एसईईमा विद्यार्थीको मूल्यांकन सम्बन्धित विषय शिक्षकले गर्ने, अस्वाभाविक अंक पठाए फिर्ता हुने
माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन सम्बन्धित विषय शिक्षकले नै गर्न पाउने भएका छन्।
माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० का विद्यार्थीको मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ मा यस्तो व्यवस्था गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याल भन्छन्, “साधारण र प्राविधिक दुवैतर्फ विद्यार्थीको मूल्यांकन सम्बन्धित विषय शिक्षकले गर्न व्यवस्था गरेका छौं।”
विषयगत शिक्षकले गरेको मूल्यांकनलाई बोर्डकाे मूल्यांकन समितिले प्रमाणीकरण गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। कार्यविधिमा प्रधानाध्यापक, कक्षा शिक्षक, ज्येष्ठ शिक्षक र अंग्रेजी, गणित र विज्ञान शिक्षकमध्ये दुई जना रहने व्यवस्था गरिएको छ। अघिल्लो वर्षमा तीन सदस्यीय मूल्यांकन समिति रहने व्यवस्था थियो।
विद्यालयले आगामी २० असारसम्ममा विद्यार्थीको प्राप्तांक विवरण जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमा पठाइसक्नुपर्नेछ। विद्यालयले पठाएको अंक अस्वाभाविक लागेमा जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले पुनः मूल्यांकनका लागि फिर्ता पठाइने व्यवस्था गरिएको छ।
कोभिड–१९ महामारीका कारण सरकारले एसईईको नतिजा विद्यालयको आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेपछि बोर्डले कार्यविधि बनाएको हो। कोरोनाका कारण गत वर्ष पनि आन्तरिक मूल्यांकनका आधारमै एसईईकाे नतिजा सार्वजनिक गरिएकाे थियाे।