किन छुन हुन्न चुरे पहाड?
चुरे पहाड निकै संवेदनशील र कमजोर छ। यसलाई चलाउनै हुँदैन, तर प्रष्ट मापदण्ड र नियमनका कडा प्रावधान ल्याएर चुरे भएर बग्ने खोलाबाट थोरै मात्रामा नदीजन्य पदार्थ निकाल्न भने सकिन्छ।
चुरे नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड हो। यो पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको छ। पूर्वदेखि पश्चिमसम्म फैलिएको चुरेले हाम्रो कुल भूभागको १२.७८ प्रतिशत क्षेत्र ओगटेको छ।
कान्छो पहाड भएकाले यसमा पूर्ण रूपमा नखाँदिएको खुकुलो पत्रे चट्टानको संरचना छ। त्यसकारण यो बढी संवेदनशील र कच्चा छ।
यस्तो कमजोर बनोट भएको ठाउँबाट ढुङ्गा, गिट्टी निकाल्दा त्यसले पुर्याउने क्षति अकल्पनीय हुन्छ। यसबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने त परको कुरा, चुरे पहाडलाई त छुन पनि हुन्न।
कमजोर बनोट
बलौटे र पाङ्गो माटो, गोलो आकारको सानो ढुङ्गाले बनेको चुरे भएरै महाभारतबाट नदी तथा खोलाहरू दक्षिणतर्फ बग्छन्। पहाडबाट खोलाले बगाउँदै लैजाँदा ठोक्किँदा–ठोक्किँदा ढुङ्गा गोलो आकारको बन्छ। चुरेको पहाडमा गोलो ढुङ्गा पाउनुको प्रमाण कुनै बेला यहाँ खोला बग्थ्यो भन्ने हो।
खस्रो माटो र सानो आकारको ढुङ्गा पाइने हुनाले यसको धरातल कमजोर छ। खस्रो माटोले साना ढुङ्गालाई बलियोसँग समाउँदैन। त्यसैले चुरे धेरै पहिरो जाने क्षेत्र पनि हो।
मानवीय क्रियाकलापले चुरेलाई थप संवेदनशील बनाएको छ। करीब चार दशकअघिसम्म चुरेमा बाक्लो जंगल थियो। तर, अहिले जंगल पातलिएको छ। जथाभाबी डोजर चलेको छ, रूख काटिएका छन्। चुरेको फेदसम्मै घर बनेका छन्।
चुरे क्षेत्र मध्य पहाडभन्दा तल र भावर क्षेत्रभन्दा माथि पर्छ। सामान्यतया नदी वा खोला पहाडी क्षेत्रमा तीव्र गतिमा बग्छन्। वर्षायामको खोला र त्यसमा आउने बाढीले पहाडबाट ढुङ्गा, बालुवा, गिट्टी बगाएर ल्याउँछ।
तर, जब खोला समथर ठाउँमा पुग्छ, पानीको गति कम हुन्छ। त्यसकारण माथिबाट बगाएर ल्याएको ढुङ्गा, माटो, बालुवा बगाउन सक्दैन। भावर क्षेत्रमा त्यसको थुप्रो लाग्छ। त्यसैले खोलाको सतह बढेको छ। अहिले हरेक वर्ष २० सेन्टिमिटरसम्म खोलाको सतह बढेको पाइन्छ।
हाम्रोमा खोला छुनै हुँदैन भन्ने जस्तो गरी भ्रम फैलाइएको छ। तर, खोलाबाहेक चुरेको पहाड वा अन्य क्षेत्रमा एक सेन्टिमिटर पनि चलाउनु हुँदैन। चुरे तराई क्षेत्रको मात्र नभएर समग्र मुलुककै ‘लाइफलाइन’ हो।
वैज्ञानिक तरिकाले खोला र आसपासको क्षेत्रबारे अध्ययन गरेर निश्चित मिटरसम्म खनेर ढुङ्गा, बालुवा निकाल्दा उचित हुन्छ। हाम्रो अध्ययनले सरदर हरेक खोलाबाट वार्षिक दुई मिटरसम्म बालुवा निकाल्दा उचित हुने देखाएको छ। यसो गर्दा खोलाले धार बदल्दैन, बस्ती डुबाउने र त्यसले गर्ने क्षति पनि न्यूनीकरण हुन्छ।
हाम्रोमा खोला छुनै हुँदैन भन्ने जस्तो गरी भ्रम फैलाइएको छ। तर, खोलाबाहेक चुरेको पहाड वा अन्य क्षेत्रमा एक सेन्टिमिटर पनि चलाउनु हुँदैन। चुरे तराई क्षेत्रको मात्र नभएर समग्र मुलुककै ‘लाइफलाइन’ हो। त्यसैले चुरे व्यापार गर्ने थलो बन्नु हुँदैन।
जलाधारको भण्डार
चुरे कहीँकतै १९ सय मिटरमाथिसम्म फैलिएको छ। त्यसले गर्दा दक्षिणतिरबाट आउने मनसुनी हावा पहिलोपटक ठोक्किने ठाउँ चुरे हो। त्यही कारण तुलनात्मक रूपमा चुरे क्षेत्रमा बढी पानी पर्छ।
दुई दशकअघिसम्म चुरेका खोलामा आएको बाढी मलिलो मानिन्थ्यो। तर, अहिले विनाशकारी भएको छ। चुरेका खोलामा अहिले बालुवा र गेग्रान मात्रै बग्छ। यसको मुख्य कारण हामीले जथाभावी बनाएको बाटो हो।
भावर क्षेत्रमा थुप्रिएको माटो, बालुवा, ढुङ्गाले गर्दा पहिलेभन्दा नदी, खोलाको गति बढेको छ। गति बढी भएका खोला, नदीले पानी ‘रिचार्ज’ कम गर्छन्। यसैकारण भावर क्षेत्रमा २० वर्षअघि ३० फीटमा आउने इनारको पानी हिजोआज १५० फीटसम्म खन्नुपर्छ। जनकपुर, महेन्द्रनगर, ढल्केबरतिर त ३०० फीटसम्म गहिरो खन्नुपर्छ। जुन केही वर्षअघिसम्म १०० फीट भए पुग्थ्यो।
भूकम्पले चुरे क्षेत्रका सयौं मूल सुकाएको छ। पानीको जमीनमुनि आफ्नै बाटो हुन्छ। भूकम्पले यसलाई तलमाथि पारिदियो । यसैगरी राम्रो बालुवा पाउने ठाउँमा अहिले २०–३० मिटरसम्म गहिरो बनाएर बालुवा, ढुङ्गा निकाल्ने गरिएको छ।
मुलुकको व्यापार घाटा पूर्ति गर्ने अन्य उपाय हुनसक्छन्। तर, वातावरण र दुर्लभ वन्यजन्तुको क्षति कुनै मूल्यमा पनि पूर्ति हुनसक्दैन। त्यसैले यस्ता खनिज निकासीको कुरा नगरौं।
पूर्वपश्चिम राजमार्गमा बढेको बस्तीले पनि चुरेको विनाशमा सघाउ पुर्यायो। पूर्वदेखि पश्चिमसम्मकै यी बस्तीमा इनारबाट पानी निकालिएको छ। तर, प्राकृतिक रूपमा रिचार्ज गर्ने बाटो हामीले बिथोलिदिएका छौं। परिणाम तराईसँगै भावर क्षेत्रमा निकट भविष्यमै पानीको संकट भयावह हुनेछ।
यसको समाधानका लागि खोलामा बाँध बनाउने र निश्चित मिटरको ढुङ्गा, गिट्टी निकाल्ने नै हो। अर्को कुरा, चुरे पहाडको डाँडामा प्रशस्त मात्रामा पोखरी बनाउने हो। यसले रिचार्जदेखि वन्यजन्तुको संरक्षणमा समेत सघाउ पुर्याउँछ। भावर क्षेत्रमा पनि यस्ता पोखरीको आवश्यकता छ। तराई क्षेत्रमा भित्रभित्रै भावरबाटै पानी पुग्ने हो।
चुरे भएर बग्ने कर्णाली, गण्डकी, कोशी जस्ता ठूला नदीका स्रोत हिमाल हुन्। बागमती जस्ता मध्यम खालका नदी महाभारतबाट निस्केका छन्। यी सबैमा बाह्रै महीना पानी हुन्छ। तर, चुरेबाट निस्किने अधिकांश खोलामा वर्षायाममा मात्रै पानी हुन्छ।
चुरेबाट निस्केका १६४ वटा खोला छन्। यी बढी हानिकारक छन्। सानो पानीले पनि यसमा बाढी आउँछ। जलवायु परिवर्तनले गर्दा मनसुनपूर्व नै बाढी आउन थालेको छ। अहिले झन् एकै ठाउँमा बढी पानी पर्न थालेको छ। यसले क्षति झनै बढाएको छ। तराईमा हरेक वर्ष डुबान हामीले देखेकै छौं। यस्तो संवेदनशील क्षेत्र कोतरेर ढुङ्गा, गिट्टी निकाल्दा के होला?
जैविक विविधताको केन्द्र
चुरे एउटा पूर्ण ‘इकोसिस्टम’ हो। कोशीटप्पु, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अधिकांश भाग चुरेमा पर्छ। आरक्षहरू यहींभित्र पर्छन्। यिनीहरू जीवजन्तुका मुख्य वासस्थान हुन्। चुरे पूर्वदेखि पश्चिमसम्म एक मात्र ‘ग्रीन करिडोर’ हो। पाटेबाघ, हुँडार, अर्ना, काठे भालु, तामे सालक जस्ता दुर्लभ जनावरको वासस्थान हो।
हाम्रो अव्यवस्थित बसोबास र क्रियाकलापले यस्ता जनावरको प्राकृतिक बासस्थानमा असर पुर्याएको छ। त्यसमाथि ढुङ्गा, गिट्टी बेच्ने नाउँमा पहाड खन्न थाल्दा त्यसबाट हुने क्षतिको यकिन नै गर्न सकिँदैन।
दैनिक सयौं टिपर, डोजर चल्दा त्यहाँको प्राकृतिक प्रणालीको दुरवस्था हामी अनुमान गर्न सक्दैनौं। यसले वन्यजन्तुको प्राकृतिक वासस्थानमा पुर्याउने क्षति त कति हुनेछ कति?
मुलुकको व्यापार घाटा पूर्ति गर्ने अन्य उपाय हुनसक्छन्। तर, वातावरण र दुर्लभ वन्यजन्तुको क्षति कुनै मूल्यमा पनि पूर्ति हुनसक्दैन। त्यसैले यस्ता खनिज निकासीको कुरा नगरौं। चुरे जोगाऔं।
(कुराकानीमा आधारित)
-‘चुरेपर्वत भएर बग्ने खोलाको तराईसँग अन्तरसम्बन्ध’ विषयमा विद्यावारिधि गरेका सिंह राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिका पूर्वसदस्य समेत हुन्।