असन्तुष्टि बुझ, विश्वास जगाऊ
जनमत सर्वेक्षण – २०१९
धेरै कुरा विस्तारै सुधार हुँदै जाने नेपाली आशा प्रतिबिम्बित यो जनमतको अर्थ हो– समय छँदै आफूलाई सिद्ध गर्ने मौका राजनीतिक नेतृत्वसामु बाँकी नै छ।
‘तपाईंलाई देश अहिले कता गइरहेको जस्तो लाग्छ ?’ देशभरका ४ हजार १२९ जना उत्तरदातालाई सोधिएको यो प्रश्नमा सबभन्दा बढी ४१.५ प्रतिशतले ‘देश सही दिशामै रहेको’ बताएका छन् । २२.६ प्रतिशतको बुझाइमा देश ‘न सही न गलत दिशामा’ छ भने २७.१ प्रतिशतले चाहिं ‘गलत दिशातर्फ गइरहेको’ बताए । भर्खरै गरिएको देशव्यापी जनमत सर्वेक्षणमा सोधिएको प्रश्नमा प्राप्त उत्तर हो, यो ।
सरकारदेखि संसदसम्मका कामकारबाहीले आशा जगाउन नसक्दा राजनीतिक दलदेखि नेताप्रति असन्तुष्टि बढिरहँदा आम नेपालीको एउटा उल्लेख्य हिस्सालाई देश गलत दिशातर्फ उन्मुख भइसक्यो भन्ने चाहिं लागेको छैन । कतिपयलाई अनपेक्षित लाग्न सक्ने यो आम बुझाइको बेग्लै अर्थ छ ।
किनभने, सञ्चारमाध्यमको पहुँच र प्रयोगबारे सर्वेक्षण गर्दै आएको काठमाडौंस्थित संस्था, शेयरकास्ट ले गत जनवरी–फेब्रुअरीमा गरिएको सर्वेक्षणको यो वर्षको संस्करणमा समेटेको देश, सरकार, नेता, राज्य–संयन्त्र लगायतका विषयमा प्रकट भएको जनमत रोचक मात्र छैन, धेरै हदसम्म यथार्थको नजिक देखिन्छ ।
आम नेपालीमा देशप्रतिको अगाध विश्वाससँगै आर्थिक विकासको हुटहुटी पनि उत्तिकै छ । पछिल्ला दशकमा देश–समाजले व्यहोरेको नोक्सानी र गुमाएको अवसरलाई प्रष्टसँग बुझेकाे जनमत राजनीतिक र सामाजिक स्थिरताका लागि रोजगारी सुनिश्चितताको दरकार देख्छ ।
राज्य–संयन्त्रबाट भइरहेको सेवाप्रवाह सन्तोषजनक नरहेको निक्र्योलमा पुगेको जनमत त्यसको प्रमुख जवाफदेही राजनीतिक दल र तिनको नेतृत्वलाई ठान्छ ।
दशक लामो संक्रमणकाल अन्त्य गर्दै २०७४ सालमा भएको तीन तह (स्थानीय तह, प्रदेश सभा र संघीय संसद) को निर्वाचनपश्चात गठन भएका सरकारहरूसँग नागरिक आकांक्षा चुलिनु स्वाभाविक थियो । त्यसमाथि, दुईतिहाइ बहुमतप्राप्त संघीय सरकार गठन हुनुले आम नागरिकमा राजनीतिक स्थिरताको बहालीसँगै देश समृद्धिको यात्रामा अघि बढ्ने आशा जगायो ।
समय बित्दै जाँदा तीन तहकै सरकारहरूको प्रस्तुति भने नागरिकको यो आकांक्षाबाट टाढिंदै गयो । सर्वेक्षणमा आम नेपालीको त्यही बुझाइ प्रकट भएको छ । सरकारहरूका प्राथमिकता र प्रस्तुति जनभावना अनुरूप नदेखिएको, बरु सीमित व्यक्ति र समूहको स्वार्थ अनुकूल रहेको आम ठम्याइ देखिन्छ ।
हुन पनि, संसदले निक्र्योल गर्ने कानून निर्माणमा नागरिकको बृहत्तर हित भन्दा सीमित स्वार्थ समूह हावी हुने र सार्वजनिक भएका ठूल्ठूला आर्थिक घोटालादेखि सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनामा सरकारको प्रस्तुति फितलो देखिने अवस्था निरन्तर चल्ने प्रक्रिया झैं हुनपुग्यो ।
त्यसमाथि स्थानीय तहहरूमा समेत चुलिंदो भ्रष्टाचार, अराजकता र जनप्रतिनिधिहरूमा आफ्नो वैयक्तिक सुविधाका लागि बढेको लालच तथा राज्यकोषको दुरुपयोगले आम नागरिकमा यसखाले मनोविज्ञान विकसित हुनु अस्वाभाविक थिएन ।
किनभने, सञ्चारमाध्यमबाट निरन्तर प्रवाहित यी र यसखाले समाचार हुन् या सामाजिक सञ्जालदेखि गाउँ–बजारका चियापसलहरूमा हुने चर्चा– देशको कुनै पनि सार्वजनिक मञ्च यसखाले बुझइबाट अछुतो थिएन ।
परिणाम, कतै देशले नै बाटो विराएको वा नयाँ राज्य–संरचनाको यात्रा नै पो असहज भएको हो कि भन्ने बुझाइले विमर्शको स्थान बनाउन थालेको थियो ।
यो जनमत सर्वेक्षणले देश हिंडेको बाटो र सरकार/नेतृत्वको कार्यशैलीलाई नागरिकले विवेकपूर्ण ढंगबाट पृथक् रूपले हेर्ने गरेको प्रष्ट पारेको छ । केन्द्रदेखि स्थानीय सरकारसम्मको कार्यशैली होस् या राजनीतिक दलदेखि विधायिकासम्मको प्रस्तुति; अदालतको कामकारबाही होस् या संवैधानिक निकायहरूको व्यवहार– व्यक्तिदेखि संस्थाप्रति समेत रोष व्यक्त गरेका आम नेपाली देश हिंडेको पछिल्लो बाटोलाई भने सही नै मान्छन् ।
निर्वाचनताका होस् या अरू विशेष अवस्थामा; देशमा सामान्यकाल होस् या उधुम घर्षणकाल– आम नागरिकमाझ गरिने जनमत सर्वेक्षणले लोकतन्त्रको प्राण मानिने नागरिकको पदचाप बुझ्न सघाउँछ ।
जनमत सर्वेक्षण दल विशेषका प्रतिनिधिले नागरिकको प्रतिनिधित्व गरेर सत्ता चलाउने बहुदलीय लोकतन्त्रमा सत्ताको प्रस्तुति र नागरिक आकांक्षाबीच तादात्म्य रहे/नरहेको परीक्षण गर्ने औजार पनि हो ।
धेरै कुरा विस्तारै सुधार हुँदै जाने नेपाली आशा प्रतिबिम्बित यो जनमतको अर्थ हो– समय छँदै आफूलाई सिद्ध गर्ने मौका राजनीतिक नेतृत्वसामु बाँकी नै छ ।
हो, लोकतान्त्रिक सरकारलाई नागरिक तहले स्वतन्त्र सञ्चारमाध्यम मार्फत ‘चेक’ गरिरहेकै हुन्छ । तर, सर्वेक्षणले सरकार र जनप्रतिनिधिका अमूक कामकारबाही बारेको नागरिक चेत अझ ठोस रूपमा प्रस्फुटित गराउँछ ।
त्यहीकारण पनि धेरैजसो लोकतान्त्रिक मुलुकमा जनमत सर्वेक्षणका परिणामलाई सरकारहरूले आफ्नो कामकारबाही र नीतिनियमको स्वपरीक्षण गर्ने माध्यमका रूपमा समेत ग्रहण गरेका हुन्छन् ।
यतिखेर आम नेपालीमा देश हाँक्ने राजनीतिक दलप्रति विश्वास धर्मराएको छ, नेताका कुरामा पत्यार लाग्न छाडेको छ । सरकारको कार्यसम्पादनबारे खासै सन्तुष्टि देखिंदैन । र पनि, आम नेपाली देश गलत दिशामा गएको ठान्दैनन् ।
धेरै कुरा विस्तारै सुधार हुँदै जाने नेपाली आशा प्रतिबिम्बित यो जनमतको अर्थ हो– समय छँदै आफूलाई सिद्ध गर्ने मौका राजनीतिक नेतृत्वसामु बाँकी नै छ ।
आम नागरिकबाट व्यक्त भएको देशप्रतिको आशा–विश्वासमा टेकेर आफूप्रतिको असन्तुष्टिको खाडललाई राजनीतिक नेतृत्वले जति चाँडै पुर्न सक्छ, उसको भविष्य पनि नागरिक भरोसासँगै एकाकार हुनपुग्नेछ ।