सर्वोच्च बारबाट एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतको सहयोगी (एमिकस क्युरी) पठाएको छ।
मंगलबार बसेको सर्वोच्च अदालत बार एसोसिएसनको बैठकले घिमिरे र केसीलाई पठाउने निर्णय गरेको एसोसिएसनका सचिव ऋषिराम घिमिरेले जनाएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासको माग अनुसार दुई जना वरिष्ठ अधिवक्ता पठाएको सचिव घिमिरेले बताए। एमिकस क्युरीमा पठाएका वरिष्ठ अधिवक्ता घिमिरे सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। त्यसका विरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
त्यसमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई–दुई जना एमिकस क्युरी मगाउने आदेश गरेको थियो। त्यही आदेश बमोजिम सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ता घिमिरे र केसीलाई पठाएको हो।