चार सातामा आधाभन्दा बढीले घटे कोरोना संक्रमित
कोभिड-१९ संक्रमितको संख्या जेठको चार साताको तुलना गर्दा आधाभन्दा बढीले घटेको देखिएको छ। मृत्यु हुनेको संख्या पनि ५० प्रतिशतभन्दा बढीले घटेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, १ जेठमा पाँच हजार ४५५ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको थियो। त्यो दिन १८७ जनाको मृत्यु भएको थियो भने कोरोनाबाट ज्यान गुमाउनको संख्या चार हजार ८५६ पुगेको थियो।
जेठ पहिलो साताको तुलनामा यो साता संक्रमितको संख्या ३७ हजार ८७३ ले घटेको छ। जेठ पहिलो साता देशभर ५८ हजार २२१ संक्रमित थपिएका थिए भने यो साता २० हजार ३४८ संक्रमित थपिएका छन्।
जेठ पहिलो सातायता क्रमिक रूपमा संक्रमित थपिने क्रम घट्दै गएको तथ्यांक छ। दोस्रो साता ४३ हजार ८८३ र तेस्रो साता ३१ हजार संक्रमित थपिएका थिए।
यो चार सातामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि आधाभन्दा बढीले घटेको छ। जेठ पहिलो साता एक हजार ३४५ जनाको मृत्यु भएको थियो भने यो साता ५१४ जनाको मृत्यु भएको छ।
संक्रमित जस्तै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा घट्दै आएको छ। जेठ दोस्रो साता ९२६ जनाको र तेस्रो साता ६२६ जनाको मृत्यु भएको थियो।
यससँगै कोरोना परीक्षण पनि घटेको देखिएको छ। जेठ पहिलो साता एक लाख ४५ हजार ४८८ जनाको परीक्षण गरिएको थियो। दोस्रो साता एक लाख २५ हजार ९१, तेस्रो साता एक लाख ६९३ र यो साता ७१ हजार ६६३ जनाको स्वाब परीक्षण गरिएको छ।
अहिलेसम्म संक्रमितको संख्या ६ लाख आठ हजार ४७२ पुगेको छ। त्यस्तै, कोरोनाबाट आठ हजार ४१२ जनाले ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमण नियन्त्रण गर्न डेढ महीनादेखि निषेधाज्ञा लागू गरिएको छ। गृह मन्त्रालयका अनुसार, सोमबारसम्म देशका ७५ जिल्लामा निषेधाज्ञा जारी रहेको छ।