काठमाडौंमा फेरि निषेधाज्ञा थप्ने तयारी, झन् खुकुलो हुने
कोभिड-१९ नियन्त्रणका लागि डेढ महीनादेखि काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिने भएको छ। यसबारे निर्णय गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ।
केही दिनयता उपत्यकामा कोभिड–१९ को संक्रमण कम हुँदै गएको छ। संक्रमण नियन्त्रण हुन थालेपछि निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै लगिने भएको छ।
अझै पनि संक्रमणको जोखिम कायम रहेकाले निषेधाज्ञा थप्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। “पहिलेभन्दा संक्रमण कम त भएको छ, तर अझै जोखिम कायमै छ,” पराजुलीले भने, “केही दिन निषेधाज्ञा थपिन्छ। यो पटक अझ खुकुलो हुन्छ।”
१६ वैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा ७ असारमा सकिँदै छ। ८ असारबाट फेरि निषेधाज्ञा थप्न आज दिउँसो २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको हो।
अहिले खाद्यान्न, दूध, तरकारी, फलफूल तथा पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ। त्यस्तै, अत्यावश्यक सवारी साधन पनि चल्न दिइएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर विकास निर्माणका काम पनि भइरहेका छन्।
अब अन्य आर्थिक गतिविधि पनि सञ्चालन गर्न सकिने गरी निषेधाज्ञा खुकुलो बनाइने प्रजिअ पराजुलीले बताए। सीसीएमसी निर्देशक समितिले पनि निषेधाज्ञा खुकुलो बनाउन निर्देशन दिएको छ।
गृह मन्त्रालयका अनुसार, आइतबार बिहानसम्म ७५ जिल्लामा निषेधाज्ञा जारी रहेको छ। २५ जिल्लामा ७ असारमा सकिँदै छ।