‘संरक्षणमा लागेकै कारण दाइ मारिनुभो, तर हाम्रो दु:ख कसैले देखेन'
धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलीप महतो (ओमप्रकाश)को स्थानीय क्रसर उद्योग चुरियामाई बालुवा प्रशोधन उद्योग परिसरमा २५ पुस २०७६ मा हत्या भयो। मिथिला नगरपालिका-५ स्थित औरही खोलामा गिट्टी–बालुवाको अवैध उत्खननको विरोध गर्दै आएका उनको स्थानीय क्रसर व्यवसायी लगायतले कुटपिट गरी टिप्परले किचेर हत्या गरेका थिए। उक्त घटनाबारे दिलीपकी बहिनी संगमकुमारी महतोसँग गरिएको कुराकानीको संक्षेप:
मेरो दाइ (दिलीप महतो) कक्षा १० मा पढ्दादेखि नै चुरे संरक्षण अभियानमा लाग्नुभएको थियो। चुरे क्षेत्रमा काम गर्ने मानिसहरूसँगको छलफल र अन्तरक्रियापछि उहाँ यो अभियानमा जोडिनुभएको हो। दाइले नदीजन्य पदार्थको जथाभावी दोहनविरुद्ध पनि पहिलेदेखि नै जनचेतना जगाउने काम गर्नुभएको थियो।
पछिल्लो समय दाइ भारतको भोपालमा बसेर मेकानिकल इन्जिनियरिङ पढ्दै हुनुहुन्थ्यो। चौथो सेमेस्टरको परीक्षा दिएपछि अंग्रेजी नयाँ वर्षको छुट्टीमा घर आउनुभएको थियो। घरमा आएको आठौं दिनमा उहाँको हत्या भयो।
२५ पुस २०७६ को बिहान करीब साढे ३ बजेतिरको कुरा हो, दाइलाई बोलाउन कोही मानिस घरमा आएछ। दाइ जानुभयो। यसबारे हामीलाई थाहा नभएकाले हाम्रो अनुमान मात्र हो। किनभने, दाइ घरबाहिर निस्किँदा सधैं मोटरसाइकल लिएर जानुहुन्थ्यो र आवाजले थाहा हुन्थ्यो। त्यस दिन मोटरसाइकल नलिई जानुभएको थियो।
अरू मानिसको भनाइमा, वडाध्यक्ष श्यामबहादुर यादव, रोशन यादवसहित तीन जना भएर जानुभएको थियो। तीमध्ये वडाध्यक्ष बाटोबाटै फर्किए। मेरो दाइ र रोहन यादव सँगै गएछन्। खोलामा के के भयो, थाहा भएन। तर, दाइलाई क्रसरमा लगेर हत्या गरियो। हत्या गर्नुअघि कुटपिट गरेको देखिन्छ।
दाइको हत्या भएको खबर पाएपछि हामी क्रसरमा जाँदा दाइलाई नराम्ररी कुटपिट गरेका संकेतहरू प्रशस्त देख्यौं। त्यहाँ नयाँ कुर्सी भाँचिएको थियो। मासु पकाएर रक्सी खाएको पनि भेटाएका थियौं। आगो बालेको ठाउँ नजिक फलामको डन्डी थियो। घडी भाँचिएको थियो।
आर्थिक समस्याले सतायो
हाम्रो परिवारको आशा र भरोसा नै दाइ हुनुहुन्थ्यो। बाबाले ऋणधन गरेर पढाउनुभएको थियो। घरमा कुनै आम्दानीको स्रोत थिएन र छैन। दाइले पढाइ पूरा गरेपछि जागीर गरेर ऋण तिर्ने र परिवार पाल्ने कुरामा बाबा–आमा आशावादी हुनुहुन्थ्यो। तर, दाइको हत्याले हाम्रो परिवारमा शोकसँगै झन् आर्थिक समस्या थपियो।
बाबा रोगी हुनुहुन्छ। औषधि नियमित खाइरहनुपर्छ। तर, अहिले औषधि खान पनि पैसा पुग्दैन।
म स्नातक सकेर बसेकी छु। मैले जागीर पाएँ भने परिवारमा भाइबहिनी पढाउन र बाबाको औषधोपचारमा केही भरथेग हुन्थ्यो। तर, जागिर त चिनजानका आधारमा पाइने रहेछ।
दाइ बितेपछि सान्त्वना र हौसला दिन घरमा धेरै मानिस आए, तर त्यसपछि कसैले पनि परिवारको अवस्था के–कसो छ भनेर चासो राखेनन्। मेरो दाइ व्यक्तिगत स्वार्थको काम गर्दा मारिएको त होइन नि। देशको प्राकृतिक सम्पदा जोगाउन संरक्षणको कुरा गर्दागर्दै मारिनुभएको हो। तर, त्यो कुरा मानिसले नसोच्दा रहेछन्।
हाम्रो ठूलो अपेक्षा पनि होइन। कमसेकम मेरो शैक्षिक योग्यता अनुसारको रोजगारी पाएँ भने केही राहत हुने कुराले यो कुरा गरेकी हुँ।
अहिले पनि दाइको मुद्दा फिर्ता लिन भनेर विभिन्न ठाउँबाट दबाब आइरहेका छन्। मुद्दा फिर्ता लिँदा पैसा दिने भनेर प्रलोभन पनि देखाउँछन्। तर, जस्तोसुकै कठिनाइ परे पनि हामी मुद्दा फिर्ता लिने कल्पना पनि गर्दैनौं।
दोषीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। अहिले पनि हामीलाई अनुसन्धानमा केही आशंका छ। हत्याराले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन।