भारतमा चार लाखबाट ६० हजारमा झरे संक्रमित
भारतमा कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रण हुँदै गएको छ। गत ७५ दिनयता सबैभन्दा कम संक्रमित देखिएका छन्।
पछिल्लो २४ घण्टामा ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ। ७५ दिनयताकै यो सबभन्दा कम हो। ७५ दिनअघि चार लाख १२ हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो।
गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण दुई हजार ७२६ जनाको मृत्यु भएको छ। भारतमा कोरोनाबाट मृत्यु हुने कुल व्यक्तिको संख्या तीन लाख ७७ हजार ३१ पुगेको छ। हाल कोरोना सङ्क्रमितको कुल संख्या दुई करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा एक लाख १७ हजार ५२५ जना निको भएका छन्। यससँगै भारतमा दुई करोड ८२ लाख ८० हजार ४७२ जना कोरोनामुक्त भएका छन्।
भारतमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ। हाल नौ लाख १३ हजार ३७८ जना सक्रिय सङ्क्रमित रहेका छन्।
कोरोना शुरू भएयता हालसम्म ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परीक्षण भएको सरकारले जनाएको छ। गत जनवरी १६ बाट भारतमा कोरोनाभाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो। अहिलेसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको छ।