ग्लोबल आइएमई ब्यांकको ‘अवकाश मुद्दती खाता’, २ लाखसम्म कर्जा पाइने
ग्लोबल आइएमई ब्यांक लिमिटेडले अवकाशप्राप्त कर्मचारीलाई लक्षित गरी ‘ग्लोबल समृद्ध अवकाश मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ।
यस खाता अन्तर्गत ब्यांकले आफ्ना ग्राहकलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्तिविशेष सेवा उपलब्ध गराउने जनाएको छ।
यो खातामा निवृत्तिभरण पाइरहेका व्यक्तिले नियमित बचत गर्दै जान सक्नेछन्। यस अन्तर्गत स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी वा कर्जा सुविधाको व्यवस्था समेत गरिएको छ।
खातावालाले १ देखि ५ वर्षसम्मको अवधि राखी इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न पाइनेछ। यसबाट आउने ब्याज लगायत थप रकम समेत (म्याद पुग्न ३ महीना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ। यसरी थप गरेको रकममा समेत शुरूमा तोकेकै ब्याज प्राप्त हुनेछ।
रकम आवश्यक परेमा तत्काल मोबाइल ब्यांकिङ मार्फत निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा २ लाखसम्म कर्जा पनि लिन सकिने ब्यांकले जनाएको छ।
निक्षेपकर्ता अशक्त भएमा इच्छ्याइएको व्यक्तिले समेत खाता सञ्चालन गर्न पाउनेछन्। यसका साथै निःशुल्क मोबाइल ब्यांकिङ, क्रेडिट वा डेबिट कार्ड र १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा उपलब्ध गराउने ब्यांकको भनाइ छ।