देउवाद्वारा पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा, आफूलाई सघाउन निधिको आग्रह
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आफू निकटस्थहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर देउवाले आगामी भदौमा हुने महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्। उनले शनिबार प्रदेश १ र प्रदेश २ का नेताहरूसँग छलफल गरेका छन्।
शनिबार मध्याह्न देउवा निवासमा भएको छलफलमा उपसभापति विमलेन्द्र निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी गराएका थिए। केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, जंगीलाल यादव र शम्भु श्रेष्ठ उपस्थित छलफलमा निधिले यसपटक सभापतिमा आफूलाई सघाउन देउवालाई आग्रह गरेका थिए। देउवालाई प्रधानमन्त्रीमा आफूले सहयोग गर्ने निधिको भनाइ थियो।
सभापति देउवाले भने पुनः एकपटक आफूलाई सघाउन भनेका थिए। निधि आफ्नो अडानमा यथावत् रहेपछि देउवाले ‘उम्मेदवारी दिने तपाईंको पनि अधिकार हो’ भनेको एक नेताले बताए।
त्यसअघि शनिबार नै प्रदेश १ का केन्द्रीय सदस्यहरूलाई पनि देउवाले आफू सभापतिमा उठ्न लागेको र त्यसका लागि सहयोग गर्न भनेका थिए। देउवा निकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले को–को उठ्ने भन्ने विषय आफ्नो पक्षका सबैलाई मिलाएर तय गर्नुपर्ने बताएका थिए। छलफलमा सहभागी मीन विश्वकर्मा र सीता गुरुङले पनि कार्कीको भनाइमा सहमति जनाएका थिए।
देउवा र निधिसँगै रामचन्द्र पौडेल, कृष्ण सिटौला, शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह लगायतले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्।
कांग्रेसको १४औं महाधिवेशन १६-१९ भदौमा काठमाडौं गर्ने तय गरिएको छ। अहिले क्रियाशील सदस्यता छानबिन थालिएको छ।