देशभर ८ असारबाट निषेधाज्ञा खुकुलो बनाउने तयारी
कोभिड-१९ को संक्रमण नियन्त्रण गर्न डेढ महीनादेखि देशभर लागू निषेधाज्ञालाई ८ असारबाट खुकुलो बनाउने तयारी गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अर्को साताबाट निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो। संक्रमणको जोखिम रोक्नेसँगै अत्यावश्यक वस्तुको उत्पादन र आपूर्तिलाई सहज बनाउने गरी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको सीसीएमसीले जनाएको छ।
काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी छ। त्यस्तै, देशका ७५ जिल्लामा निषेधाज्ञा लागू रहेको गृह मन्त्रालयले जनाएको छ। धेरैजसो जिल्लामा ७ असारसम्म निषेधाज्ञा थपिएको छ। केही जिल्लामा १० असारसम्म लागू गर्ने आदेश दिएको छ।
सीसीएमसीले अब सबै जिल्लामा खुकुलो बनाउँदै लग्ने निर्णय गरेको हो। यसका लागि यो साताको अवस्था मूल्यांकन गरिने भएको छ। त्यही मूल्यांकनका आधारमा अर्को सातादेखि दैनिक स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरी केही क्षेत्र खुला गर्ने सीसीएमसीको निष्कर्ष रहेको छ।
सीसीएमसीको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संक्रमणको जोखिम नहुने हदसम्म निषेधाज्ञा खुकुलो बनाउनुपर्ने बताए। निषेधाज्ञा खुकुलो बनाउँदै लगे पनि स्वास्थ्य मापदण्ड पालना गराउन भने कडाइ गर्नुपर्ने उनको भनाइ थियो।
सीसीएमसीको बैठकले गैरआवासीय नेपालीले पठाउने अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने निर्णय पनि गरेको छ। यससँगै इजरायल सरकारले सहयोग गर्न लागेको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय गरेको छ।
कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?