नेपाल एसियन कप छनोटको अन्तिम चरणमा, प्लेअफ खेल्नुनपर्ने
नेपाल सन् २०२३ मा हुने एसियन कप छनोटको अन्तिम चरणमा प्रवेश गरेको छ। अब प्लेअफ खेल्नुनपर्ने भएको छ।
गत साता कुवेतमा सम्पन्न फिफा विश्वकप तथा एसियन कप छनोट प्रतियोगितामा चाइनिज ताइपेईलाई पराजित गरेसँगै नेपाल एसियन कप छनोटको अन्तिम चरणमा प्रवेश गरेको हो। नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। यसअघि सन् २०१६ मा पनि नेपालले एफसी सोलिडारिटी कप जितेर अन्तिम चरणमा प्रवेश गरेको थियो।
बुधबार एएफसीले सार्वजनिक गरेको तालिका अनुसार, १३ टीम एसियन कपका लागि छनोट भएका छन्। जसमा सिरिया, अस्ट्रेलिया, इरान, साउदी अरब, कतार, जापान, यूएई, दक्षिण कोरिया, चीन, ओमान, इराक, भियतनाम र लेबनान रहेका छन्।
एसियन कपमा २४ टीमले प्रतिस्पर्धा गर्नेछन्। जसमा १३ टीम छनोट भएका हुन् भने बाँकी ११ टीमका लागि २४ देशले प्रतिस्पर्धा गर्ने भएका छन्।
एसियन कप छनोटको अन्तिम टीममा तिनै २४ टीमले प्रतिस्पर्धा गर्नेछन्। जसमध्ये नेपालसहित २२ टीम छनोट भएका छन्।
छनोटको अन्तिम चरणमा प्रवेश गरेको देशमा नेपालसँगै ताजकिस्तान, उज्वेकिस्तान, कुवेत, फिलिपिन्स, जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, किर्गिज, मलेसिया, तुर्कमेनिस्तान, माल्दिभ्स, हङकङ, सिंगापुर, अफगानिस्तान, मंगोलिया, थाइल्यान्ड, श्रीलंका, यमन र बंगलादेश रहेका छन्।
एसियन कपका लागि चार टीमले प्लेअफ खेल्नुपर्नेछ। इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेई र ग्वामध्ये उत्कृष्ट दुई टीम अन्तिम चरणको छनोटमा प्रवेश पाउनेछन्।
प्लेअफबाट आएका दुई टीम र यसअघि अन्तिम चरणमा प्रवेश गरेका २२ सहित २४ टीमलाई ६ समूहमा विभाजन गरिनेछ। समूह विजेता टीम सीधै एसियन कपका लागि छनोट हुनेछन्। त्यस्तै, उपविजेता ६ टीममध्ये शीर्षस्थानमा रहेका पाँच टीम पनि एसियन कपका लागि छनोट हुनेछन्।