लुम्बिनी प्रदेशको बजेट ३ अर्बले बढ्यो, प्राथमिकतामा स्वास्थ्य र कृषि
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ४१ अर्बको बजेट ल्याएको छ। यो चालू आर्थिक वर्षको भन्दा साढे ३ अर्बले बढी हो।
आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले मंगलबार प्रदेश सभामा पेश गरेको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ। स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि रू.४ अर्ब ८४ करोड २३ लाख ९६ हजार विनियोजन गरिएको छ।
बजेटमा स्वास्थ्य, कृषि, रोजगारी वृद्धि र आर्थिक क्षेत्रको पुनरुत्थानलाई प्राथमिकतामा राखिएको छ। महत्त्वाकांक्षी र नयाँ योजना समावेश नगरिएको बजेटमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषि गाउँ लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ।
कोभिड–१९ नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन, अक्सिजनको आपूर्ति सहज बनाउन, निःशुल्क उपचारको व्यवस्था मिलाउन, स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिन तथा आइसोलेसन केन्द्रको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्री चौधरीले जानकारी दिए।
प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरी उपत्यका क्षेत्रमा राजधानीको गुरुयोजना, जग्गा प्राप्ति, ल्यान्ड पुलिङ, पूर्वाधार निर्माण लगायतका काम गर्न पनि बजेट छुट्याइएको छ।

प्रादेशिक अस्पताललाई २५ करोड
५० शय्यामा स्तरोन्नति भएका सबै अस्पतालमा विशेषज्ञ सेवा शुरू गर्न रकम विनियोजन गरिएको छ। प्रदेशको जनस्वास्थ्य प्रयोगशालालाई दोस्रो तहमा स्तरोन्नति गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ। दाङको लमहीमा बनाउने भनिएको ट्रमा सेन्टरका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, दाङ प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति र बुटवलको लुम्बिनी आयुर्वेद अस्पताललाई १५ शय्याको आयुर्वेद अस्पतालका रूपमा विकास गर्न दुई करोड रुपैयाँ छुट्याइएको छ।
नवलपरासी पश्चिम र रुकुम पूर्वमा आयुर्वेद अस्पताल सञ्चालन गर्न एक करोड रुपैयाँ छुट्याइएको छ। मिर्गौला प्रत्यारोपणका लागि संघीय सरकारले उपलब्ध गराउनेबाहेक प्रदेश सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ उपलब्ध गराइने बजेटमा उल्लेख छ। १६ वर्षभन्दा कम उमेरका क्यान्सरका बिरामीका लागि प्रतिव्यक्ति एक लाख रुपैयाँ उपलब्ध गराइने पनि बजेटमा उल्लेख छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
‘निःशुल्क रक्तसञ्चार प्रदान, लुम्बिनी प्रदेशको पहिचान’ भन्ने नारालाई आत्मसात् गर्दै प्रदेशका सरकारी अस्पतालमा निःशुल्क रक्तसञ्चार सेवा प्रदान गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल बनाउने अर्थमन्त्रीले घोषणा गरेका छन्।

एक घर एक धाराका लागि १ अर्ब ६७ करोड
प्रदेश सरकारले अघि बढाएको एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ६७ करोड विनियोजन भएको छ। एक घर एक धाराका ५५० योजनामध्ये २०० योजना चालू आर्थिक वर्षभित्र पूरा हुने र बाँकी निरन्तरताका लागि उक्त बजेट विनियोजन गरिएको हो।
बजेटमा प्रदेशका १०९ वटै स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरताका लागि ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
शिक्षामा सुधार एवं सामुदायिक विद्यालयको भौतिक सुधार गर्न तथा गणित र विज्ञानको नतिजा सुधार गर्न रू.४४ करोड ५८ लाख विनियोजन भएको बजेटमा प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ।
कान्ति माविलाई ८ करोड ३० लाख, विद्यार्थीका लागि स्वस्थ खानेपानीका लागि २ करोड विनियोजन भएको छ। बुटवलको कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हबका रूपमा विकास गर्न ८ करोड ३० लाख बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।
युवाहरूमा सीप वृद्धि गर्ने योजनासहित सीप प्रतिष्ठान स्थापना गर्ने बजेट मार्फत घोषणा गरिएको छ। प्रतिष्ठानले स्वदेशी तथा विदेशी बजारको माग अनुसार अध्ययन पाठ्यक्रम निर्माण तथा स्वीकृति दिने, प्रशिक्षकको योग्यता निर्धारण गर्ने तथा सीप परीक्षण जस्ता क्षेत्रमा विशिष्टीकृत संस्थाका रूपमा काम गर्नेछ।
प्रदेशभित्रका प्रमुख १९ वटा सडक निर्माणका लागि ६४ करोड बजेट विनियोजन गरिएको छ। त्यसमध्ये बुटवल–तानसेन सडकको विकल्पका रूपमा बनेको वैकल्पिक सडक बुटवल धागो कारखाना–चरंगे हुँदै झुम्सा जोड्ने सडक निर्माण शुरू गर्न १० करोड विनियोजन भएको छ।