पहिरोले मर्स्याङ्दी नदी थुनियो, चामे बजार जोखिममा
पहिरोले मनाङको सदरमुकाम चामे भएर बग्ने मर्स्याङ्दी नदी थुनिएको छ। नदी थुनिँदा चामे बजार नै जोखिममा परेको छ।
चामे गाउँपालिका वडा नं. ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्ण रूपमा थुनिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामे बजार जाने ठूलो पुल नजिक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको छ।”
नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको उनले बताए। पानी निकास नभएकाले जोखिम बढेको उनको भनाइ छ। चामे बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।
माथिबाट झरेको पहिरो, ढुङ्गामाटो र काठदाउराले मर्स्याङ्दी नदी थुनिँदा ताल बनेको छ। थुनिएको भागबाट मर्स्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ। यसबाट चामेको पारिपट्टिको भाग डुबानमा परेको छ।
सिङ्गो चामे बजार जोखिममा छ। बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एक मात्र बेलीब्रिज समेत कटान गरेको छ। नदीमा बाढी बढ्दै गएकाले चामे बजार उच्च जोखिममा परेको उनले बताए।
नेपाली सेना मार्फत बम विस्फोट गराई मर्स्याङ्दी खुलाउने तयारी गरिरहेको बताए। तर, पानी परिरहेकाले कठिनाइ भइरहेको उनको भनाइ छ। सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको छ।
लगातारको वर्षात्ले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए। चामे क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। (रासस)