काठमाडौंभन्दा बाग्लुङमा थपिए धेरै संक्रमित
कोभिड-१९ को दोस्रो लहर चलेयता दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएको काठमाडौंलाई आज भने बाग्लुङले उछिनेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शनिबार काठमाडौंमा २०१ जनामा संक्रमण देखिएको छ भने बाग्लुङमा २२५ संक्रमित थपिएका छन्। शनिबार बाग्लुङमा २६५ र काठमाडौंमा ३९४ संक्रमित थपिएका थिए।
केही दिनयता बाग्लुङमा संक्रमित थपिने क्रम बढ्दै आएको छ। अहिले बाग्लुङमा ९८६ जना सक्रिय संक्रमित रहेका छन्।
बागलुङमा १ असारमा दुई जनामा संक्रमण देखिएको थियो। त्यसयता दैनिक बढ्दै गएको छ। २ असारमा ११४ जनामा, ३ असारमा २४२ जनामा र ४ असारमा २६२ जनामा संक्रमण पुष्टि भएको थियो। जेठ अन्तिम सातामा पनि दोहोरो अंकभन्दा बढी संक्रमित देखिएका थिएनन्।
बाग्लुङसँगै गण्डकी प्रदेशका अन्य जिल्लामा पनि संक्रमण बढ्दै गएको देखिएको छ। म्याग्दीमा ७०, कास्कीमा ६१ र नवलपरासी पूर्वमा ४० संक्रमित थपिएका छन्।
काठमाडौं उपत्यकामा भने संक्रमितको संख्या घट्दै गएको देखिएको छ। आज काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज पाँच जिल्ला मात्रै एक सयभन्दा बढी संक्रमित थपिएका छन्। जसमा बाग्लुङमा २२५, काठमाडौं २०१, मोरङमा १३०, सुनसरीमा ११० र झापामा १०४ जनामा संक्रमण देखिएको छ।
त्यस्तै, १० भन्दा बढी संक्रमित थपिएका जिल्ला २५ मात्रै छन्। १४ जिल्लामा एक–एक जनामा मात्रै संक्रमित थपिएका छन् भने दुई–दुई जना संक्रमित थपिएका जिल्ला ६ वटा रहेका छन्।
आज देशभर दुई हजार ४०१ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ। जसमध्ये पाँच लाख ५३ हजार ३४२ जना निको भइसकेका छन् भने आठ हजार ६७५ जनाले ज्यान गुमाएका छन्।