क्रिकेट टोलीको जर्सीका लागि पाँच सय डिजाइन प्रतिस्पर्धामा
नेपाली राष्ट्रिय क्रिकेट (पुरुष) टोलीको जर्सीका लागि पाँच सय डिजाइन प्रतिस्पर्धामा रहेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले जर्सीका लागि खुला प्रतिस्पर्धाबाट डिजाइन मागेको छ। त्यसमा पाँच सय डिजाइन प्राप्त भएको क्यानले जनाएको छ।
खुला प्रतिस्पर्धाबाट प्राप्त भएका पाँच सय डिजाइनबाट छनोट गर्नका लागि चार सदस्यीय छनोट समिति गठन गरिएको छ। समितिमा क्यान केन्द्रीय सदस्य छुम्बी लामा, क्यानका जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र एक जना स्पोन्सर प्रतिनिधि रहने क्यानले जनाएको छ।
यो समितिले पाँच सय डिजाइनमध्ये ‘सर्टलिस्ट’ बनाउनेछ। समितिले बुझाएको सूचीमध्ये क्यानले नै जर्सी छनोट गर्ने जनाएको छ।
उत्कृष्ट डिजाइनलाई रू.१ लाख पुरस्कार राखिएको छ। डिजाइन बनाउँदा नेपाली राष्ट्रिय झण्डाको रङसँग मिल्ने, खेल परम्परालाई झल्काउने मापदण्ड तोकिएको छ।