ढुंगा, गिटी निकासी गर्ने सरकारी तयारीमा सर्वोच्चद्वारा रोक, अन्तरिम आदेश जारी
ढुंगा, गिटी, बालुवा निकासी गर्ने सरकारी तयारीमा सर्वोच्च अदालतले रोक लगाएको छ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिटी, बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले ढुंगागिटी, बालुवा निकासीमा अन्तरिम आदेश मार्फत रोक लगाएको हो।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने घोषणा गरेकाे थियो। त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्वेडर, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, हरिराम वलजू, अतिस कार्की र विक्रम नगरकोटीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
उनीहरूले रिटमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न र नराउन अन्तिरिम आदेश माग गरेका थिए। यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियाे।