सर्लाहीमा यसरी गरियो जल उत्पन्न प्रकोप उद्धार अभ्यास
सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरिएको छ।
प्रदेश–२ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिबार जल उत्पन्न प्रकोप संयुक्त उद्धार अभ्यासको आयोजना गरेको हो। अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनसेवा दलका उद्धारकर्मीको सहभागिता थियो।
संयुक्त उद्धार टोलीले कृत्रिम घटना बनाएर बाढी तथा डुबान परेको बेला गर्ने उद्धारको अभ्यास गरेको थियो। अभ्यासका क्रममा उनीहरूले डुबानमा परेको अवस्थामा कसरी उद्धार गर्ने, बाढीमा डुबेका शव गोताखोरको सहायताले कसरी निकाल्ने, कुनै घर तथा टापुमा फसेकालाई कसरी निकाल्ने जस्ता अभ्यास गरे।
त्यस्तै, घाइतेको प्राथमिक उपचार तथा थप उपचारसम्मको प्रक्रियालाई कसरी आपसी समन्वय र सहकार्यमा सम्पन्न गर्ने लगायतबारे अभ्यास गरिएको छ। अभ्यासका क्रममा नेपाल रेडक्रसको टोली पनि सहभागी थियो।
प्रदेश–२ मा तालिमप्राप्त गोताखोर भए पनि ‘डिप डाइभिङ इक्युप्मेन्ट’को अभाव रहेको अभ्यासका क्रममा बताइएको थियो। प्रदेश–२ बर्सेनि बाढी तथा डुबानको चपेटामा पर्ने गरेको छ। त्यसैले जनधनको क्षति कम गर्न कृत्रिम अभ्यास गरिएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का बताउँछन्।
होचो भू–भाग रहेकाले प्रदेश–२ बर्सेनि बाढी तथा डुबानको जोखिममा पर्ने गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए। “विपद्लाई रोक्न नसके पनि अभ्यास र सही व्यवस्थापनबाट क्षति कम गराउन सकिन्छ,” उनले भने, “जनधनको क्षति कम गर्न प्रदेश सरकार लागिरहेको छ।”