हिमाली क्षेत्रमा मनसुनी वर्षा : जोखिममा हिमाली बस्ती
उच्च स्थानमा यस वर्ष मनसुनी वर्षा हुनु नेपालका लागि नयाँ घटना हुँदै हो, यसले हिमाली जिल्लामा क्षतिको जोखिम पनि बढाएको छ।
यस वर्षको मनसुन २८ जेठ (११ जून) बाट नेपाल प्रवेश गरेको हो। मनसुन शुरू भएको एक सातामै बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ र मुस्ताङमा धेरै क्षति गरेको छ। यी तीन जिल्लामा भएको अनपेक्षित वर्षा र त्यसले निम्त्याएको विपद्ले नेपालको हिमाली भेगमा खतराको घण्टी बजाएको विज्ञहरू बताउँछन्।
जलवायु विज्ञ ङमिन्द्र दाहाल नेपालमा यस वर्षको मनसुन प्रवेश विगतभन्दा फरक ढंगले भएको र त्यसले हिमाली जिल्लामा बढी वर्षा भएको बताउँछन्। “यस वर्ष मनसुनको प्रवेश नै उच्च हिमाली भेगमा भएको छ। यसपालि मनसुन मध्य पहाडी क्षेत्रभन्दा पनि माथि गयो,” दाहाल भन्छन्, “यस्तो घटना नेपालको लागि सम्भवतः पहिलो हो।”
दाहालले भने झैं यस वर्षको मनसुनको शुरूआती अवस्था हेर्दा अनपेक्षित देखिन्छ। किनभने, मनाङ र मुस्ताङमा ठूलो वर्षा भएको छ। जब कि ती जिल्लालाई पानी नपर्ने जिल्लाका रूपमा लिइन्थ्यो। तर, पछिल्ला वर्षहरूमा ती जिल्लामा मनसुनमा पानी पर्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकले पनि मनसुनको शुरूआत हिमालबाट भएको देखाउँछ। मनाङको हुम्देस्थित वर्षा मापन केन्द्रमा रेकर्ड गरिएको पछिल्लो ६ वर्षको तथ्यांकका आधारमा हुम्देमा वार्षिक सरदर ३७५ मिलिमिटर वर्षा हुने गर्छ। प्रि–मनसुनमा १३५ र मनसुनमा २३४ मिलिमिटर वर्षालाई सरदर वर्षा मानिए पनि हुम्देमा यसपालि झन्डै दोब्बर वर्षा भएको छ।
जस्तो, यस वर्षको प्रि–मनसुनमा त्यहाँ २३२ मिलिमिटर वर्षा भएको छ। मे महीनामा २४ मिलिमिटरलाई सरदर वर्षा मानिने गरेकोमा यस वर्ष १६६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, जून महीनाको सरदर वर्षाको स्थिति ४२ मिलिमिटर हो। तर, यस वर्ष १६ जूनसम्म १९७ मिलिमिटर वर्षा भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेल हुम्देमा रेकर्ड भएको वर्षा त्यो स्थानका लागि धेरै भएको बताउँछिन्।
त्यसैगरी, मुस्ताङमा पनि सरदरभन्दा बढी वर्षा भएको तथ्यांकले देखाउँछ। विभागका अनुसार, सन् १९९१–२०२० सम्मको तथ्यांकका आधारमा जोमसोमको वार्षिक सरदर वर्षा २८९ मिलिमिटर हो। प्रि–मनसुनमा ७० र मनसुनमा १६० मिलिमिटरलाई सरदर वर्षा मानिएकोमा यस वर्षको प्रि–मनसुनमा १६० मिलिमिटर वर्षा भएको छ। त्यस्तै, मनसुनको १६ जूनसम्म १०२ मिलिमिटर वर्षा भएको छ।
जोमसोममा मे महीनाको सरदर वर्षाको स्थिति १९ रहेकोमा यस वर्ष ८९ मिलिमिटर वर्षा भइसकेको छ। यस्तै, जून महीनामा ३२ मिलिमिटरलाई सरदर वर्षा मानिएकोमा १५ दिनमै १०२ मिलिमिटर वर्षा भइसकेको छ।
किन भयो यस्तो?
कम वर्षा हुने मनाङ र मुस्ताङमा सरदरभन्दा धेरै वर्षा हुनु अस्वाभाविक हो। जलवायु विज्ञ ङमिन्द्र दाहाल तापक्रम वृद्धिले बादल उचालिएर माथि पुगेको र हिमालभन्दा माथिबाट गएको मनसुनी बादलले नै उच्च स्थानमा वर्षा गराएको बताउँछन्।
“पहिला बादल त्यो उचाइमा जाँदैनथ्यो। अहिले तापक्रम वृद्धिका कारण बादल माथिल्लो भेगतिर जान थालेकाले ती स्थानमा पानी परेको हो,” दाहाल भन्छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा वार्षिक ०.०५६ डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ। सन् १९७१ देखि २०१४ सम्म नेपालको तापक्रम १.६८ डिग्री सेल्सियसले वृद्धि भएको छ।
हिमालमा वर्षाको दर वृद्धि हुनुले जटिलता निम्त्याउने त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका उप–प्राध्यापक वसन्त अधिकारी बताउँछन्। कालीगण्डकी उपत्यकाको उत्पत्तिबारे अध्ययन गरेका अधिकारी भन्छन् “मुस्ताङको माटोले त वर्षालाई थेग्नै सक्दैन। सानो पानीले पनि बगाउँछ।” अर्थात् मनसुनी वर्षा हिमाली भेगमा उक्लिनुले हिमाली बस्ती बग्ने जोखिम निकै बढाएको छ।
जलवायु विज्ञ दाहाल हिमालमा पानी पर्दा नदी तथा खोलाहरूले तल्लो तटमा झन् धेरै क्षति गर्ने बताउँछन्।
“हिमाली भेगमा थोरै पानीले पनि ठूलो भल र पहिरो सिर्जना गर्छ, जसले तल्लो भेगमा धेरै पानी नपरे पनि दबाब पैदा गर्छ र १० गुणा शक्तिशाली बाढी आउँछ,” दाहाल भन्छन्, “ग्राभिटी फोर्सका कारण तलका खोलाहरूले बढी क्षति गर्छन्।”
हिमाली क्षेत्रमा बढेको वर्षाको दरले त्यहाँको संस्कृति र सभ्यता नै नष्ट गर्ने जोखिम बढाएको छ। हिमाली भागमा माटोको छाना भएका घर बनाउने लामो परम्परा र सभ्यता नै हो। घर माटोले छाउनुको कारण हो– मनसुनमा त्यहाँ पानी नै पर्दैनथ्यो। हिउँदमा हिमपात भने हुन्थ्यो। हिउँ जम्मा गरेर त्यसलाई पानीका रूपमा प्रयोग गर्न त्यस्ता घरहरू झन् उपयोगी हुन्थे। तर, हिमाली क्षेत्रमा वर्षा हुने दर बढेपछि अब त्यस क्षेत्रमा माटोको छाना भएका घरहरू देख्न नपाइने अवस्था छ।
“माटोका घरहरूले पानी थेग्न सक्दैनन्। त्यसैले अब त्यस्ता घर हराउने जोखिम छ,” दाहाल भन्छन्।