यसरी गरिन्छ ६ सय वर्षदेखि पानीकाे मुहान सफाइ (तस्वीरहरू)
भक्तपुरमा आज सिथि नख: अर्थात् पानीकाे मुहान सफाइ गर्ने दिन वरपरका पोखरी, इनार, कुवा, ल्वँ हिटी सफा गरेर मनाइँदै छ। यो क्रम ६ सय वर्षदेखि चलिरहेको छ।
मनसुन आगमनको पूर्व संकेतका रूपमा सिथि नख: मनाउने गरिएको स्थानीय जीआर रञ्जित बताउँछन्। “यो लिच्छविकालबाट चल्दै आएको परम्परा हो,” उनी भन्छन्।
मनसुन आगमनसँगै पानीका मुहानहरू जस्तै इनार, कुवा, ल्वँ हिटी, पोखरी आदि परिसरको सरसफाइ गर्ने चलन छ। आजको दिन इनारको सबै पानी निकालेर चार दिनसम्म कसैलाई पानी निकाल्न दिइँदैन। यस पर्वलाई सरसफाइ गर्ने पर्वका रूपमा पनि लिने गरिन्छ। “राजा यक्ष मल्लले आजको दिन सम्पूर्ण पानीको मुहानहरू सफा गर्न उर्दी जारी गरेका थिए पनि भनिन्छ,” रञ्जित भन्छन्।
आजको दिनलाई ‘व’ खाने दिनका रूपमा पनि लिइन्छ। आजकै दिन शिव र पार्वतीका पुत्र कुमारको जन्म भएको मानिन्छ। नेवार समुदायमा घर अगाडि रहेको कुमार (पेखलकु/पेखालाकि) को पूजा गरी सम्मेबजी खाने चलन रहेको छ। सम्मेबजीमा कुमारको प्रसाद भनेर ‘व’ (एक प्रकारको विशेष रोटी) र चतमरी अनिवार्य रूपमा खाने गरिन्छ।
यही अवसरमा आज भक्तपुरमा पोखरी, इनार, कुवा, ल्वँ हिटी सफा गरिएको छ। यसरी हरेक वर्ष आजकै दिन पानीका मुहान सफा गरिँदै आएको छ।
थिमीमा त इनार सफा गर्ने क्रममा भेटिएका करुवा, बाल्टिन तथा अन्य सरसामान जसको हो, उसले पैसा तिरेर लग्ने चलन छ। यसरी जम्मा भएको पैसा सरसफाइ कार्यमै खर्च गरिन्छ।