एमिकस क्युरीमा नेपाल बार र सर्वोच्च बारले पठायो प्रतिनिधि
प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनमा सुनुवाइ गर्न नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले चार जना वरिष्ठ अधिवक्तालाई सर्वोच्च अदालतका सहयोगी (एमिकस क्युरी) पठाएको छ।
नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठकलाई पठाएको छ। एसोसिएसनको बैठकले वैद्य र पाठकलाई पठाउने निर्णय गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।
वरिष्ठ अधिवक्ता वैद्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए। त्यस्तै, वरिष्ठ अधिवक्ता पाठक नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष हुन्।
सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ। मंगलबार बसेको बारको बैठकले उनीहरूलाई पठाउने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यसका विरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
त्यसमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई-दुई जना एमिकस क्युरी मगाउने आदेश गरेको थियो। त्यही आदेश बमोजिम नेपाल बार र सर्वोच्च अदालत बारले चार जना वरिष्ठ अधिवक्ता पठाएको हो।