आन्तरिक उडान खुलाउन वायुसेवा सञ्चालक संघको माग
वायुसेवा सञ्चालक संघले आन्तरिक उडान खुलाउन माग गरेको छ।
संघले मंगलबार विज्ञप्ति निकाल्दै संक्रमणरहित उडान गराउन आफूहरू प्रतिबद्ध भएको भन्दै आन्तरिक हवाई उडान शुरू गर्न माग गरेको हो।
कोरोना संक्रमण रहे पनि अन्य मुलुकमा आन्तरिक उडान चलिरहेको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ।
तालिमप्राप्त जनशक्ति, उडानपूर्व हरेक जहाजको सरसफाइ, यात्रुका लागि मास्क तथा फेसशिल्ड अनिवार्य गरेरै उडान गर्न विमान कम्पनी तयार रहेको संघले जनाएको छ।
“निरन्तर निषेधाज्ञा मात्रै संक्रमण रोक्ने औजार होइन,” विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य मापदण्ड पालना गर्दै आवश्यक क्षेत्रहरू शुरू गर्नु आवश्यक भइसकेको छ।”
लामो समयको बन्दले होटल, पर्यटन तथा हवाई क्षेत्रले अर्बौं रुपैयाँ घाटा व्यहोरेको विज्ञप्तिमा जनाइएको छ। यसमा आबद्ध कर्मचारीले रोजगारी गुमाएकाले रोजीरोटीमै असर पर्ने अवस्था देखिएको संघको भनाइ छ।
गत साता पनि संघले उडान खोल्न माग गरेको थियो।