निर्वाचन आयोगका पदाधिकारीलाई थप सुविधा र भत्ता दिने सरकारको निर्णय
सरकारले निर्वाचन आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरूलाई थप सुविधा र भत्ता दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले निर्वाचन आयोगका पदाधिकारीलाई निर्वाचनको अवधिमा आयोगका कर्मचारीले पाएको सरह थप सुविधा तथा भत्ता दिने निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो।
अर्थ मन्त्रालयले स्वीकृति दिएपछि सुविधा तथा भत्ता बढाउने विषय अघि बढेको थियो। आयोगले निर्माण गरिरहेको आर्थिक कार्यविधि अनुसार सुविधा तथा भत्ता दिइनेछ।
आयोगका कर्मचारीले निर्वाचनको अवधिमा १२० दिन (चार महीना)को थप सुविधा र भत्ता पाउँछन्। सोही बमोजिम निर्वाचन आयोगका पदाधिकारीले पनि कर्मचारीले पाए सरह सुविधा पाउनेछन्।
तर, कर्मचारीले यस्तो सुविधा कति पाउने भन्ने अझै प्रष्ट नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उनले निर्वाचनका बेला थप समय काम गर्नुपर्ने भएकाले भत्ता र थप सुविधा दिनु आवश्यक भएको बताए।
२०७४ सालको निर्वाचनमा आयोगका कर्मचारीले १२१ प्रतिशत भत्ता र अन्य सुविधा लिएका थिए। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्त ईश्वरीप्रसाद पौड्याल नेपाल सरकारका पूर्वकर्मचारी हुन्। उनीहरूले नेपाल सरकारबाट पेन्सन सुविधा पनि पाउँछन्।