कर बुझाउनलाई सरकारले दियो २५ असारसम्मको म्याद
आन्तरिक राजस्व विभागले २५ असारसम्म कर बुझाउन करदातालाई सूचना जारी गरेको छ।
सर्वोच्च अदालतले मंगलबार सरकारलाई कर उठाउने बाटो खोलिदिएसँगै विभागले बुधबार सूचना जारी गरेर कर विवरण तथा कर दाखिला गर्ने म्याद तोकेको हो।
विभागले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर विवरण तथा कर दाखिला गर्ने म्याद तोकेको जनाएको छ। यो दफामा कर बुझाउने प्रक्रिया सरलीकरण गर्नसक्ने व्यवस्था उल्लेख छ। दफामा अर्थ मन्त्रालयले आवश्यकता अनुसार कर विवरण तथा कर दाखिला गर्ने अवधि थप गर्न, प्रक्रिया सरलीकरण गर्न वा कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकुवा गर्नसक्ने व्यवस्था छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै कर उठाउने बाटो खोलिदिएको थियो। निषेधाज्ञा खुलेको ३० दिनसम्म कर नउठाउन भनी दिएको अन्तरिम आदेश खारेजसँगै सर्वोच्चले अर्थ मन्त्रालयलाई नै समय तोकेर कर उठाउन भनेको थियो।
अर्थ मन्त्रालयले बुधबार निर्णय गरे अनुसार विभागले सूचना जारी गरेको हो। सूचना अनुसार, गत चैत र वैशाख महीनाको मूल्य अभिवृद्धि कर (भ्याट) विवरण, अन्त:शुल्क विवरण र कर तथा शिक्षा, टेलिफोन र दूरसञ्चार स्वामित्व शुल्क २५ असारसम्ममा बुझाउनुपर्नेछ।