यी हुन् ‘ह्यान्ड रोल्ड सिगरेट’ का नेपाली कलाकार विपिन कर्मा
हङकङका चर्चित कलाकार गोर्डेन लामसँग स्क्रिन शेयर गरेका विपिन कर्माले पहिलो फिल्ममै उम्दा अभिनय गरेका छन्।
अहिले हङकङको फिल्म क्षेत्रमा नेपाली युवा विपिन कर्मा (२४) चर्चामा छन्। उनको प्रमुख भूमिका रहेको चिनियाँ फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’को प्रदर्शन शुरू भएसँगै नेपाली समुदाय हलसम्म पुगिरहेका छन्।
चान किङ लङद्वारा निर्देशित क्यान्टोनिज भाषाको यो फिल्मका दुई प्रमुख पात्रमध्ये एउटाको भूमिकामा विपिन छन्। फिल्ममा दक्षिण एसियाली पात्र मणिको भूमिकामा उनको अभिनय उम्दा छ।
पहिलो फिल्ममै हङकङका चर्चित कलाकार गोर्डेन लामसँग स्क्रिन शेयर गरेका उनी फिल्म प्रदर्शनमा आएसँगै सञ्चारमाध्यममा अन्तर्वार्ता दिन व्यस्त छन्। फिल्म प्रदर्शनमा आउनुअघि नै उनको चर्चा शुरू भइसकेको थियो।
सार्वजनिक प्रदर्शन हुनु अगावै १७औं हङकङ एसिया फिल्म फेस्टिभलको शुरूआत र गोल्डेन हर्स फिल्म फेस्टिभलको अन्त्य उनकै फिल्मबाट गरिएको थियो। त्यस्तै, हङकङ, ताइवान र सिंगापुरमा प्रिमियरपछि १७ जुनबाट सार्वजनिक प्रदर्शनमा आएको हो।
१५ जुनमा इलिमेन्ट्स थिएटरमा सम्पन्न गाला प्रिमियरमा मिडियाको भीडबीच विपिन छातीमाथि कोटमा नेपालको झण्डाको प्रतीक चिह्नसहित प्रस्तुत भए। त्यो उनको नेपालसँगको लगाव थियो। हङकङमा जन्मे–हुर्केका विपिनले बाल्यकालका आठ वर्ष नेपालमा बिताएका थिए। प्रारम्भिक शिक्षा नेपालमै पढेका उनी मजाले नेपाली बोल्छन्।
यो फिल्ममा उनले क्यान्टोनिजसँगै हिन्दी भाषा पनि राम्ररी बोलेका छन्। “फिल्ममा हिन्दी र चिनियाँ भाषा बोल्नुपर्ने भएकाले पनि शुरूआतमा गाह्रो लागेको थियो,” विपिनले भने। सन् २०१९ मा फिल्मको प्रस्ताव आउँदा ‘गर्न सक्दिनँ होला’ जस्तो लागे पनि पछि आँट गरेको उनी बताउँछन्।
हङकङमा स्कूल पढ्दै गर्दा उनी भिडियोग्राफी र सर्ट फिल्म बनाउनतिर आकर्षित भएका थिए। स्कूलमा गैर–चिनियाँ नागरिकलाई लघु फिल्म बनाउन दिने एउटा अभियानमा सहभागी भएपछि फिल्मतिर आकर्षित भएको उनी बताउँछन्। त्यतिबेला ‘अभिनय नै गर्छु’ भन्ने नलागेको उनी सुनाउँछन्। “फिल्मको अरू विधामा संलग्न हुन्छु भन्ने थियो, तर यो फिल्ममा अफर आयो। कथा पनि मन परेकाले काम गरें,” उनले भने।
यो फिल्ममा अभिनय गर्नुअघि पार्करको भिडियो इन्टरनेटमा राख्ने विपिनसँग पार्करकै केही विज्ञापनमा काम गरेको अनुभव थियो। पार्करप्रतिको उनको लगाव पनि फिल्मका लागि सहयोगी बन्यो। विश्वविद्यालयको फिल्म फेस्टिभलका लागि बनाइएको फिल्ममा गरेको अभिनय र पार्करप्रतिको लगाव देखेर निर्देशकले उनलाई प्रस्ताव गरेका थिए। पार्करमा जस्तै फिल्ममा पनि सडकमा दौडने र घरको झ्यालबाट फाल हानेको देख्न पाइन्छ।
विपिनले पाएको यो अवसर हङकङको कला क्षेत्रमा नेपालीले पाएको ठूलो सफलता भएकाले पनि स्थानीय नेपाली समुदायमा खुशी छाएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपालीलाई फिल्म हेर्न सार्वजनिक आह्वान नै गरेको छ।
अध्यक्ष टीका गुरुङ (राधिका) यहाँको मूलधारको फिल्ममा पहिलो पटक प्रमुख भूमिकामा नेपाली देखिनुले अरूका लागि पनि अवसरको ढोका खुलेको बताउँछिन्। “यो विपिनको मात्र होइन, सम्पूर्ण नेपालीका लागि खुशीको कुरा हो। त्यसैले फिल्म हेर्न सबैलाई अनुरोध गरेका छौं,” उनी भन्छिन्।
नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेम हङकङको फिल्म क्षेत्रमा विपिनको प्रवेशले यहाँका नेपाली युवामा नयाँ तरङ्ग सिर्जना गरेको बताउँछन्। उनी भन्छन्, “विपिनले पाएको अवसरले अरूलाई त आकर्षित गरेको छ नै, यहाँको चिनियाँ समुदायमा पनि नेपाली हरेक कुरामा अब्बल छन् भन्ने देखाएको छ।”
विपिनका बुबा डिल्ली विश्वकर्मा छोराको कामले हङकङमा नेपालीको नाक उँचो राखेकामा गर्व लागेको बताउँछन्। उनी भन्छन्, “शुरूआतमै ठूलो अवसर पाएको छ। उसको काम हेरेर सबै नेपालीले प्रतिक्रिया र हौसला दिए, भोलिका दिनमा अझ राम्रो गर्नेछ भन्ने लागेको छ।”
१०१ मिनेट लामो फिल्ममा सन् १९९७ अघि ब्रिटिश कालमा सेनामा रहेका अवकाशप्राप्त पूर्वसैनिक, दक्षिण एसियाली युवक र हङकङको अन्डरवर्ल्ड/ड्रग माफियाको कथा समेटिएको छ। कमजोर आर्थिक अवस्था, बेरोजगारी र संगतका कारण गलत बाटोमा पुगेका भूपूसैनिक र गैरचिनियाँ युवाको जम्काभेट र त्यसले सिर्जना गरेको परिवेशको कथा मन छुने छ। त्यसैले पनि होला, फिल्मले गैरचिनियाँ दर्शकलाई पनि हलसम्म तानिरहेको छ।
पहिलो फिल्ममै महत्त्वपूर्ण भूमिका पाउनुलाई ‘लक्की’ मान्छन् विपिन। उनलाई पनि लागेको छ यो अवसरले धेरै सम्भावनाको ढोका खोलेको छ। पहिलो फिल्ममा उनले गरेको कामको प्रशंसा पनि भइरहेको छ। उनी भन्छन्, “अबका दिन अझ मिहिनेत गर्नेछु।”