सिक्का एक वर्ष मात्र काटियो। नेपाल मुद्रा समाज, अनुसन्धान समितिका अध्यक्ष अरुण गुरुङले सन् १९९६ मा जारी गरेको प्रमाणपत्रमा माथि उल्लिखित कुरा स्पष्टसँग उल्लेख गरिएको छ। पैसा संग्रह गर्नेका लागि यस्ता विषय राम्रा अवसर बनेर आउन सक्छन्, जसले पृथक् कथा बोकेका हुन्छन्।
हिमाल परिचयः नेपाली सञ्चारमाध्यमले अन्जानमा फैलाएको एउटा भ्रमले धेरैलाई अन्योलमा पारेको छ। सञ्चारमाध्यमले मुगुमा पर्ने चंखेली हिमाललाई नेपाली एक रुपैयाँको नोटको पछाडि प्रयोग गरिएको भन्दै आएका छन्। ‘एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा’ जस्ता शीर्षक राखेर मिडियाले चंंखेली हिमालको प्रसङ्ग उल्लेख गर्दै आएका छन्। मुगु घुम्न जाने नेपालीहरूले पनि पृष्ठभूमिमा चंखेली हिमाल पारेर फोटो खिचाउँदै उक्त हिमाल एक रुपैयाँ नोटमा प्रयोग गरिएको भ्रामक सूचना दिँदै आएका छन्।
एक रुपैयाँको नोटमा प्रयोग गरिएको हिमाल चंखेली नभई अमादब्लम हो। जयहरि झाद्वारा लिखित ‘नेपाली कागजी मुद्रा’ मा जनाइए अनुसार, एक रुपैयाँको नोट गभर्नर कुलशेखर शर्मा हुँदा पहिलो पटक छापिएको थियो। पुस्तकमा लेखिएको छ– ‘अमादब्लम हिमालको सेतो पृष्ठभूमि भएको नोटको बीच भागमा कस्तुरी मृगका भाले–पोथी बायाँतिर दौडेको चित्र अङ्कित छ।’
चंखेली र अमादब्लम हिमालको अनुहार आपसमा ठ्याम्मै मिल्दैन, तैपनि मानिसहरूमा भ्रम व्याप्त छ।
नगदरहित कारोबार: स्वीडेनले सन् २०२३ सम्ममा ‘क्यासलेस’ हुने योजना बनाएको छ, र लक्ष्यको नजिक पुगेको छ। बीबीसीका अनुसार, विद्युतीय कारोबारमा जोड दिएको स्वीडेनले सन् २०१७ मा एक प्रतिशत मात्र कारोबार नगदमा गर्यो। स्वीडेनपछि फिनल्यान्ड, बेलायत, दक्षिण कोरिया, चीन, अस्ट्रेलिया आदि देशहरू नगदरहित हुने दौडमा छन्। सबै देश विद्युतीय कारोबारमा लागे भने अहिलेका नोट हाम्रा लागि झनै संग्रहणीय हुनेछन्। तिनले विभिन्न समय र सन्दर्भका कथा बताउनेछन्।
संसारका ब्यांक नोट हेर्दा औसतमा के देखिन्छ भने राजनीति र राजतन्त्र हाबी भएको देशका नोटमा अक्सर मानिसको अनुहार राखिँदा रहेछन्। तर, नोटहरू खासमा वन्यजन्तु, चराचुरुंगी र प्रकृतिले राम्रा देखिँदा रहेछन्।
...
अहिले चलिरहेको कोभिड–१९ जस्तो विपद् र संकटले सिर्जनशीलताका लागि ठाउँ पनि छाडिदिएको हुन्छ। यस्तो समयमा बालबालिकालाई रैथाने कथा, ब्यांक नोट संकलन, हुलाक टिकट संकलन, पुराना कागजातको महत्त्व र संकलन, समुदायका समाजशास्त्र–मानवशास्त्रका कुरा, विज्ञान र प्रविधि सम्बन्धी पुस्तकहरू दिएर सिर्जनशील बनाउन सकिन्छ। यस्तो सिर्जनशीलताले यतिबेलाको घर बसाइको समय त सहज रूपमा बित्ने नै छ, ज्ञानवर्द्धक र उपलब्धिमूलक पनि हुनेछ।