काठमाडौंबाट कसरी हरायो रातो चिमाल?
ललितपुरको लुकुन्डोलमा रातो चिमालको जीवाश्म भेटिनुबाट थाहा हुन्छ, लाखौँ वर्ष पहिले काठमाडौं उपत्यका निकै चिसो रहेछ। तापक्रम बढ्दै गएपछि राता चिमाल बिस्तारैै फुल्चोकी डाँडातिर सरेछन्।
विश्वमा अहिलेसम्म फूल फुल्ने वनस्पतिका १३ करोड वर्ष पुराना जीवाश्म (फोसिल) भेटिएका छन्। त्यसबेलाका सबैजसो वनस्पति अहिले लोप भइसके पनि तिनका जीवाश्मले हामीलाई विभिन्न ठाउँको वातावरण कस्तो थियो भन्ने जानकारी दिन्छन्।
जस्तै, हिजोआज चिसो ठाउँमा हुने कुनै वनस्पतिको जीवाश्म गर्मी ठाउँमा पनि फेला पर्यो भने त्यो ठाउँँको जलवायु पहिले चिसो रहेछ भन्ने बुझिन्छ।
उत्तर अमेरिकाको अलास्कामा ६ करोड ५० लाख वर्षअघि उत्पत्ति भएको गुराँस जातिको वनस्पति त्यहाँबाट पूर्वोत्तर एसिया र यूरोप हुँदै दक्षिण तथा दक्षिणपूर्वी एसियामा फैलिएको हो। दक्षिण एसियामा करीब ७० लाख वर्ष पहिले गुराँस जातिको आगमन भइसकेको थियो।
मध्य तथा पश्चिम नेपालको उच्च हिमाली भेगमा ५० लाख वर्ष पहिले दुई प्रजातिका गुराँस देखिएका थिए। त्रिभुवन विश्वविद्यालय, भूगर्भशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका प्रा.डा. खुमनारायण पौडेल लिखित ‘पेलिनोलोजी अफ द बाका फर्मेसन, कर्णाली रिभर सेक्सन, वेस्ट नेपाल (सन् २०१३)’ लेखमा गुराँसको रजकण (पोलेन)का जीवाश्म कर्णालीको बाका खोलामा फेला परेको विवरण छ। प्यालियोम्याग्नेटिक डेटिङका आधारमा ती जीवाश्म करीब ५० लाख वर्ष पुराना हुन्। यसबाट त्यही बेला गुराँस कर्णाली नदी आसपासका क्षेत्रमा फैलिइसकेको बुझिन्छ।
पौडेल लिखित 'स्टडी अफ पोलेन एण्ड स्पोर्स' (सन् २०१८) पुस्तकमा गुराँसका दुई प्रजातिका पोलेनको जीवाश्म काठमाडौंको गोकर्णमा पाइएको विवरण छ । रेडियो कार्बन डेटिङका आधारमा ती जीवाश्म ५० हजार वर्षअघि बनेका हुन्।
रातो चिमाल
गुराँस जाति अन्तर्गतका दुई भिन्न प्रजातिका पातको जीवाश्म काठमाडौं उपत्यकामा फेला परेको (तस्वीर ५) जानकारी प्रा.डा. पौडेलले जर्नल अफ इन्स्टिच्यूट अफ साइन्स एन्ड टेक्नोलोजी वर्ष २० अङ्क १ मा प्रकाशित लेख मार्फत दिएका छन्। ती जीवाश्मका नमूना भूगर्भशास्त्र विभागको प्रयोगशालामा राखिएका छन्।
यी जीवाश्म ललितपुरस्थित लुुकुन्डोलमा भेटिएका हुन्। माथिल्लो टुप्पोतिर थोरै भाग नभएका ती पातका जीवाश्म करीब २५ लाख वर्ष पुरानो भएको अनुमान छ। जीवाश्म फेला परेको भूभाग समुद्री सतहबाट १३२० मिटर उचाइमा छ।
गुराँसको पातका जीवाश्म जमीनभन्दा करीब १९ मिटरमुनि भेटिएका थिए। जीवाश्म बन्नुअघि ती गुराँसका बोट त्यहीँ वरिपरिको वा त्योभन्दा अग्लो भू–भागबाट खोलाले बगाउँदै त्यहाँ ल्याइपुर्याएको हुनसक्छ। बगाउँदै त्यहाँ पुर्याएको हो भने ललितपुरकै फुल्चोकीतिरको हुनुपर्छ भन्ने अनुमान पौडेलको छ।
नेपालमा अहिलेसम्म गुराँसको ठूलो आकृतिको जीवाश्म (मेगाफोसिल्स्) लुुकुन्डोलमा मात्रै भेटिएको छ। पौडेलले ती नमूना भारतको लखनउस्थित बीरबल साहनी इन्स्टिच्यूट अफ प्यालियोसाइन्सेस्बाट पहिचान गराएका हुन्।
पहिचान गरिएका जीवाश्म लालीगुराँस (रोडोडेन्ड्रन अर्बोरियम) र रातो चिमाल (रोडोडेन्ड्रन बार्बाटम्)का हुन्। र, विश्वकै निम्ति रातो चिमालको मेगाफोसिल फेला परेको सम्भवतः यो पहिलो हो।
प्रजाति विवरण
लालीगुराँस १२०० देखि ३५०० मिटरको उचाइमा पाइन्छ। यसकारण, काठमाडौं उपत्यकामा लालीगुराँस प्रशस्तै पाइन्छ। यसैगरी, रातो चिमाल (तस्वीर ५) चिसो भूभाग भएको ठाउँमा २४०० देखि ३६०० मिटर र अन्यत्र २६००–२७०० मिटरदेखि माथि पाइन्छ। तर, २४०० मिटरमाथिका तीन वटा पहाड– फुल्चोकी (२७९० मि), शिवपुरी (२७३० मि) र चन्द्रागिरि (२५५० मि) उचाइ भएको काठमाडौं उपत्यकामा हिजोआज यो वनस्पति भेटिँदैन।
सन् १९६९ मा प्रकाशित 'फ्लोरा अफ फुल्चोकी एन्ड गोदावरी' पुस्तकमा पनि रातो चिमाल पाइएको कुरा देखिएको छैन, लालीगुराँस मात्र उल्लेख छ। सन् १९७४ मा प्रकाशित 'सप्लिमेन्ट टू द फ्लोरा अफ फुल्चोकी एन्ड गोदावरी' पुस्तकमा पनि रातो चिमाल परेको छैन। सन् १९८६ मा प्रकाशित अर्को पुस्तक 'फ्लोरा अफ काठमाडौं भ्याली'ले पनि रातो चिमाल पाइँदैन भनेको छ।
अहिले मात्र होइन, काठमाडौं उपत्यकामा २०० वर्षअघि पनि रातो चिमाल थिएन। ब्युक्यानन् ह्यामिल्टनले सन् १८०२–०३ मा काठमाडौं उपत्यकाबाट सङ्कलन गरेका करीब ११०० प्रजातिको वनस्पतिका नमूनामा पनि यो वनस्पति परेको छैन। यसको नमूना सन् १८२०–२१ मा भने नाथानियल वालिचले गोसाइँकुण्ड आसपासका क्षेत्रमा फेला पारेका थिए।
रातो चिमालको वैज्ञानिक नाम ‘रोडोडेन्ड्रन बार्बाटम्’ पनि वालिचले नै राखेका हुन्। यसको पातको भेट्नुमा बार्ब भनिने रौँ जस्तो ठाडो आकृति हुन्छ। त्यसैका आधारमा रातो चिमालको वैज्ञानिक नामकरण रोडोडेन्ड्रन बार्बाटम् भएको हो। यस्तो आकृति गुराँसका अन्य प्रजातिमा पाइँदैन।
रातो चिमालको बोट, पात र फूल लालीगुराँसको जस्तै हुन्छ। तर, फूलको पुष्पपत्रमा लालीगुराँसको जस्ता स–साना थोप्ला हुँदैनन्। फूल लालीगुराँसभन्दा निख्खर रातो हुन्छ। जब कि लालीगुराँसको फूल रातो, हल्का रातो र सेतो हुन्छ।
फ्रेन्च नागरिक रिने डी मिल्लेभिल्लेले सन् १९७३ मा लालीगुराँसको सुन्तला रङ्गको फूलको तस्वीर संखुवासभाको गुफापोखरी नजिक खिचेका थिए। उक्त तस्वीर मिल्लेभिल्ले लिखित 'द रोडोडेन्ड्रन्स अफ नेपाल' (सन् २००२) पुस्तकमा प्रकाशित छ। यस्तो रङको लालीगुराँस अन्यत्र सायदै फेला परेको अभिलेख छ। तर, यो लालीगुराँस पनि अहिले गुफापोखरी क्षेत्रमा पाइँदैन।
गुराँसको रोडोडेन्ड्रन अर्बोरियम प्रजातिका दुई उपप्रजाति छन्। एउटा, नेपालसहित तिब्बत, भुटान, अरुणाञ्चल प्रदेशमा पाइने रोडोडेन्ड्रन अर्बोरियम–सिन्नामोमियम। नेपालमा यो उपप्रजाति संखुवासभास्थित मिल्केडाँडामा प्रशस्त पाइन्छ। अर्को, उपप्रजाति रोडोडेन्ड्रन अर्बोरियम–अल्बोटोमेन्टोसम भने म्यानमारमा मात्र पाइन्छ।
रोडोडेन्ड्रन बार्बाटम् प्रजाति चाहिँ उत्तरपश्चिम भारत, दक्षिणपश्चिम चीन, नेपाल, भुटान र भारतमा पाइन्छ। नाथानियल वालिचले नेपालबाट सङ्कलन गरेको यसका तीन वटा नमूना बेलायतको रोयल बोटानिक गार्डेन्स, कियूमा सङ्ग्रह गरिएको छ। यसको उपप्रजाति भने अहिलेसम्म पाइएको छैन।
जलवायु परिवर्तनको दृष्टान्त
लुकुन्डोलमा रातो चिमालको जीवाश्म भेटिनुबाट थाहा हुन्छ, लाखौँ वर्ष पहिले काठमाडौं उपत्यकाको वातावरण निकै चिसो रहेछ। जलवायु परिवर्तनका कारण वनस्पति तथा जीवजन्तु उचाइतिर फैलिँदै गएका भनाइ अक्सर सुन्न–पढ्न पाइन्छ। यो भनेको पहिलेभन्दा बढ्दै गएको तापक्रम सहन नसकी कतिपय जीवजन्तु र वनस्पति क्रमशः उँचो भूभागतिर बसाइँ सर्दै गएको भन्ने हो।
यसको अर्थ, लुकुन्डोल वा गोदावरीतिर पाइने रातो चिमाल तापक्रम बढ्दै गएपछि फुल्चोकीको टुप्पोतिर सर्दै गएको, त्यहाँ पनि तापक्रम बढेकोले अस्तित्वमा रहनै नसक्ने अवस्थामा पुगी लोप भएको हुनुपर्छ।
काठमाडौं उपत्यकामा रातो चिमाल हुने भू–सतहको उचाइ भए पनि कतै नपाइनु भनेको यहाँको तापक्रम वृद्धिलाई नै मान्नुपर्छ। अन्यथा, उपत्यकामा एकपटक फैलिसकेको वनस्पति प्रजाति अन्य कुनै प्राकृतिक कारणले नासियो होला भन्न सकिने आधार छैन।
जलवायु परिवर्तनले कसरी एक ठाउँमा पाइने वनस्पति लोप हुनसक्छन् भन्ने दृष्टान्त रातो चिमाल बनेको छ। रातो चिमाल जस्तै बढ्दो तापक्रमका कारण उपत्यकामा अन्य कति प्रजाति लोप भए होलान्, तीमध्ये केही त विश्वमै अन्यत्र नपाइने थिए होलान्। र, यस्तो अध्ययनमा त्रिवि, भूगर्भशास्त्र केन्द्रीय विभागले चासो दिनु गजबको कार्य हो। यसले नेपालको प्राकृतिक इतिहास जान्न ठूलो योगदान पुर्याउने निश्चित छ।