नेपालमा उत्पादन नै नहुने भटमास तेलको भरमा वस्तु निर्यात रू.१ खर्ब नाघ्यो
नेपालको वस्तु निर्यात पहिलो पटक रू.१ खर्ब नाघेको छ। नेपाल राष्ट्र ब्यांकले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार, चालू आर्थिक वर्षको पहिलो १० महीना (वैशाखसम्म)मा नेपालले रू.१ खर्ब ८ अर्ब ४८ करोडको वस्तु निर्यात गरेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा करीब एकतिहाइले बढी हो।
गत आर्थिक वर्ष २०७६/७७ मा नेपालले रू.९७ अर्ब ७० करोड बराबरको निर्यात गरेको थियो। चालू आर्थिक वर्ष सकिन दुई महीना बाँकी हुँदै नेपालले रू.१ खर्बभन्दा धेरै मूल्यको वस्तु निर्यात गरेको हो। कम्तीमा रू.१ खर्बको वस्तु निर्यात गर्ने नेपालले लामो समयदेखि रणनीति अघि सार्दै आएको थियो।
कुल निर्यात रू.१ खर्ब नाघे पनि धेरै उत्साहित हुनुपर्ने अवस्था भने छैन। नेपालले तेस्रो देशबाट आयात गरी भारततर्फ निकासी गर्ने भटमासको तेलका कारण निर्यात ह्वात्तै बढेको हो। नेपालको कुल निर्यातमा एकतिहाइ हिस्सा भटमासको तेलको मात्रै छ।
वैशाखसम्ममा नेपालले रू.३५ अर्ब ७३ करोडको भटमासको तेल निर्यात गरेको छ। जब कि, यही अवधिमा नेपालले रू.३९ अर्ब ४४ करोडको भटमासको कच्चा तेल आयात गरेको छ। विदेशबाट आयात गरिएको भटमासको कच्चा तेललाई सामान्य प्याकेजिङपछि नेपाली उद्योगीले भारत निर्यात गर्दै आएका छन्।
यद्यपि, दीर्घकालका लागि यो नेपालको निर्यात वृद्धिमा सहयोग गर्ने क्षेत्र बन्नेमा संशय छ। गत वर्षसम्म नेपालले यसैगरी तेस्रो मुलुकबाट पाम तेल आयात गर्दै भारत पठाउने गरेको थियो। तर, भारतले नेपालबाट पाम तेल आयातमा नियन्त्रण गरेपछि त्यो धन्दा बन्द भएको थियो।
नेपालले गर्ने निर्यातको तुलनामा आयात असाध्यै धेरै छ। वैशाखसम्ममा रू.१२ खर्ब ५४ अर्ब बराबरको वस्तु आयात भएको छ। गत वर्षको यही अवधिको तुलनामा यो २२.३ प्रतिशत धेरै हो। कुल वस्तु आयातमा ११ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको, ८.५ प्रतिशत हिस्सा सवारी साधन र पाटपूर्जाको, ५ प्रतिशत हिस्सा औद्योगिक मेसिनरीको, ४.६ प्रतिशत हिस्सा फलामको तथा ३.५ प्रतिशत हिस्सा चामलको छ।
आयातमा धेरै रकम खर्च गर्नुपरेसँगै नेपालको विदेशी विनिमयको सञ्चितिमा क्रमशः चाप पर्न थालेको देखिन्छ। वैशाख मसान्तमा विदेशी विनिमय सञ्चिति रू.१३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ, जुन गत असार मसान्तको तुलनामा ०.८ प्रतिशत कम हो।
व्यापारको असन्तुलनका कारण देशको भुक्तानी सन्तुलनस्थितिमा पनि चाप परिरहेको छ। वैशाखसम्ममा शोधनान्तर स्थिति रू.७ अर्ब ७५ करोडले बचतमा छ। यो अघिल्लो वर्षको यही अवधिमा १२० अर्ब ९० करोड बचतमा थियो। वैशाखसम्ममा चालू खाता भने रू.२ खर्ब ४७ अर्ब घाटामा पुगेको छ। यसको अर्थ, देशको भित्रिने भन्दा बाहिरिने रकम असाध्यै धेरैले बढिरहेको छ।
देशको बाहिरिने रकमको घाटालाई थेग्न यसअघि जस्तै वैशाखमा पनि रेमिटेन्सले आड दिएको छ। राष्ट्र ब्यांकका अनुसार, वैशाखसम्ममा रू.८ खर्ब १० अर्ब हाराहारीमा रेमिटेन्स देश भित्रिएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.२ प्रतिशतले कम हो। महामारीका कारण देशको रेमिटेन्स खुम्चिने अनुमान विपरीत यसमा लगातार वृद्धि भइरहेको छ।
वैशाखसम्ममा देशको मुद्रास्फीति दर ३.६५ प्रतिशत छ। गत वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत थियो। वैशाखसम्ममा सबैभन्दा धेरै घ्यू–तेलको मूल्य २८.२ प्रतिशत र माछामासुको मूल्य १७.२ प्रतिशतले बढेको छ।