क्यानको जर्सी डिजाइन गर्नेलाई एमएसटीले १ लाख दिने
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गरेको छ।
जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने हुन्छ। जर्सीमा राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र नीलो रंगको प्रयोग गर्नुपर्ने जनाइएको छ।
जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियम अनुसार हुनुपर्ने एमएसटीले जनाएको छ। यस सम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको छ।
एमएसटीका सहसंस्थापक सुलभ बुढाथोकीले डिजाइनरको हौसलाका लागि १ लाख पुरस्कार पनि राखिएको जानकारी दिए। उनले भने, “जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुला प्रतिस्पर्धाबाट डिजाइन छनोटका लागि सहकार्य गरेका छौं।”
क्यानले विज्ञापन एजेन्सी एडप्याड मार्फत माई सेकेन्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रूपमा पाएको हो।