चालू आवको १० महीनामा ८ खर्ब ९ अर्ब रेमिटेन्स भित्रियो
चालू आर्थिक वर्ष २०७७/७८ को १० महीनामा ८ खर्ब ९ अर्ब ८९ करोड रेमिटेन्स भित्रिएको छ।
नेपाल राष्ट्र ब्यांकका अनुसार, यो गत आवको सोही अवधिको तुलनामा १९.२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको वैशाखसम्म रेमिटेन्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो।
गत वैशाखसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिनेको संख्या ६०.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २.७ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २४.६ प्रतिशतले घटेको थियो।