शिवराज नगरपालिकालाई अशोक लेल्यान्डको दमकल हस्तान्तरण
आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेल्यान्डले कपिलवस्तुको शिवराज नगरपालिकालाई दमकल हस्तान्तरण गरेको छ।
उक्त दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो।
शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले सुविधा सम्पन्न दमकल खरीद गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नगरवासीको जीउधनको रक्षा र क्षतिको रोकथाममा उपयोगी हुने बताए।
अशोक लेल्यान्डको १२१२ इकमेट मोडलको च्यासिसमा बनाइएको दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता छ। यसमा ५०० लिटर फोम भर्न सकिन्छ।
बाँसगढी, चन्द्रागिरि, उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिकाले अशोक लेल्यान्डको दमकल प्रयोग गर्दै आएका छन्।
त्यस्तै, नेपाल आयल निगम लिमिटेड र प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले समेत अशोक लेल्यान्डको दमकल प्रयोग गर्न थालेको कम्पनीले जनाएको छ।