स्वीट्जरल्यान्डको अदालतद्वारा लाइबेरियाका विद्रोही कमान्डरलाई ‘युद्ध अपराध’मा २० वर्ष जेल सजाय
स्वीट्जरल्यान्डको एक अदालतले शुक्रबार पश्चिम अफ्रिकी देश लाइबेरियामा भएको गृहयुद्धमा विद्रोही कमान्डरलाई बलात्कार तथा हत्या जस्ता ‘युद्ध अपराध’मा २० वर्षको जेल सजाय सुनाएको छ।
स्वीट्जरल्यान्डको ‘नागरिक अदालत’ ले सुनुवाइ गरेको यो नै पहिलो युद्ध अपराध सम्बन्धी मु्द्दा हो। ४६ वर्षीय अलीउ कोसिया सन् १९९० को दशकमा लाइबेरियामा भएको गृहयुद्धमा पूर्वराष्ट्रपति चार्ल्स टेलरको सेनाको कमान्डरका रूपमा सक्रिय थिए।
सन् १९८९ देखि २००३ सम्म चलेको गृहयुद्धमा हजारौं बाल सैनिक संलग्न गराइएको थियो। त्यसक्रममा भएका ‘युद्ध अपराध’मा संलग्नमाथि मुद्दा चलाउन परिरहेको निरन्तरको दबाबलाई लाइबेरियाले निरन्तर उपेक्षा गर्दै आएको थियो।
पूर्वराष्ट्रपति टेलरलाई सन् २०१२ मा युद्ध अपराधमा सजाय सुनाइएको थियो, तर त्यस्तो सजाय लाइबेरियामा भएको ‘अपराध’का लागि थिएन। छिमेकी देश सिरियालियोनका लागि भएको ‘अपराध’मा उनलाई दोषी पाइएको थियो। उनका छोरालाई सन् २००९ मा अमेरिकी अदालतले लाइबेरियामा यातना दिएको अभियोगमा दोषी ठहर्याउँदै जेल सजाय सुनाएको थियो।
स्वीट्जरल्यान्डमा स्थायी रूपमा बसोबास गर्दै आएका अलीउ कोसिया सन् २०१४ मा पक्राउ परेका थिए। सन् २०११ मा बनाइएको एक कानूनले संसारका जुनसुकै ठाउँमा भएका ‘यद्ध अपराध’मा पनि विश्वव्यापी क्षेत्राधिकार अनुसार स्वीट्जरल्यान्डमा मुद्दा चलाउन सकिने व्यवस्था गरेको थियो।
स्वीट्जरल्यान्डको संघीय अदालतले अलीउविरुद्ध युद्धमा बाल सैनिक भर्ना गरेको तथा हत्या गरिएका व्यक्तिको मुटुको टुक्रा खाएको लगायतका आरोपमाथि सुनवाइ गरेको थियो। अलीउले आफू उक्त समय घटनास्थलमा नरहेको भन्दै आरोप अस्वीकार गरेका थिए।
लाइबेरियाका १५ जनाले स्वीट्जरल्यान्ड पुगेर अदालतमा बयान दिएका थिए। लाइबेरियाको सत्य निरुपण तथा मेलमिलाप आयोगले युद्धका समयमा भएका घटनाको अभियोजन गर्नका लागि छुट्टै अदालत गठन गर्न सिफारिश गरेको थियो। तर, त्यस्तो अदालत गठनको प्रक्रिया भने कहिल्यै शुरू भएन।