ठाकुर पक्षले सोध्यो लुम्बिनीमा यादव पक्षका सांसदलाई स्पष्टीकरण
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले पनि लुम्बिनीका दुई जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
लुम्बिनी सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपाको ठाकुर पक्षले निर्देशन दिएको थियो। तर, अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद सहशराम यादव र पुर्मती ढेंगाले मत दिएका थिएनन्।
पार्टी निर्देशन उल्लंघन गरेको भन्दै यसअघि पाँच दिने स्पष्टीकरण सोधेको थियो। त्यसको जवाफ नदिएपछि २४ घण्टे स्पष्टीकरण सोधिएको उद्योग, वन तथा वातावरणमन्त्री समेत रहेकी जसपा नेत्री कल्पना पाण्डेले बताइन्। “आज २४ घण्टे स्पष्टीकरण सोधेका छौं। जवाफ नदिएमा पार्टीको विधान अनुसार कारबाही गर्छौं,” पाण्डेले भनिन्।
लुम्बिनी प्रदेशमा जसपाका ६ सांसद छन्। जसमध्ये चार जना पाण्डेसहित सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी मन्त्री छन्। उनीहरू अध्यक्ष ठाकुर पक्षका हुन्। अध्यक्ष ठाकुर पक्ष संघीय सरकारमा पनि सहभागी छ।
अर्का अध्यक्ष यादव पक्ष भने विपक्षमा छ। यादव पक्षले मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी चार जना सांसदलाई पनि स्पष्टीकरण सोधेको छ।